Comments Add Comment

बदलिँदो चितवन : ७० वर्षको कायाकल्प कथा

लीलानाथ बाजेको पसलदेखि चौधरी ग्रुपको सिजी मलसम्म

२४ चैत, चितवन । कुनै समय देशकै वैकल्पिक राजधानीका रुपमा अघि सारिएको  थियो, चितवनको भरतपुरलाई । नेपालको मध्य भूभागमा अवस्थित यो शहरको मुख्य बजार हो, नारायणगढ । यो अहिले मध्य नेपालको प्रमुख ब्यापारिक केन्द्रका रुपमा रहेको छ ।

शहरका रुपमा नारायणगढले जसरी विकासमा छलाङ मार्दैछ, त्यति नै व्यवसायिक प्रगति पनि हात पार्दैछ । कुनै समय नारायणगढमा खुम्चिएको भरतपुर अहिले फैलँदो छ । यसको व्यवसायिक सम्भावना र अवसर र विकासे रफ्तार पनि ग्रामीण भेगतर्फ विकेन्द्रिकृत हुँदैछ ।

तर, भरतपुरसहित नारायणगढको रौनक धेरै सुस्ताएको छैन, यहाँ आधुनिक किसिमका ब्यापार व्यवस्ाायले प्रवेश पाएका छन् । काठमाडौंमा उपलब्ध रहेका प्रायः सेवा सुविधा यही शहरले ग्राहकलाई दिन सकेको छ ।

त्यसैले भरतपुरले आफ्नो ब्यापार मोडल फेर्दै लगेको छ भने उपभोक्तामा पनि क्रयशक्ति बढाएर आधुनिक उपभोगतर्फ आकर्षित देखिन्छन् । त्यसैअनुसार विकासे अड्डाले पनि पूर्वाधारको निर्माणमा ध्यान दिन थालेका छन् । निजी क्षेत्र पनि व्यवसायिक सम्भावना भएका हेरेर क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका छन् ।

भरतपुरसहित समग्र चितवन देशमै बलियो अर्थतन्त्र भएको क्षेत्रमा गनिन्छ । चितवनको शहरीमात्रै नभएर गामीण अर्थतन्त्र पनि निकै बलियो र दाह्रो छ । झन भरतपुर जिल्लाकै सदरमुकाम पनि भएकाले यसले अरु नगरभन्दा आफूलाई सशक्त गर्न सकेको छ ।

मेयर रेणु दाहाल भरतपुरको आर्थिक र समाजिकसहित सबै क्षेत्रमा यथोचित विकास गर्न महानगर लागि परेको बताउँछिन् । नागरिकलाई न्युनतम् सेवा सुवधासहित आधुनिक शहरी पूर्वाधारमार्फत स्तरीय सेवा दिने गरी विभिन्न योजना बनिरहेको उनको भनाइ छ ।

भरतपुरलाई आधुनिक सुविधासम्पन्न शहरका रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेकाले यसमा सबैको सक्रियता र सहयोग जरुरी पर्ने उनले बताइन् ।

त्यो समयमा फर्कँदा

भरतपुरको आधुनिक स्वरुप विकासको इतिहास खासै लामो छैन । कुनै समय सेन बंशले शासन गरेको चितवनमा मुस्लिम आक्रमणका कारण समथरबाट पहाडी क्षेत्रतर्फ मात्रै बस्तीहरु विस्तार हुँदै थिए । तत्कालीन राजाहरले आक्रमणबाट बच्न गढीहरु रोजेपछि समथर क्षेत्र जंगलले ढाकिएको थियो ।

भरतपुरसहित आधुनिक चितवनको विकासको इतिहास ७० वर्षभन्दा लामो छैन । ७ देशमा एउटा घनघोर जंगल कसरी आधुनिक शहरमा परिणत भयो भन्ने कुरा नयाँ पुस्ताका लागि कथा हो, तर यसलाई प्रत्यक्ष भोग्नेहरु अहिले पनि यसलाई ‘सपना जस्तो परिवर्तन’को संज्ञा दिन्छन् ।

नारायणगढ बजारका पुराना ब्यापारी तथा कवि प्रेम विनोद ‘नन्दन’ यो शहरको कायाकल्पका साक्षी हुन् । उनको भनाइमा पहाडबाट भारतीय बजारमा समान किन्न जाने रुटमा पर्ने एउटा स्थान मात्रै थियो, नारायणगढ । पहाडबाट झर्दा नारायणी नदी कटेपछि समथर भूभाग हुँदै  भारततर्फ लाग्नुअघिको बिसौनी थियो यो क्षेत्र । भारतबाट समान ल्याएर आउँदा गाडा चढ्ने अन्तिम विन्दु पनि यही थियो ।

वि.सं. २००० को दशकमा लमजुङबाट बन्दीपुर हुँदै ठोरी पुगेर नुन र मट्टीतेल समान ल्याएको कवि नन्दनको स्मृतिमा ताजै छ । उनलाई कुनै द्विविधा छैन कि त्यतिबेला भरतपुरमा खाना खाने एक-दुईवटा खाना खाने छाप्रे होटल मात्रै थिए ।

नारायणगढबाट बयल गाडामा ठोरी हुँदै भारतको नरकटिया बजारमा समान किनेर नारायणगढसम्म गाढामै समान ल्याउने प्रचलन थियो त्यतिबेला । उनी पनि नारायणगढबाट ४ दिन, ४ रातसम्म गाढामा चढेरै समान लिन नरकिटया पुगेका थिए ।

नन्दनको अनुभवअनुसार थारुहरु रातभर पनि वनको बाटोमा जंगली जनावर भगाउन गीत गाउँदै गाडा हाँक्थे । रातमा अगाडि लाल्टिन झुण्डाएर गाडाले नकरकटियासम्म ब्यापारी सर्वसाधारणलाई लैजान्थ्यो र ल्याउँथ्यो ।

लीलानाथ बाजेको पसल

त्यतिबेला नारायणगढलाई नारायणघाट भनिन्थ्यो । हालको लीलाचोकमा लीलानाथ बाजे (अधिकारी) को पसल थियो । बुढाबुढीहरु भारत जाने र फर्किनेहरुलाई खाना बनाएर खुवाउँथे । भारतमा समान लिन जाने र आउने ब्यापारीदेखि सर्वसाधारणसम्मको भीड त्यही पसलमा जम्मा हुन्थ्यो । त्यसबाहेक यो क्षेत्रमा खासै बजार र पसल थिएनन् ।

भरतपुर क्षेत्र जंगलले ढाकिएको थियो । एकदमै पातलो मात्रामा थारु समुदायको बसोवास थियो । पहाडी समुदायका मान्छे चितवन बस्न डराउँथे, कारण थियो औलोको त्रास । एक रात बस्दैमा ज्यान लिने ठाउँका रुपमा चितवन चिनिएको थियो । त्यसैले भौगोलिक रुपले सुगम भए पनि यहाँ कसैले आँखा लगाएका थिएनन् ।

कवि नन्दनको भनाइमा यहाँ बस्ती बसाउने योजना राणा सरकारले नै बनाएको थियो । ‘त्यतिबेला सरकारलाई चितवन घनघोर जंगल नै रहने भयो, कसरी आवाद गर्न सकिएला भनेर सरकारले नै चिन्ता लिएको थियो,’ नन्दन भन्छन् ।

प्रेम विनोद नन्दन

त्यतिबेला जति वन फाँडेर बस्न सक्यो उति जमिनको लालमोहर लगादिने योजना राणा सरकारले ल्यायो । नन्दनको भनाइमा सरकारले त्यस्ता किसानलाई हल गोरु र घर बनाउन सित्तैमा काठ समेत दिने गरेको थियो ।

केही थारु समुदायले त्यसमा आँट देखाए । थारु समुदायलाई औलो रोग नलाग्ने भएकाले त्यो स्वभाविक पनि थियो ।

त्यतिबेला केही पहाडिया जमिन्दारहरुले आफैं चितवन झरेनन् । तर, पनि थारु समुदायसँग जमिन मौजामा लिन थाले । थारु समुदायले थोरै रकममै आफ्नो जमिन मौजामा दिन्थे र त्यसबाट उत्पादित केही अन्नपात बोकेरै पहाडमा पुर्‍याइदिन्थे ।

भरतपुरमा बस्ती नै नभएकाले त्यो समयमा विकासको लहर समात्न सकेन । औलो लाग्ने स्थानमा घना जंगल फाँड्नु र जमिन आफ्नो बनाउनुलाई ‘बेअर्थ’काम ठान्ने धेरै थिए । तर, थारु समुदायले भने सयौं विगाह जमिन चर्चिएका थिए ।

‘यहाँ एकपटक धान र तोरी छरिदिएपछि एकैपटक काट्न जाँदा हुन्थ्यो, एकै जनासँग धेरै जमिन हुने भएकाले हेरचाह गरिदैन थियो । सम्भव पनि थिएन, नन्दन भन्छन्, ‘माटो मलिलो भएकाले यी बाली यहाँ निकै फस्टाउँथे । यहाँको मुख्य उत्पादन नै धान र तोरी थियो । ‘

कृष्ण बम मल्ललाई बस्ती बसाउने जिम्मा दिइएको थियो । उनले थारुहरुमा जमिन्दारहरुलाई बोलाएर बस्ती विकासको योजना सुनाएका थिए र सहमत गराएका थिए

त्यही उत्पादन थारुहरुले पहाडमा मौजाका रुपमा बोकेरै पर्‍याउँथे । त्यतिबेला पहाडमा धानको महत्व धेरै हुने भएकाले पनि चितवनमा मौजाका रुपमा जमिन लिने चलन बढ्दै गएको थियो ।

कृष्ण बम मल्लको प्रवेश

भरतपुरको सभ्यतामा ठूलो विकासको मोड २०१२ सालमा आयो । सरकारले नै ‘राप्ती दुन विकास योजना’ बनाएर चितवनमा बस्ती बसाउने योजना बनायो । भरतपुरमा बस्ती बसाउन आयोजना प्रमुख भएर संस्थागत रुपमै कृष्ण बम मल्ल खटिए । त्यो विकास योजना अमेरिकाको सहयोगमा सुरु भएको थियो ।

कृष्ण बम मल्ललाई बस्ती बसाउने जिम्मा दिइएको थियो । उनले थारुहरुमा जमिन्दारहरुलाई बोलाएर बस्ती विकासको योजना सुनाएका थिए र सहमत गराएका थिए । उनले पहाडी समुदायसम्म चितवनमा सित्तैमा जग्गा लिन सकिने गरी सन्देश फैलाए ।  लप्टन बखानसिंह गुरुङ, लालकुमार, सुब्बा विष्णुलाल लगायतले उनको अभियानमा सघाए ।

त्यतिबेला उनले सरकारी उपभोगमा लागि आश्यक जमिन एकै ठाउँमा छुट्याए । हाल पनि भरतपुरका अस्पतालदेखि सरकारी कार्यालयहरु उनैले छुट्याएका जमिनमा छन् ।

राप्ती दुन विकास आयोजनाले इच्छुकहरुलाई चितवनमै जग्गा दिलाइदिन पहल गर्‍यो । व्यवस्थित तवरको विकास योजना नबनाए पनि अस्पताल, विद्यालय र सरकारी कार्यालयका लागि जमिन बाँकी राखेर अरु सार्वसाधारणलाई दिइयो ।

त्यतिबेला कहाँ, कति जमिन लिएर बस्ने हो, सोधेरै हाताहातीरुपमा सित्तैमा लालपुर्जा दिइएको थियो ।

‘मलाई पनि ०२० सालमा हालको सारदानगरमा ३ विगाह जमिनका लागि चलानी पूर्जी दिइएको थियो, कवि नन्दन सम्झन्छन्, म साइकल लिएर जमिन हेर्न जाँदा घनघोर जंगल रहेछ, मैले त्यो सय २ सय वर्षको सालको रुखको फाँड्ने आँट गर्न सकिनँ । अहिले त्यहाँ गजबको शहर विकास भइसक्यो ।’

राप्ती दुन विकास योजनाकै पहलमा चितवनलाई अमेरिकी सरकारको सहयोगमा हेटौंडासम्म सडकमार्गबाट जोडियो । त्यसपछि विस्तारै चितवनप्रति मान्छेको विश्वास बढ्यो । हेटौंडा हुँदै वीरगञ्ज नाका र रक्सौलसम्मको कनेक्सनका कारण चितवनप्रति अझ धेरै आकर्षण बढ्यो ।

कतिले त्यसलाई  आत्मसात गरे भने कतिले औलोको डरले चितवन झर्ने आँट गरेनन् । तर, विस्तारै वस्ती बढ्दै गयो । औलोको उपचार सहज बन्दै गएपछि यो ठाउँले अझै प्राथमिकता पायो ।

ढाक्रेको बजार

त्यतिबेलासम्म भरतपुरमा सडकसँगै छाप्रै पसलहरु खुल्न बाक्लिन थालेका थिए । भारतबाट ल्याइएका नुन, मट्टीतेल, कपडालगायतको ब्यापार नारायणढमै सुरु भएको थियो । यो पश्चिमाञ्चल  क्षेत्रको ब्यापारिक केन्द्रका रुपमा विकास हुने स्थितिमा देखियो ।

भारतसम्म पुगेर उपभोग्य समान ल्याउनेहरुलाई नारायणगढ नै सहज भयो । तनहुँ गोराखा, लमजुङ कास्की, बाग्लुङ र पर्वत, स्याङ्जा लगायतका जिल्लाका ग्राहकको भीड नारायणगढमा बढ्यो । यहाँबाट बन्दीपुर बजारमा नुनसहितका उपभोग्य समान लगेर बेच्न ब्यापारी पनि उत्तिकै थिए । यही कारण चिववनलाई ढाक्रेको बजार समेत भनिन्थ्यो ।

यहाँ सडक आउनुअघि नै विमानस्थल पनि खुलेको थियो । विमानस्थलमा सेवा नियमित भएपछि यो ठाउँमा अझ धेरै आकर्षण बढ्यो ।

भरतपुरको बस्ती विकासको अर्को मोड थियो, नारायणी नदीमाथि गैाडाकोटसँग जोडिने गरी पुल बन्नु । वारपार गर्न डुंगाको भर पर्नुपर्ने बाध्यता हटेपछि नारायणगढ बजारले अझै विस्तार हुने मौका पायो । यही पुल बनेपछि चितवनको विकासले नयाँ गति लिएको स्थानीयहरु बताउँछन् ।

७८औं जिल्ला !

विकासले गति बाक्लिएपछि विस्तारै पहाडी मात्रै नभएर तराईका जिल्लाका मान्छे पनि यहाँ बसाइ सरी आउन थाले । भूगोलका हिसावले निकै सहज स्थानका रुपमा चिनियो चितवन । काठमाडौं जोड्ने गरी त्रिभुवन राजपथको विकल्पमा मुग्लिन-नारायणगढ सडकखण्ड बनेपछि चितवन अझै चम्कियो ।

पूर्व-पश्चिम राजमार्गसँग जोडिएर बुटवलसम्मको सहज पहुँच स्थापित भयो । यसले पनि चितवनप्रतिको रुचि बढ्दो थियो । पहाडको दुःख छोडेर समथर जमिन र फाँटमा खेती गर्ने समपना देख्नेहरुको लागि चितवन सबैभन्दा सजिलो विकल्प बन्यो ।

यहाँ त्यसपछि बसाइ सरेर आउने चाप यति भयो कि भरतपुरले मात्रै त्यसलाई धान्न सक्ने अवस्था थिएन । त्यसैकारण पूर्व तथा पश्चिम चितवनमा समथर भूभागमा पनि वन फाँड्दै बस्ती बस्यो ।

यहाँ ७७ जिल्लाबाटै बसाइ सरी आउने क्रम तीव्र भएपछि यसलाई ७८ औं जिल्ला समेत भनियो ।

बलियो ग्रामीण अर्थतन्त्र

बसाइ सरेर आउने धेरैले त्यतिबेला भरतपुरलाई पनि रोजेनन् । बढ्दो बस्तीका करण खेत कम भएकाले खेतिपाती गरी जीविका चलाउने योजना बनाएर आउनेहरु पश्चिम चितवनको माडी र मेघौली तथा पूर्वी चितवनको भण्डारासम्म फैलिए ।

तर, ती क्षेत्रका बासिन्दाको बजार भने नारायणढ नै रह्यो । त्यसका कारण नारायणगढमा समयक्रममा निकै ब्यापार व्यवसाय फस्टायो । ग्रामीण भेगमा कुखुरापालन व्यवसायले व्यवसायिक रुप लियो । धान र तोरी खेति यहाँको प्रमुख व्यवसायिक बाली बने । केरा खेतिमा पनि चितवन दरियो । पशुपालन र दुग्धजन्य व्यवसायले पनि यहाँको अथतन्त्रमा खम्बाको काम गरे । नेपालकै पहिलो सहमारी संस्थासमेत जन्माएर चितवनले आफ्नो ग्रामीण अर्थतन्त्रको फेरबदलमा नयाँ ढंगले काम गरेको सन्देश देश ब्यापी रुपामा दिन सफल भयो ।

ग्रामीण भेग कृषिमा आश्रित भयो भने भरतपुर क्षेत्रको अर्थतन्त्र ब्यापार व्यवसायले धान्यो । अहिले चितवनको अर्थतन्त्रको मेरुदण्ड पर्यटन पनि बनेको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा आउने स्वदेशी विदेशी पर्यटकले चितवनको सौराह, पटिहानी, मेघौली लगायतको क्षेत्रलाई गुल्जार गरेको छ । त्यसको फाइदा भरतपुरले पनि लिन पाएको छ । यहाँ होटल र रसेस्टुरेन्ट मात्रै ४ हजार भन्दा बढी रहेको होटल व्यवसायी राजेन्द्र पिया बताउँछन् ।

यहाँ राजमार्गमा यात्रुलाई लक्षित गरी खोलिएका होटलको संख्या ठूलो छ । स्तरीय पर्यटकीय होटल पनि सय भन्दा बढी छन् ।

भरतपुरको शहरी विकासको इतिहास पनि लामो छैन । वि.सं. ०३५ सालमा तत्कालीन भरतपुर गाउँ पञ्चायत र नारायणगढ गाउँ पञ्चायतलाई मिलाई भरतपुर नगर पञ्चायतको रूपमा रही ०४८ साल देखि भरतपुर नगरपालिकाको रूपमा घोषणा भयो ।

नगरपालिका घोषणा भएपछि यहाँका सडकसहितका पूर्वाधारमा स्तोरन्नति गर्ने क्रम बढ्यो । समग्र भरतपुरले योजनावद्ध विकास गर्न नसकेपनि भातपुर-७को कृष्णपुरमा नगर विकास आयोना बनएर काम गरिएको थियो । त्यसबाहेक अन्य स्थानमा भने स्वतःस्फुर्त बस्ती विकास भए र हुँदैछन् । अझै पनि भरतपुरमा धान खेत मासेर घडेरी बनाउने क्रम रोकिएको छैन ।

०७१ मंसिरमा भरतपुर नगरपालिकालाई आसपासका पाँच गाबिस मगंलपुर ,फुलबारी , गीतानगर , शिवनगर र पटिहानी  समावेश गरि भरतपुर उप- महानगरपालिकामा स्तरोन्नती गरिएको थियो  ।  ०७३ को फागुनमा भरतपुर उप-महानगरपालिकामा नारायणी नगरपालिका, चित्रवन नगरपालिका र कविलास गाबिस समेत थप गरेर भरतपुर महानगरपालिकामा स्तरोन्नति गरिएको छ ।

यो क्षेत्रमा अझै पनि बसाइ सरेर आउने क्रम अझै रोकिएको छैन । देशकै मध्यभागमा रहेकाले यसलाई धेरैले तान्ने गरेको छ । काठमाडौंबाट पनि आएर चितवनमा जमिन जोडेर राख्नेहरुको संख्या ठूलो छ ।

हाल बसाइँ सरेर आउनेहरु सकेसम्म भरतपुर नै आउन खोज्छन्  । सबै किसिमका शहरी सुविधा अहिले यहाँ उपलब्ध छन् । मध्य नेपालमा रहेका कारण सबैको चासोको ठाउँ नै यही बनेको छ ।

काठमाडौंको कोलाहलबाट मुक्ति चाहानेले पनि भरतपुरलाई विकल्प बनाएका छन् । ग्रामीण भेगबाट सहरी सुविधा खोज्दै आउनेहरुको यहाँ ठूलो चाप छ ।

मेडिकल सिटी, पोल्ट्रीको राजधानी

पवित्र नारायणी नदी किनार तथा प्रसिद्ध धार्मिक पर्यटकीयस्थल देवघाटधामको काखमा अवस्थित भरतपुर अहिले मेडिकल सिटीमा रुपमा पनि परिचित छ । यहाँ २८ भन्दा धेरै निजी अस्पताल छन् भने दुईवटा मेडिकल कलेज पनि छ । भरतपुर अस्पताल र भरतपुर क्यान्सर अस्पताल पनि यहाँ छन् ।

विभिन्न जिल्लाका बिरामीहरुको उपचारको केन्द्र बनेको यो शहरमा अझै पनि मेडिकल क्षेत्रमा लगानी बढ्दो छ ।

चितवनलाई ‘पोल्ट्रीको राजधानी’का रुपमा परिचित गराउन यहाँका किसानको ठूलो मिहिनेत छ । कुखुरा,, अण्डा र दाना उत्पादनको केन्द्र नै चितवन बनेको छ ।

लीलानाथ बाजेको भात होटलबाट सुरु भएको भरतपुरको व्यवसायिक यात्रा अहिले करोडौं लगानीको निर्माणाधीन चौधरी ग्रुपको सिजी मलसम्म आइपुगेको छ । अझै यो शहर आधुनिक र व्यवस्थित शहर बन्ने दौडमा छ ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment