Comments Add Comment

भोलिबाट थप १७ जिल्लाका भूकम्पपीडितलाई घर बनाउन अनुदान

लुम्लेबाट वितरण सुरु हुने


२० चैत, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भोलि सोमबारदेखि भूकम्प प्रभावित थप १७ जिल्लामा निजी आवास पुनर्निर्माणका लागी अनुदानबापतको पहिलो किस्ता वितरण सुरु गर्ने भएको छ ।

सर्वेक्षण गरी लाभग्राही सूचीमा समावेश भएकाहरुलाई प्राधिकरणले घर बनाउन दिने तीन लाख अनुदानमध्ये पहिलो किस्ता वापतको ५० हजार रुपैयाँ वितरण गर्न लागेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले भोली सोमवार कास्कीको लुम्लेबाट अनुदान वितरण सुरु हुने बताए ।

कास्कीका ३४ गाविस तथा नगरपालिकामा सर्वेक्षण सकेर तथ्याङ्क प्राप्त भएका २ हजार २ सय ३८ घरधुरीमध्ये लुम्लेमा १ सय ६२ घरधुरी लाभग्राही सूचिमा समावेश छन् ।

भूकम्म प्रभावित अर्घाखाँची, बाग्लुङ, भोजपुर, धनकुटा, गुल्मी, कास्की, खोटाङ, लमजुङ, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत, संखुवासभा, स्याङजा, चितवन, सोलुखुम्बु र तनहुँमा गरी अहिलेसम्म ५ सय ८६ गाविस तथा नगरपालिकाबाट लाभग्राहीको सूची प्राप्त भइसकेको छ ।

बाँकी १ सय ७७ गाविस तथा नगरपालिकाको तथ्याङ्क एकीकृत गर्ने कार्य भइरहेको सुचना व्यवस्थापन तथा संचार शाखाका प्रमुख उपसचिव मनोहर घिमिरेले बताए ।

सोलुखुम्बुका तीन गाविसमा भने हिमपातका कारण तथ्याङ्क सकंनलन हुन नसकेको छैन । ती गाविसमा केन्द्रबाट टोली खटाएर तथ्याङ्क संकलन गरिने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

प्राधिकरणले यसअघि पहिलो चरणमा तथ्याङ्क संकलन भइसकेका १५ हजार ७ सय ४३ लाभग्राहीलाई पहिलो किस्ताको ५० हजार रुपैयाँ बितरण गर्न स्वीकृति दिइसकेको छ । अब बस्ने कार्यकारी समिति बैठकले बाँकी लाभग्राहीको सूचीलाई अनुमोदन गर्नेछ ।

प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लाका अनुदान सम्झौता भएका ९८ प्रतिशत लाभग्राहीलाई अनुदानको पहिलो किस्ता दिइसकेको छ भने प्रक्रिया पुरा गरेका लाभग्राहीले दोस्रो र तेस्रो किस्ता समेत लिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment