Comments Add Comment

इन्डोनेसियामा बाढीले ७३ को मृत्यु, ६० जना वेपत्ता

४ चैत, काठमाडौं । इन्डोनेसियामा आएको बाढीले कम्तीमा ७३ जनाको ज्यान गएको छ । ६० जना हराइरहेका छन् ।

पूर्वी प्रान्त पपुआमा शनिबार साँझबाट सुरु भएको भीषण वर्षाले बाढी आएको र कैयन हताहत भएको बीबीसीले जनाएको छ ।

इन्डोनेसियाको राष्ट्रिय विपद् निकायका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोलाई कोट गर्दै रोएटर्सले सेन्तानीमा मात्रै कम्तीमा ५१ जनाको ज्यान गएको जनाएको छ । बाढीले प्रान्तीय राजधानी जयपुरामै ७ जनाको ज्यान लिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएअनुसार, १ सय घरमा क्षति पुगेको छ । लगातारको वर्षाले बाढीको खतरा बढेपछि जोखिमयुक्त स्थानका बासिन्दालाई सरकारले सुरक्षित स्थान रोज्न भनेको छ ।

बीबीसीका अनुसार, करिब ४ हजारले बासस्थान छाडेर सुरक्षित स्थान रोजिसकेका छन् । यसरी सुरक्षित स्थान रोजेका कतिपयलाई सरकारी अड्डाहरुमा आश्रय दिइएको छ ।

उद्धारमा कठिनाइ

बाढीग्रस्त क्षेत्रमा कैयन हताहती भएको अनुमान गरिएको छ । तर, ती क्षेत्रहरुमा सिर्जित प्रतिकूलताका कारण उद्धार टोली पुग्न सकेको छैन ।

बीबीसीका अनुसार, बाढीले पुल तथा सडकहरु भत्किँदा उद्धारकर्ताहरू बाढीग्रस्त क्षेत्रमा पुग्न असुविधा झेलिरहेका छन् ।

बाढी स्वभाविक

इन्डोनेसियामा अहिले वर्षायाम छ । अक्टुबरदेखि अप्रिलसम्म यहाँ वर्षायाम हुन्छ । वर्षायाम भएकाले अहिलेको बाढी स्वभाविक हो । तर, पूर्व सतर्कता अपनाउन उदासीनता देखाइएको भन्दै त्यसको आलोचना भइरहेको छ ।

इन्डोनेसियामा बाढीले ठूलो जन–धनको क्षति हुँदै आइरहेको छ । यसअघि गत जनवरीमा सुलावेसी द्वीपमा आएको बाढीले ७० जनाको ज्यान लिएको थियो । मार्चको वर्षाले जाभा पनि प्रभावित भएको थियो । वर्षाले सयौं विस्थापित भए पनि मानवीय क्षति भने भएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment