Comments Add Comment

पश्चिम तराईको ऐतिहासिक नगर नेपालगञ्ज: यस्ता छन् मेयरका आकांक्षी

मुस्लिम समुदायको निर्णायक मतः प्रमुख दललाई राप्रपा र मोर्चाको चुनौती

१८ चैत, नेपालगन्ज । ऐतिहासिक नगर नेपालगञ्ज उपमहानगरपालिकामा स्थानीय चुनावको चहलपहल बाक्लिएको छ । पश्चिम मधेसको ठूलो शहर मानिने नेपालगन्जको भावी मेयरमा प्रमुख दलका साथैै मधेसी मोर्चाका स्थानीय नेताहरुको ध्यान केन्द्रित हुन थालेको छ ।

उम्मेदवारका आंकाक्षीहरु आ-आफ्ना शुभचिन्तक मार्फत वा सामाजिक सञ्जाल मार्फत चर्चामा आउन थालेका छन् । सम्बन्धित पार्टीहरुले औपचारिक छलफल र निर्णय नगरे पनि चिया पसल वा स–साना भेलामा चर्चा र छलफलको दह्रो विषय बनेको छ- ‘नेपालगञ्जको मेयर को ?’

पञ्चायतपछि भएका दुई वटा स्थानीय निर्वाचनमा कांग्रेस र एमालेले पालैपालो नेपालगन्ज उप–महानगरपालिकाको नेतृत्व गरिसकेका छन् । ०४९ सालमा नेपाली कांग्रेसबाट विजयकुमार गुप्ता र ०५४ सालमा एमालेबाट डा. धवल शमशेर राणाले तत्कालीन नेपालगञ्ज नगरपालिकाको नेतृत्व गर्ने मौका पाएका थिए ।
यद्यपि अहिले परिवेश बदलिएको छ । गुप्ता नेपाली कांग्रेस छाडेर मधेसी मोर्चाको एक घटक तमलोपाको केन्द्रीय सदस्यको रुपमा क्रियाशील छन् भने डा. राणा एमाले छाडेर राप्रपा हुँदै राप्रपा नेपाल र पुनः राप्रपाको महामन्त्री पदमा क्रियाशील छन् ।

राप्रपा महामन्त्री डा. राणाले औपचारिक रुपमै नेपालगन्ज उप–महानगरपालिकाको मेयर पदमा आफ्नो उम्मेदवारी रहने उनले घोषणा समेत गरिसकेका छन् । उनकै पार्टीका पूर्व जिल्ला अध्यक्ष समेत रहेका कृष्ण खरेलले समेत मेयरमा लड्ने तयारी गरेको पार्टीमा व्यापक चर्चा चलेको छ ।

यसअघि नेकपा एमाले पार्टीका तर्फबाट नेपालगन्जको मेयर जितेका डा. राणाले आफू मेयर हुँदा नेपालगञ्जको विकास गरेको दाबी गर्दै आएका छन् । ०७० सालको संविधानसभा चुनावमा कांग्रेसको तत्कालीन सभापति सुशील कोइरालासँग झिनो मतान्तरमा राणा पराजित भएका थिए ।

यस पटक स्थानीय चुनावमा मुख्य राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रबाट धेरै मेयर पदको उम्मेदवारहरुको आंकाक्षीहरु देखिएका छन् । मधेसी मोर्चा आबद्ध दलहरुबाट पनि चर्चा सुरु त भएको छ, तर निर्वाचनमा भाग लिने–नलिने भन्ने विषयले उनीहरुमा अन्यौल छ । नेपालगञ्जमा मुख्य त ठूला राजनीतिक दलहरु, राप्रपा र मधेसी दलहरुबीच नै प्रतिस्पर्धा हुने गरेको छ ।

कांग्रेसबाट मेयर पदका लागि पार्टी सभापति किरण कोइराला, डा. सुरेश कनौडिया, पूर्व उप–मेयर सुरेन्द्र हमाल, अच्युत प्रसाइँ, निरञ्जनसिंह सिजापति, निजामुद्दिन अन्सारी, रमेश गुप्ता, लक्ष्मीनारायण शाह, प्रशान्त विष्ट लगायतको चर्चा छ ।

चर्चित ओलम्पियन समेत रहेका हमाल ०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मेयरका प्रत्यासी थिए । उनले तेस्रो स्थानमा चित्त बुझाउनुपरेको थियो ।

कांग्रेस बाँकेकी सभापति कोइराला पूर्व प्रधानमन्त्री सुशील कोइरालाकी भाइ बुहारी हुन् । डा. कनौडिया दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसबाट समानुपातिक सभासदको उम्मेदवारको सूचीमा थिए । उनी नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक समेत हुन् ।

प्रसाइँ नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य समेत भइसकेका छन् । सिजापति, अन्सारी, शाह, गुप्ता, विष्ट विद्यार्थी तथा युवा राजनीतिबाट उदाएका नेता हुन् । उनीहरुको दाबेदारीलाई पनि मुख्य चासोका रुपमा हेरिएको छ ।

एमालेबाट मुस्लिम दाबेदारको बाहुल्य

मुस्लिम समुदायको निर्णायक जनमत रहेको नेपालगञ्ज उपमहानगरपालिकामा एमालेबाट मेयरको दाबेदारमा मुस्लिम नेताहरुको बाहुल्य देखिएको छ । एमालेबाट हालै मनोनीत वैकल्पिक केन्द्रीय सदस्य मोहम्मद हारुन हल्वाई, हौलान अब्दुल जब्बार मन्जरी, व्यवसायी विजय गुप्ता, मौलाना अब्दुल जब्बार मञ्जरी, समशुद्दिन सिद्दिकी, हाजी हलिम अन्सारी र निजामुद्दिन इद्रिसी मुस्लिम समुदायबाटै सशक्त दोबार हुन् ।

सिद्दिकी नेपालगञ्ज नगरपालिकाका पूर्व उपमेयर तथा भारत्तोलनका चर्चित खेलाडी हुन् । यी बाहेक मेयरको दाबेदारका रुपमा नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, पार्टी उपसचिव तथा उपमहानगर इञ्चार्ज प्रमोद धिताल, विजया धिताल, दत्तप्रसाद आचार्य, विजय गुप्ता र अशोक कर्माचार्य पनि चर्चामा छन् ।

नेकपा एमाले बाँकेका सचिव रत्न खत्री मेयर पदका आंकाक्षीहरुको चर्चा चले पनि सो विषयमा पार्टीले कुनै निर्णय नगरेको बताउँछन् । उने भने, ‘चैत १५ गतेसम्म हामी पार्टी संरचनालाई स्थानीय तह अनुसार विस्तार गर्दैै छौ । त्यसपछि औपचारिकरुपमा छलफलहरु केन्द्रित हुन्छ ।’

खत्रीले अहिले एमालेका सम्पूर्ण नेता–कार्यकर्ता सांगठनिक गतिविधिमा व्यस्त भइरहेको पनि बताए ।

माओवादी र मधेसी मोर्चाको तयारी

माओवादी केन्द्रका तर्फबाट अतहर हुसेन फारुकी, दामोदर आचार्य, नविन शर्मा, गोपाल पुन, नारद पुरी लगायतको नामको चर्चा छ । माओवादी नेता अतहर हुसेन फारुकीले अहिले आकांक्षी उम्मेदवारहरुको क्षमताका विषयमा पार्टीका कार्यकर्ताहरुमाझ छलफल चलाइरहेको बताए ।

नेपालगन्जको राजनीतिमा प्रभाव राख्ने मधेसकेन्द्रित दलहरुभित्र पनि मेयर लगायतको पदका लागि चर्चा सुरु हुन थाले पनि आन्दोलनमै रहेकाले मुख खोल्न सकिरहेका छैनन् । आन्दोलनमा रहेको र चुनावमा जाने कि नजाने भन्नेमा अन्यौल रहेको उनीहरुको भनाइ छ ।

संघीय समाजवादी पार्टीका नेता एवं पूर्वमन्त्री मोहम्मद इस्तियाक राई आफूहरु आन्दोलनमा रहेको र माग पूरा नभई निर्वाचनमै सहभागी नहुने भनेकाले उम्मेदरवारको चर्चा चल्ने कुरै नआउने बताउँछन् । उनी भन्छन्, ‘राज्यले हामीलाई चुनावमा जाने वातावरण बनायो भने हामी अब्बल उम्मेदवार उठाउँछौ । तर अहिले अवस्था त्यस्तो छैन ।’

कसको शक्ति कता ?

विगतका निर्वाचन हेर्दा पनि नेपालगञ्ज उप–महानगरपालिका एउटै पार्टीको पकड क्षेत्र मानिएको छैन । यहाँका मतदाताहरुको मन परिवर्तन हुने गरेकाले एउटा निर्वाचनमा एउटा पार्टीले जित्छ भने अर्को निर्वाचन अर्कै पार्टीले जित्छ ।

नेपालगन्ज उप–महानगरपालिका रहेको क्षेत्र नम्बर ३ मा पहिलो संविधानसभामा १० हजारभन्दा माथि मत ल्याएर विजय भएका तत्कालीन मधेसी मोर्चाका उम्मेदवार सर्वदेव ओझाले दोस्रो संविधानसभा निर्वाचनमा जम्मा ७७ मतमै चित्त बुझाउनुपरेको थियो ।

पहिलो संविधानसभामा यिनै ओझाले कांग्रेसका तत्कालीन कार्यवाहक सभापति सुशील कोइरालालाई पराजित गरेका थिए । दोस्रोमा कोइराला विजयी भए । नेपालगञ्ज उपमहानगरपालिका जित्नका लागि मधेसी, मुस्लिम जस्ता जातीय समीकरण मिलाउन सके सोही उम्मेदवार निर्वाचन जित्ने सम्भावना रहँदै आएको छ ।

यी पनि पढ्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment