+
+
Shares

‘काठमाडौं ट्रिएनाले’ मा २६ देशका ७० कलाकार

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत १३ गते १२:२९

काठमाडौं । अन्तर्राष्ट्रिय कला महोत्सव ‘काठमाडौं ट्रिएनाले’ चलिरहँदा यतिबेला राजधानी कलामय भएको छ । शुक्रबारदेखि सुरु भएको महोत्सवमा चित्रकला, मूर्तिकला, प्रतिस्थापन कला, फोटोग्राफी, चलचित्र लगायत विविध स्वाद छ ।

महोत्सव अन्तर्गतका प्रदर्शनी र कार्यक्रम बबरमहलस्थित नेपाल आर्ट काउन्सिल, सिद्धार्थ आर्ट ग्यालरी, तारागाउँ सङ्ग्रहालय- बौद्ध, टंगालहुड- टंगाल, पाटन संग्रहालय, यलमाया केन्द्र- पाटनढोका लगायत आठ ठाउँमा भइरहेका छन् । हरेक दिन बिहान १० बजेदेखि साँझ ७ बजेसम्म चल्ने कला प्रदर्शनीहरुमा दर्शकले नि:शुल्क अवलोकन गर्न सक्ने आयोजकले जनाएको छ ।

महोत्सवमा मुख्यगरी शहर र शहरीकरणमा आधारित कलाकृतिहरु समेटिएका छन् ।

शहरको सुख र दुःखको रङलाई नेपालसहित २६ देशका ७० कलाकारले विभिन्न माध्यमबाट अभिव्यक्त गरिरहेका छन् । कला प्रदर्शनी चलिरहेका शहरका आठ ठाउँमध्येको आर्ट काउन्सिलमा कलाकारहरुले शहरका कथालाई कलात्मक रुपमा बुनेका छन् ।

काउन्सिलको हलभित्र पस्नासाथ देखिने एउटा सानो कोठामा एक तेस्रोलिङ्गी महिलाको दिनचर्यालाई जीवन्त रुपमा प्रस्तुत गरिएको छ । काठमाडौं शहरको असहज जिन्दगीमध्ये पनि धेरै जटिल तेस्रोलिङ्गीको दैनिकीलाई बंगलादेशी कलाकार महबुर रहमानले प्रस्तुत गरेका हुन् ।

यसका साथै काउन्सिलमा बेल्जियमका कलाकार फ्रान्सिस आलिसको भिडिया ‘विरोधाभासको अभ्यास १’, कलाकार वीरेन्द्रप्रताप सिंहका ‘शहरका चित्रहरु’, शिलासा राजभण्डारीको हजुरआमाप्रति समर्पित प्रतिस्थापन कला, रोमानियाका कलाकार सिप्रियन मुरेसानको ‘शीर्षकविहीन’ लगायतका कला प्रदर्शन भइरहेका छन् ।

चैत ११ गतेदेखि सुरु भएको महोत्सव २७ गतेसम्म चल्नेछ । ट्रिएनालेमा कला प्रदर्शनीका साथै अन्तरक्रिया र कार्यशाला पनि सञ्चालन भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?