Comments Add Comment

मन्त्रीको निर्देशन: बक्यौता नतिर्ने मन्त्रालयमा पानी बन्द गर्नू

१७ चैत, काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री जीवनबहादुर शाहीले खानेपानीको बक्यौता नतिर्ने मन्त्रालय तथा सरकारी कार्यालयहरुमा पानीको आपूर्ति बन्द गर्न निर्देशन दिएका छन् ।

विभिन्न मन्त्रालय र सरकारी निकायहरुले लामो समयदेखि खानेपानीको महशुल नतिरेको पाइएपछि मन्त्री शाहीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई यस्तो निर्देशन दिएका हुन् ।

मन्त्री शाहीले खानेपानीको बक्यौता तिर्न सुरुमा लिखित रुपमा सबै निकायलाई आग्रह गर्ने र त्यसो गर्दा पनि अटेर गरेमा पानीको आपूर्ति बन्द गर्न समेत पछि नपर्ने चेतावनी दिए । शाहीले खानेपानीको बक्यौता रहेका सबै निकायलाई तत्काल पत्र काट्न केयुकेएललाई निर्देशन दिएका छन् ।

उनले खानेपानी नियमित आपूर्ति भइरहे पनि सेवा शुल्क नतिरेर केयुकेएललाई धराशायी पार्न खोजिएको टिप्पणी समेत गरे । केयुकेएलले उठाउनुपर्ने बक्यौता एक अर्ब ४३ करोड रुपैयाँ पुगेको र त्यो मध्ये सरकारी निकायबाट मात्रै ४२ करोड ३१ लाख १९ हजार उठाउन बाँकी छ ।

‘बक्यौता रकम तत्काल तिर्न मन्त्रालयहरूलाई पत्र काट्नुस्’ उनले केयुकेएलका अधिकारीलाई निर्देशन दिए, ‘त्यति गर्दा पनि बक्यौता रकम बुझाउन अटेर गरे सीधै आपूर्ति बन्द गरिदिनुहोस् । त्यसको नेतृत्व मैले गर्छु । आवश्यक परे पाइप पनि काटौंला ।’

केयुकेएल चुस्त नहुँदा धरासायी बनेको भन्दै यसको उचित व्यवस्थापन र नियमित अपडेट गर्नुपर्नेमा मन्त्री शाहीले जोड दिएका छन् । शाहीले खानेपानीको चुहावट नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न समेत निर्देशन दिए ।

यसैबीच, मन्त्री शाहीले मेलम्ची खानेपानी लगायतका  निकायका आयोजना प्रमुखलाई मन्त्रालयमा बोलाएर कुनै पनि कारणले आयोजना निर्माणमा ढिलाइ गर्न नहुनेमा सचेत गराएका छन् । उनले मेलम्चीको पाइप विछ्याउने क्रममा खनिएको ठाउँबाट धूलो उड्दा जनस्वास्थ्यमा गम्भीर असर परेको भन्दै पाइप पुरिसकेपछि तत्काल अस्थायी पिच गर्न पनि निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment