Comments Add Comment

यी हुन् बर्षका ‘उत्कृष्ट ५ नायक’

यो बर्ष ९६ वटा चलचित्र रिलिज भएका छन् । जसमा केही कलाकारका आधा दर्जन चलचित्र रिलिज भए भने केही कलाकारको एउटा मात्र चलचित्र रिलिज भए । अनलाइनखबरले विगत केही बर्षदेखि नेपाली चलचित्रको बर्ष समिक्षामा ‘उत्कृष्ट नायक’ छनोट गर्दै आएको छ । यो बर्ष पनि ‘अनलाइनखबर उत्कृष्ट नायक’ अन्र्तगत रहेर उत्कृष्ट ५ को छनोट गरिएको छ ।

उत्कृष्ट ५ को छनोट प्रक्रियामा चलचित्रको व्यापार, कलाकारको अभिनय, सामाजिक संजाल क्रेज, युटुबमा कलाकारको कुनै पनि सामाग्रीमाथि आउने प्रतिक्रिया र भ्यूज, स्टारडम आदिलाई मुख्य रुपमा मापन गरिएको छ ।

५. दयाहाङ राईः यो बर्ष नायक दयाहाङ राइका केही चलचित्र रिलिज भए । ‘ह्याप्पी डेज, भैरे, साइँली’ दयाका रिलिज भएका चलचित्र हुन् । यी तिन चलचित्रले बक्स अफिसमा खासै कमालको व्यापार गर्न सकेनन् । ‘ह्याप्पी डेज र भैरे’ले दयाहाङलाई व्यापारमा मात्र होइन, अभिनयमा पनि त्यस्तो तारिफ गर्ने स्थान दिएन ।

तर, बर्षको अन्त्यमा रिलिज भएको चलचित्र ‘साइँली’बाट भने दयाले प्रशंसा पाएका छन् । यो बर्ष पनि दयाको डिमाण्ड उस्तै देखिएको छ । उनको व्यस्तता पनि यो बर्ष गतबर्षको भन्दा कम भएन । तर, यो बर्ष उनको स्टारडम ओरालो लागेको छ । यहीकारणले नायक दयाहाङ राई अनलाइनखबरको ‘उत्कृष्ट ५’ नायकको पाँचौ स्थान ओगट्न सफल छन् ।

४. प्रदिप खड्काः नायक प्रदिप खड्काको यो बर्ष २ वटा चलचित्र रिलिज भएका छन् । यो बर्ष उनले अभिनय गरेको ‘रोज र लभ स्टेशन’ रिलिज भयो । बक्स अफिसमा ‘रोज’ असफल भयो । उनी अभिनित चलचित्र ‘लभ स्टेशन’ अहिले प्रदर्शन भैरहेको छ । चलचित्रले मल्टिप्लेक्समा कमजोर र सिंगल हलमा औषत कमाई गरिरहेको छ । चलचित्रको सफलताको स्वाद मज्जाले चाख्न नपाएपनि नायक प्रदिप खड्काको डिमाण्ड भने यो बर्ष निकै देखियो । उनलाई महंगो पारिश्रमिकमा काम गराउन निर्माताहरु लागिरहे । उनले यो बर्ष केही चलचित्रमा काम गर्न लागेको चर्चा चलिरह्यो ।

यो बर्ष नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको प्रेम चर्चा पनि चल्यो । युटुबमा प्रदिपका इन्टरभ्यू, चलचित्रका प्रचार सामाग्रीले राम्रो प्रतिक्रिया पाए । मिडियामा पनि प्रदिपको क्रेज उस्तै देखियो । यी र यस्तै कारणले गर्दा नायक प्रदिप खड्का यो बर्ष अनलाइनखबरको ‘उत्कृष्ट ५ नायकको’ चौथो स्थान ओगट्न सफल भएका छन् ।

३. दिपकराज गिरीः यो बर्ष कलाकार दिपकराज गिरीको बर्चस्व गतबर्षको जस्तै रह्यो । यो बर्ष उनले अभिनय गरेको चलचित्र ‘छक्का पन्जा ३’ रिलिज भयो । नेपाली बक्स अफिसमा सर्वाधिक धेरै कमाउने चलचित्रको रुपमा यसले आफ्नो नाम लेखायो । बक्स अफिसमा दिपकराज गिरी ‘राजा’ बने । यस्तै, यो बर्ष नै दिपकराज गिरीले नयाँ जोखिम पनि मोलेका छन् ।

उनले निर्माता रोहित अधिकारीसँग मिलेर बनाउन लागेको चलचित्रमा नाफाको ५० प्रतिशत लिने तयारी गरेका छन् । चलचित्र हिट हुन्छ भनेर ग्यारेन्टी दिन सक्ने एक मात्र कलाकार उनी देखिएका छन् । उनको फेसबुकमा आउने स्टाटसले पनि मिडियामा निकै राम्रो स्थान पायो । सामाजिक संजालमा पनि उनी बर्षभरी नै हिट रहे । यी र यस्तै कारणले गर्दा पनि दिपकराज गिरी यो बर्षको ‘अनलाइनखबर उत्कृष्ट ५ नायक’को सुचीको तेश्रो स्थानमा रहन सफल भएका छन् ।

२. अनमोल केसीः नायक अनमोल केसी यो बर्ष पनि हटकेक बनिरहे । उनले अभिनय गरेको चलचित्र ‘क्याप्टेन’ यो बर्ष रिलिज भयो भने अर्को चलचित्र ‘ए मेरो हजुर ३’ चैत्र २९ गते रिलिज हुँदैछ । अनमोल केसीका लागि यो बर्ष पनि दर्जनौ चलचित्रका अफर पुगेका थिए । उनले महंगो पारिश्रमिक लिएर पनि चलचित्र ‘ब्याचलर बन्टी’ छाडेको घटनाले खुबै चर्चा पायो । उनले बलिउड चलचित्रमा काम गर्ने गसिप पनि यो बर्ष चल्यो ।

अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ले बक्स अफिसमा ठिकै कमाई गरेको छ । उनको क्रेज यो बर्ष युटुबमा सर्वाधिक धेरै देखियो । उनका इन्टरभ्यू र उनी अभिनित चलचित्रको प्रचार सामाग्रीले युटुबको ट्रेन्डिङमा राम्रो स्थान जमाएका थिए । ‘क्याप्टेन’ले औषत कमाई गरेपनि अनमोलको मिहिनेतको भने तारिफ भयो । यी र यस्तै कारणले यो बर्ष हटकेक बनेका नायक अनमोल केसी ‘अनलाइनखबरको उत्कृष्ट ५ नायक’को दोश्रो स्थान ओगट्न सफल भएका छन् ।

१. विपिन कार्कीः गतबर्ष नायक अनमोल केसीले कब्जा गरेको नम्बर १ को स्थान यो बर्ष नायक विपिन कार्कीले कब्जा गरेका छन् । यो बर्ष विपिनका ‘हरी, प्रसाद, गोपी’ गरी ३ चलचित्र रिलिज भएका छन् । यी तिन चलचित्रले नेपालबाट लगानी भने उठाएनन् । ‘हरी र गोपी’ बक्स अफिसमा असफल भएका थिए भने ‘प्रसाद’ औषत चलेको थियो ।

तर, यी तिनै चलचित्रमा नायक विपिन कार्कीको भर्सटायल अभिनयको भने सर्वत्र तारिफ भयो । चलचित्र ‘हरी’मा उनले ३ पुस्ताको भूमिका निर्वाहा गरेका थिए । ‘प्रसाद’ चलचित्र उनको अभिनयले पनि दर्शकको रोजाइमा परेको थियो । ‘गोपी’मा उनले यूवाहरुलाई विदेश नगई नेपालमै केही गर्न सन्देश दिए । विपिन कार्कीले यो बर्ष पनि आफूलाई हरेक भूमिकाका लागि फिट रहेको पुष्टी गरे । विपिनको डिमाण्ड चलचित्र बजारमा यो बर्ष पनि चुलियो ।

उनले ‘प्रसाद’ चलचित्रका लागि महंगो पारिश्रमिक लिएको चर्चा पनि यो बर्ष भयो । भर्सटायल अभिनयका धनी नायक विपिन कार्कीले यो बर्षको ‘अनलाइनखबर उत्कृष्ट ५’ नायकको सूचीको पहिलो स्थानमा आफूलाई दमदार रुपमा उभ्याएका छन् ।

 

वर्ष ०७५ः नेपाली फिल्मका लागि ‘कालो वर्ष’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment