Comments Add Comment

सेनाको स्वास्थ्य शिविरमा स्थानीयको भिड

८ चैत, रौतहट । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा रौतहट सदरमुकाम गौरमा मंगलवारदेखि साताव्यापी घुम्ती सघन स्वास्थ्य शिविर सुरु भएको छ ।

स्वास्थ्य मन्त्रालयको विशेष पहलमा नेपाली सेनाले पहिलो पटक साताव्यापी सघन स्वास्थ्य शिविर सुरु भएको हो । इन्द्र बक्स गण पुरेनवाको सहकार्यमा शुरु भएको शिविरमा सर्लाही र बारा जिल्ला बाटसमेत बिरामीहरु सेवा लिन आएका छन् ।

भौतिक पूर्वाधार राम्रो भएपनि जिल्ला अस्पताल गौरमा समुचित रुपमा स्वास्थ्य सेवाको व्यवस्थापन नहुदा अधिकांस महिलाहरु रोग लुकाएर बस्नु पर्ने बाध्यता छ । स्वास्थ्य अवस्था नाजुक भएको रौतहटमा मन्त्रालयको विशेष पहलमा सेनाले मानवीय सेवालाई शिविरमार्फत अगाडी बढाएको जनाएको छ ।

चैत ८ गते देखि १४ गते सम्म संचालन हुने यस शिविरमा महिलाहरुमा हुने पाठेघरको रोग, आङ खस्ने, स्तन रोग, पथ्थरी, पित्तथैलीको रोग तथा पुरुषहरुमा हुने हाइड्रोशील, हर्निया, दम, गलब्लाडरमा हुने पथ्थरी, ढाड, डेन्टल लगायका रोगीहरुलाई निःशुल्क रुपमा स्वास्थ्य परीक्षण र शल्यक्रिया गर्ने शिविरका प्रमुख चिकित्सक महासेनानी डा. उदयबज्र बज्राचार्यले जानकारी दिए ।

शिविरमा महिला एमएस सर्जनमा डा. ज्योति रायमाझी, डा. प्रमोद यादव, डेण्टलमा डा. रेशम कोइराला, गाइनोक्लोजीमा डा. रत्ना खत्री, डा. निशा राई, डा. जेवा तमसुम जेनरल फिजिसियनमा डा. सर्वेश शर्मा, डा. सुशील बराल र डा. समीर मल्लसहित २२ जनाको चिकित्सकको टोलीले स्वास्थ्य सेवा दिइरहेको महासेनानी डा. बज्राचार्यले बताए ।

पहिलो पटक श्री विरेन्द्र अस्पताल छाउनीबाट बाहिर तराईको जिल्लामा स्वास्थ्य सेवा प्रदान गर्न आएको चिकित्सकको टोलीले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म उपचार सेवा दिनेछन ।

गाँउ गाँउ बाट बिरामीको भिड

शिविर स्थलमै अत्याधुनिक सेवासहित सेनाकै गाडीमा ल्याव परिक्षण, अल्ट्रासाउण्ड, एक्सरे, इसिजी लगायत आवश्यक सबै सेवा उपलब्ध भएपछि गाँउघरमा रहेका विपन्न तथा दीर्घ रोगीहरुको बिहानदेखि नै भिड लागेको छ । विशेषज्ञ चिकित्सकहरुले एकै स्थानमा थुप्रै किसिमका रोगको उपचार गर्ने थाहा पाए पछि छिमेकी जिल्ला बारा र सर्लाही बाट समेत बिरामी आएका छन् ।

‘गाँउघरमा स्वास्थ्य सुविधा छैन, गौरमा भएको जिल्ला अस्पतालमा समेत चिकित्सक र औषधि छैनन् । गरिबको लागी सेनाको शिविरले धेरै राहत दिएको छ ।’ वृन्दावन गाउँपालिका ३ चमनपुरबाट स्वास्थ्य उपचार गराउन आएकी ४५ बर्षीया पाकिजा सिद्धकीले भनिन ‘गुणस्तरीय उपचार निःशुल्क रुपमै हुने र औषधिकोसमेत निःशुल्क व्यवस्था भएको कारण बिहानै शिविरमा आएँ ।’

८ बजे बिहान बाट शिविर शुरु हुने भनिए पनि स्थानीयहरु बिहान ५ बजेदेखि नै ब्यारेक फिल्ड अगाडि जम्मा भएका थिए । जिल्ला अस्पताल गौरमा दरबन्दी अनुसार चिकित्सक र कर्मचारी नहुँदा स्थानीयले उपचार सुविधा पाएका छैनन् । तीन तल्ले अत्याधुनिक भवन निर्माण भए पनि उपचार र औषधिको सुविधा नहुँदा स्थानीय बिरामीहरु वीरगञ्ज, भरतपुर र काठमाडौं जान बाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment