Comments Add Comment

कैलालीमा मन्त्रीले गरे स्वास्थ्य बीमा

२६ चैत, कैलाली । मुलुकमै पहिलो पटक स्वास्थ्य बीमा सुरु भएको कैलाली जिल्लामा मंगलबार स्वास्थ्य बीमा दिवस मनाइएको छ । सरकारले २०७२ साल चैत २५ गते कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बीमा गरेका छन् । उनले गरीब, असहाय र आयस्तर कमजोर भएकाहरुका लागि स्वास्थ्य बीमा अत्यन्त महत्वपूर्ण रहेको बताए ।

मन्त्री सुवेदीले स्वास्थ्य बीमाका बिमित होस वा सर्वसाधारण बिरामीप्रति चिकित्सको व्यवहार एउटै हुनु पर्ने बताए । चिकित्सकको लागि जुनसुकै बिरामी समान हो भन्दै हेपाहा प्रवृत्ति देखाउनु नहुने उनको भनाइ थियो ।

बीमा सुरु भएको ३ वर्ष पूरा भए पनि यसप्रति उत्साह देखिएको छैन । यो अवधिमा एक लाख दुई हजार ५ सय २२ जनाले मात्रै स्वास्थ्य बीमा गराएका छन् । कैलालीको जनसंख्या झन्डै आठ लाख रहेको छ ।

त्यस्तै झन्डै २५ लाख जनसंख्या रहेको सुदूरपश्चिममा हालसम्म एक लाख ६७ हजार १ सय १६ जनाले मात्रै स्वास्थ्य बीमा गराएका छन् । स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन अहिलेसम्म थुप्रै चुनौतीको सामना गर्नुपरेको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम कार्यालय धनगढीका प्रबन्धक नरेश चौधरीले बताए ।

सूचीकृत सरकारी सेवा प्रदायक संस्थाहरुमा बिरामीको चाप अनुसार संघीय सरकार तथा प्रदेश सरकारले जनशक्ति व्यवस्थापन गर्न नसक्नु, औषधि अभाव भइरहनु लगायतका चुनौतीहरु रहेको प्रबन्धक चौधरीले बताए ।

उनले नेपाल सरकारले स्वास्थ्य बीमा नियमावली बनाइसकेकाले अब स्वास्थ्य बीमा कार्यक्रम सबैका लागि बाध्यकारी हुने बताए । गत आर्थिक वर्ष २०७४/०७५ मसान्तसम्म सुदूरपश्चिमको बिमित सदस्यले १८ हजार ७ सय ६१ पटक स्वास्थ्य सेवा उपभोग गरेको बोर्डले जानकारी दिएको छ । सोही अवधिमा बिमित सदस्यहरुलाई स्वास्थ्य सेवा प्रदान गरेवाफत बोर्डले एक करोड ५७ लाख ६३ हजार १ सय ७२ रुपियाँ स्वास्थ्य संस्थालाई भुक्तानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment