Comments Add Comment

वर्ष ०७५ः नेपाली फिल्मका लागि ‘कालो वर्ष’

९६ फिल्म रिलिज, २ वटा मात्र नाफामा

नेपाली चलचित्रको बजारमा यो बर्ष ९६ वटा चलचित्र रिलिज भए । औषत रुपमा हेर्दा हरेक हप्ता २ वटा चलचित्र रिलिज भएका छन् । वैशाख ७ गते ‘स्वर्ग मेरो गाउँ’बाट सुरु भएको चलचित्रको रिलिज प्रक्रिया चैत्र २९ गते रिलिज हुने ‘ए मेरो हजुर ३ र यात्रा’मा आएर यो बर्षका लागि टुंगिनेछ ।

जम्मा ९६ वटा चलचित्र यो बर्ष रिलिज हुँदा ब्लकबस्टर हुने चलचित्रको संख्या १ मात्र छ । यो बर्षको दशैंमा रिलिज भएको चलचित्र ‘छक्का पन्जा ३’ले १६ करोड भन्दा बढी ग्रस कलेक्शन(निर्माताका अनुसार) गरेको छ । यो बर्ष ब्लकबस्टर हुने एक मात्र चलचित्रमा पर्छ ‘छक्का पन्जा ३’ ।

यस्तै, यो बर्ष नै रिलिज भएको चलचित्र ‘नाई नभन्नु ल ५’ सुपरहिट भएको थियो । चलचित्रले नेपालबाट निर्मातालाई राम्रै शेयर दिएको छ । यस्तै, यो बर्षको दशैंमा नै रिलिज भएको चलचित्र ‘जय भोले’ले नेपाली पर्दाबाट लगानी मात्र उठाएको छ । यस्तै, नेपालबाट मुश्किलले लगानी उठाउने चलचित्रमा ‘यी बाहेक केही चलचित्रमात्र छन्, जुन औषत चलेका छन् । यो बर्ष औषत चलेका चलचित्रहरुमा ‘रामकहानी, इन्टु मिन्टु लण्डनमा, प्रसाद, क्याप्टेन’ लगायतका छन् । जसले नेपाली बक्स अफिसमा औषतको कमाई गरेका छन् । औषत चलेका यी चलचित्रबाट पनि निर्माता सुरक्षित भने छैनन् ।

यी बाहेक जतिपनि चलचित्र रिलिज भएका छन्, ती सबै चलचित्रले निर्मातालाई ठूलै घाटा दिएका छन् । केही चलचित्रले नेपाली बक्स अफिस, डिजिटल विक्री, विदेशी बजारबाट लगानी त उठाएका होलान् तर नेपालका हलबाटै चलचित्र सफल नभएसम्म त्यसलाई सफल भएको मान्न सकिदैन ।

वैशाखमा कुनै फिल्म चलेनन्

यो बर्षको सुरुवाती महिना वैशाखमा रिलिज भएका चलचित्रहरुमा ‘स्वर्ग मेरो गाउँ, कोहलपुर एक्सप्रेस, ह्याप्पी डेज, डमरुको डन्डिबियो, भोर, लम्फू, हिरोज’ छन् । यी सबै चलचित्रले बक्स अफिसमा कमजोर व्यापार गरेका थिए ।

जेठमा पनि सुध्रिएन व्यापार

जेठमा रिलिज भएका चलचित्रहरुमा ‘हैरान, सुनकेशरी, अफिसर, कोशेली, अमेरिकन ब्वाइज, बेबी आई लभ यू, चंगा, मट्टीमाला’ छन् । यी सबै चलचित्र बक्स अफिसमा असफल भए ।

असार पनि धराशायी

असारमा चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ, ए सोल्टिनी, चोखो माया, बोबी, बाबु कान्छा, विरंगना, यो पागल मन’ रिलिज भए । यो महिनामा रिलिज भएका कुनै पनि चलचित्रले हलबाट नाफा कमाएनन् । चलचित्र ‘बोबी’ भने चर्चा राम्रै भयो ।

साउनले पनि राहत दिएन

साउनमा चलचित्र ‘भैरे, पण्डित बाजेको लौरी, चक्कर, सुकुल गुण्डा, रोमियो एन्ड मुना, ची मुसी चु, कायरा, झमक बहादुर, कही कतै, टीनएज, पिरिम पर्या छन्’ रिलिज भएका थिए । यी सबै चलचित्रले बक्स अफिसमा कमजोर कारोबार गरेका थिए ।

भदौ बन्यो आशातित

भदौ १ गते रिलिज भएका ‘जय शम्भु, ब्ल्याक, मिस्टर भर्जिन’ बक्स अफिसमा पछारिए । भदौ ८ मा रिलिज भएको चलचित्र ‘नाई नभन्नु ल ५’ले बक्स अफिसमा राम्रो कमाई गर्यो । यो बर्षको पहिलो सुपरहिट चलचित्र यही बन्यो । यो बाहेक यो महिनामा ‘मेरी मामु, रामकहानी, रोज, साली कसको भेनाको’ पनि रिलिज भयो ।

असोजले दियो राहत

असोजमा चलचित्र ‘इन्टु मिन्टु लण्डनमा, बाँध मायाले, धुम ३, कथा काठमाण्डौ, अनुराग, निर्जला, छक्का पन्जा ३, जय भोले’ रिलिज भएका थिए । यसमध्ये ‘इन्टु मिन्टु लण्डनमा’को व्यापार औषत रह्यो । चलचित्र ‘छक्का पन्जा ३’ सर्वाधिक कमाई गर्ने चलचित्र बन्यो । यो चलचित्रले १६ करोड बढी ग्रस कलेक्शन गरेको बताइन्छ । यो बर्षको एक मात्र ब्लकबस्टर चलचित्र यही नै हो । यस्तै, चलचित्र ‘जय भोले’लेले बक्स अफिसमा औषतको कमाई गरेको छ ।

कात्तिक पनि कमजोर

कात्तिक महिनामा ‘चंगाचेट, मालिका, गुनगुन, दैलो’ रिलिज भए । कुनै पनि चलचित्रले हलबाट नाफा कमाएनन् ।

मंसिर पनि उस्तै

मंसिर महिनामा ‘ड्रीम गर्ल, कोइला, शान्ती, प्रसाद, सुश्री सम्पत्ती, डोली, कथा ७२’ रिलिज भएका थिए । यसमध्ये समिक्षकको नजरमा ‘प्रसाद’ले निकै तारिफ पायो । नेपालबाट लगानी नै उठाउन नसकेपनि ‘प्रसाद’को व्यापारलाई औषत मान्न सकिन्छ ।

पुष फासफुस

पौष महिनामा रिलिजमा आएका ‘गोल, जय श्री दाम, जे सुकै होस्, चौका दाउ, भिलेन’ सबै असफल भए । नेपाली चलचित्रका लागि पुष महिना फासफुस नै भयो ।

माघमा पनि सुध्रिएन बजार

माघ महिनाको जाडोमा ‘गरुड पुराण, आरोप, बैना, गोपी, रणवीर, सय कडा दश, समर लभ’ रिलिज भए । निकै आशा गरिएका र उच्च प्रचार गरिएका चलचित्र ‘गोपी, रणवीर, समर लभ’ बक्स अफिसमा नराम्रोसँग पछारिए ।

फागूणमा आशा धेरै, तर निराशा

फागूण महिनामा रिलिज भएको चलचित्र ‘बुलबुल’ले बक्स अफिसमा कमजोर कमाई गर्यो । तर, यो चलचित्रलाई समिक्षकले उत्कृष्ट भनेका छन् । यस्तै, यो महिना नै ‘जादुगर २ जोकर, रुमालै छ चिनो, फिंगर प्रिन्ट, क्याप्टेन, दि ब्रेकअप, खाग, अदालत’ रिलिज भए । यी मध्ये यो महिना चलचित्र ‘क्याप्टेन’ले औषत कमाई गर्यो । ‘बुलबुल र क्याप्टेन’बाट दर्शक र चलचित्रकर्मीले ठूलो आशा गरेका थिए । तर, व्यापार त्यो अनुसार भएन ।

चैत्रको नजिता कमजोर, पर्खाइमा २ फिल्म

चैत्रमा अहिलेसम्म ‘जानी नजानी, दि म्यान फ्रम काठमाण्डौ, पुरानो बुलेट, कागजपत्र, प्रेमलिला, साइँली, शुभ लभ, लभ स्टेशन’ रिलिज भैसकेका छन् । यसमध्ये ‘लभ स्टेशन र साइँली’ हलमा चलिरहेकाले अहिले नै सफल वा असफल भन्न सकिदैन । यो महिना अब चैत्र २९ गते रिलिज हुन लागेको चलचित्र ‘यात्रा र ए मेरो हजुर ३’ आशा धेरै गरिएको छ ।

नेपाली चलचित्रका लागि यो बर्ष ‘कालो बर्ष’को रुपमा रहेको छ । किनकी, यो बर्ष रिलिज भएका ९६ वटा चलचित्रमा जम्मा २ वटाले मात्र निर्मातालाई नाफा दिन सक्नु आफैमा उदेकलाग्दो कुरा हो । करिब २ अर्ब भन्दा बढी लगानी भएको चलचित्र क्षेत्रले यसपटक धेरैलाई सडकमा ल्याइदिएको छ । यसैले पनि नेपाली चलचित्रका लागि बर्ष २०७५ निकै नै खराब बर्षको रुपमा रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment