Comments Add Comment

निर्वाचन भाँड्न एमालेले मधेसमा वितण्डा मच्चायोः देउवा

‘ओली संविधान कार्यान्वयन भएको हेर्न चाहँदैनन्’

 


२८ चैत,तुलसिपुर । नेपाली कांग्रेसको दोस्रो चुनावी सभामा पनि सभापति शेरबहादुर देउवा प्रमुख विपक्षी दल एमाले र अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रामकरुपमा प्रस्तुत भएका छन् ।

प्रदेश नम्बर ५ मा पर्ने दाङको तुलसिपुरमा कांग्रेसले शक्ति प्रर्दशन गर्दै आयोजना गरेको  सभामा देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालाले सम्बोधन गरे ।
मधेसी मोर्चाले विरोध गर्दा गर्दै पनि एमालेले मेची महाकाली अभियान चलाएर मधेसमा वितण्डा मच्चाएको उनले बताए । ‘मधेसको सन्दर्भमा एमाले जसरी प्रस्तुत भएको छ, त्यो गलत छ, एउटा शक्तिलाई वाइपास गरेर चुनावमा जाँदा पछि द्वन्द्व निम्तिने खतरा हुन्छ, देउवाले भने, ‘मधेसलाई पनि चुनावमा ल्याएर कांग्रेस अगाडि बढ्न चाहन्छ ।’एमालेप्रति निकै आक्रमक रुपमा प्रस्तुत भएका देउवाले एमालेले संविधान कार्यान्वयन नचाहेको आरोप लगाए ।

उनले अघि भने, कांग्रेसका विषयमा नानाथरी भ्रम फैलाएर एमालेले राष्ट्रलाई निकास दिने भन्दा पनि वितण्डा मच्चाउने काम गरेको छ ।’

उनले एमालेले संविधान कार्यान्वयन गर्न नचाहेको त हैन भन्ने प्रश्न गरे । कांग्रेस सभापति देउवाले भने,‘ एमालेका गतिविधि हेर्दा हामीलाई शंका लाग्न थालेको छ, ओलीजीका उखान टुक्का सुन्दा संविधानलाई कार्यान्वयन गर्न नदिएर असफल बनाउन खोजेको भान भइरहेको छ ।’

उनले अत्तरियामा भएको सभामा उखान टुक्काले देश  बन्ने भए कलाकारलाई नै पार्टी अध्यक्ष बनाए भयो । ओलीभन्दा राम्रा कलाकार धेरै छन्’ भनेका थिए ।

कांग्रेस सभापति देउवाले संविधान जारी गर्दा देखिएको दलहरुको एकता कार्यान्वयनमा पनि देखिनुपर्ने जोड दिएका छन् । दलहरुको एकताले नै समृद्धि र विकास सम्भव हुने भन्दै उनले स्थानीय तहको निर्वाचनमा जनताले कांग्रेसलाई भारी मतले विजय गराउने विश्वास पनि ब्यक्त गरे ।

केहीले थारु र पहाडी समुदायबीचमा फाटो ल्याउन प्रयास गरेको भन्दै उनले एक–अर्कालाई दोषारोपण गर्नुभन्दा मिलेर बस्नु पर्नेमा जोड दिए ।

सभामा वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसी मोर्चा चुनावमा आउने विश्वास ब्यक्त गर्दै एमालेलाई संविधान असफल बनाउने खेलमा नलाग्न आग्रह गरे ।

पार्टीभित्रको गुट उपगुट अन्त्य गरी पार्टीलाई एकतावद्ध र वलियो वनाएमा निर्वाचनमा वहुमत आउन सक्ने बताउँदै निर्वाचनको तयारीतर्फ लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

महामन्त्री शशांक कोइरालाले स्थानिय तह अधिकार सम्पन्न रहेको भन्दै सक्षम र सवल ब्यक्तिलाई नेतृत्वमा पुर्याउनुपर्ने बताए ।  साथै पार्टीले ल्याउने आधिकारीक उम्मेदवारविरुद्ध जाने जो कोही कार्यकर्तामाथि कारबाही गर्ने चेतावनी दिए ।

कांग्रेस दाङका सभापति किर्तिबहादुर खड्काको अध्यक्षतामा भएको आमसभालाई पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सिचाइमन्त्री दिपक गिरी लगायतले सम्बोधन गरे । कार्यक्रममा सहभागी हुन प्रदेश नम्बर ५ का १० वटा जिल्लाबाट कांग्रेसका नेता तथा कार्यकर्ता दाङको तुलसिपुरमा भेला भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment