३ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर कारोबारको क्रममा रकमको राफसाफ गर्ने बैंक (क्लियरिङ बैंक) को रुपमा थप तीनवटा बैंकलाई अनुमति दिएको छ । नेप्सेका अनुसार संचालक समितिबाट स्वीकृत मापदण्ड र मूल्यांकन तालिका अनुसार सिडिएस एन्ड क्लियरिङ (सीडीएससी) ले नेपाल इन्भेस्टमेन्ट बैंक, सिद्धार्थ बैंक र प्रभु बैंकलाई क्लियरिङ बैंकका रुपमा छनौट गरेको हो ।
थप तीन वटा क्लियरिङ्ग बैंक नियुक्त गर्न मागिएको आशयपत्रमा सानिमा बैंक, बैंक अफ काठमाण्डू, नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, एनआइसी एसिया बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल, सनराइज बैंक, एभरेस्ट बैंक र एनबी बैकले पनि आवेदन गरेका थिए । यसअघि भने ग्लोबल आइएमइ बैंक मात्र एउटा क्लियरिङ बैंकको रुपमा रहेको थियो । अब कुल क्लियरिङ बैंकको संख्या ४ पुगेको छ ।
प्राप्त आशयपत्रहरुको मूल्यांकन गरी उच्च अंक प्राप्त गर्ने बैंकहरुलाई सिडिएससीको मूल्यांकन समितिले सिफारिस गरेको थियो । नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट (तेस्रो संशोधन) विनियमावली, २०७३ प्राप्त भएपश्चात संशोधित प्रावधानहरुलाई समेत समेटेर क्लियरिङ बैंक थप गर्ने प्रक्रिया अगाडि बढाइएको हो ।
प्रतिस्पर्धात्मक रुपमा क्लियरिङ बैंक थप गर्न माग गरिएको आशय पत्रमा ईच्छुक कम्पनीहरु ‘क’ वर्गको वाणिज्य बैंक हुनुपर्ने, चुक्ता पुँजी बढी भएकालाई प्राथमिकता दिइने, भौतिक तथा प्राविधिक पक्ष सुदृढ भएको हुनुपर्ने, आस्बा प्रणालीको सदस्य भएको, डिपी लाईसेन्स प्राप्त गरेको, विस्तारित शाखा सञ्जाल भएको, इच्छुक कम्पनीले लिने शुल्क तथा प्रदान गर्ने सुविधाहरु प्रतिस्पर्धी भएको, सरकारी कारोबार गर्ने गरेको लगायतका मापदण्डहरु लाई आधार बनाइएको थियो ।
उल्लिखित प्रतिस्पर्धात्मक प्रक्रियाबाट तीन बैंक थप हुनेछन । यसबाट धितोपत्र लगानीकर्ता लगायत सरोकारवालाले धितोपत्र कारोबार, राफसाफ तथा फछ्र्यौटमा थप सहजता प्राप्त गर्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया 4