१३ चैत, काठमाडौं । भारतले नेपालीसँग रहेको एक हजार र ५ सय दरका ४५ सय नोट मात्रै साट्न सकिने बताएको छ । नेपाल राष्ट्र बैंकका अधिकारीहरुले भारतको यो भनाइमा असहमति जनाएपछि द्विपक्षीय बैठक निष्कर्षविहीन भएको छ ।
आइतबार बालुवाटारस्थित राष्ट्र बैंक कार्यालयमा नेपाल र भारतका केन्द्रीय बैंकका अधिकारीहरुबीच द्विपक्षीय बैठक बसेको थियो । बैठकमा रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) को टोलिले ४५ सयसम्म मात्रै साट्ने निर्णय गरेको राष्ट्र बैंकका अधिकारीहरुलाई जानकारी गराएको हो ।
बिदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख भिष्मराज ढुङ्गानाले भने, ‘भारतीय टोलिले ४५ सयसम्म मात्रै साटिदिने बताएको छ तर हामीले २५ हजारसम्म साटिनुपर्ने अडान राखेका छौं ।’
आरबीआईको टोलिले सुनाएको निर्णयमा राष्ट्र बैंक प्रतिनिधिहरुले चित्त नबुझाएपछि बैठक निष्कर्षबिहीन बनेको छ ।
राष्ट्र बैंकले आरबीआईका प्रतिनिधीलाई भारतका उच्च अधिकारीहरुसँग कुराकानी गरेर साट्ने रकम बढाउन आग्रह गरेको छ ।
ढुङ्गानाले थपे, ‘हामीले उच्च अधिकारीहरुसँग छलफल गरेर यो सीमा बढाऊ भनेका छौं, त्यसैले आज बैठक निष्कर्षमा पुग्न सकेन भोलि ९ बजे पुनः बैंठक बस्ने छ ।’
कालोधन निर्मूल गर्ने भन्दै नरेन्द्र मोदी नेतृत्वको भारतीय सरकारले आकस्मिक रुपमा गत कात्तिक २३ गते राति १२ बजे ५ सय र १ हजार दरका भारु नोटको कारोबारमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । नेपाल राष्ट्र बैंकले भने मंसिर २४ गते यसको सटहीमा रोक लगाएको थियो ।
५ सय र १ हजार दरका भारु नोट सटहीमा रोक लगाउने नेपाल र भारतको निर्णयबाट भारु नोट भएका नेपालीहरु प्रभावित भएका छन् ।
प्रतिक्रिया 4