Comments Add Comment

अखबारका खबरः प्रधानमन्त्रीको चीन भ्रमण र चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणबारे चर्चा

१२ चैत, काठमाडौं । शनिबार काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक अखबारहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण र चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणबारेका समाचारलाई आवरण पृष्ठमा स्थान दिएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले शुक्रबार चिनियाँ उपप्रधानमन्त्रीसँग नेपालमा रेल सञ्चालनसँगै तातोपानी नाका सञ्चालनबारे कुराकानी गरेका थिए ।

यससँगै नेपालमा गरिबी निवारणका लागि भएका प्रयास र चुनौतीलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले नेपालका विभिन्न सम्पदाहरु विश्व सम्पदा सूचीबाट हट्न सक्ने जोखिम बढेको समाचारलाई महत्वका साथ छापेको छ ।

रोल्पाका नागरिकले विगतमा चुनाव बहिष्कार गरेकोप्रति पश्चाताप गरेकोलाई मुख्य समाचार बनाएको अन्नपूर्ण पोस्ट् दैनिकले स्वर्गद्वारी जीप दुर्घटनामा परिवारका सबै सदस्यको मृत्यु भएको समाचारलाई प्राथमिकता दिएको छ ।

नागरिक दैनिकले ‘प्रधानमन्त्रीको चीन भ्रमण भद्रगोल’ भएको विश्लेषणात्मक समाचारलाई खास महत्वका साथ प्रकाशित गरेको छ । त्यस्तै डरल तस्करीमा प्रहरीदेखि भिक्षुणीसम्मको मिलेमतो हुने गरेको समाचारले पनि आवरण पृष्ठमा स्थान पाएको छ ।

महिला तस्करीसम्बन्धी स्टोरीलाई महत्व दिएको कान्तिपुर दैनिकले प्रधानमन्त्री चीन जाँदा कार्यबाहक प्रधानमन्त्री नतोकेपछि ‘देश कसले चलाइरहेको छ ?’ शीर्षकको समाचारलाई पनि प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

स्थानीय तह निर्वाचनमा नयाँ मतदाता परिचयपत्रको व्यवस्था हुने समाचार र काठमाडौंको प्रदूषणसम्बन्धी समाचारलाई राजधानी दैनिकले आवरण पृष्ठमा छापेको छ ।

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा सिकार गर्न अनुमति दिएकोलाई गोरखापत्र दैनिकले एंकर समाचार बनाएको छ । भत्ता लिएर तोकिएको पोसाक नलगाउँने सरकारी कर्मचारीबारेको समाचारलाई नेपाल समाचारपत्र दैनिकले आवरण पृष्ठमा स्थान दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment