Comments Add Comment

वीरमा रामकुमारको चित्कार : डायलोसिस गरिदिनुस्, यति भए एक हप्ता बाँच्छु !

वीर अस्पताल । सोमबार । दिनको १२ बजे ।

कसैले पेट समाएका छन्, कसैले टाउको । कोही उदास अनुहार बनाएर अस्पताल परिसरमा बसिरहेका छन् । कोही पिसावथैलीमा जडान गरिएको पाइप र पोका समाएर ओहोर–दोहोर गरिरहेछन् । कसैलाई स्टेचरमा दौडाइएको छ, कोही ओपीडीको टिकट काउण्टरअगाडि झुम्मिएका छन् । जहाँ लेखिएको छ, ‘चौथो दिन आकस्मिक बाहेकका अन्य सेवा बहिस्कार–सरकारी चिकित्सक संघ (गोदन) ।’

अस्पताल बन्द छ तर, चहलपहल बाक्लो छ । किनकी रोगले अस्पताल बन्द या खुला छ भनेर जान्दैन । रोगले मानिससँग पैसा छ या छैन भनेर पनि त हेर्दैन । त्यसैले गरीबले दिनदिनै अकालमा ज्यान गुमाइरहेका छन् ।

वीर अस्पतालको मुल भवनको भुईंमा तलामा एक महिला टुक्रुक्क बसेकी छिन् । उनको पहिरन हेर्दा मधेसी मुलको भन्ने अनुमान लगाउन गाह्रो हुन्न । एक्लै बसेकी उनी सुन्तला छोडाएर घाँटी भिजाउँदै छिन् ।

आफैं विरामी हुन् वा कुरुवा हुन् भन्ने जान्न खोज्यौं । उनलाई नेपाली भाषा बुझ्न हम्मेहम्मे पर्‍यो । उनले एक पुरुषतिर औंला देखाइन् ।

चैतको चर्को घाममा उनको कान र कपाल बाक्लो टोपीले ढाकिएको छ । शरीरमा निलो हुट र निलो ट्रयाक लगाएका उनको खुट्टामा बाटाको कालो चप्पल थियो ।

विरामी उनी रहेछन् । नामः रामकुमार राम । वर्ष ३३ । ती महिला उनीकी श्रीमती रहिछिन् ।

चिसो भुँईमा थ्याच्च बसेका छन् रामकुमार । मनौं, त्यो मार्वलको भुईं न्यानो न न्यानो छ । उनको पछाडि ब्लाङ्केटको प्याक छ, त्यसमै अडेस लगाएका छन् । छेउमा ठूलो जेब्राझोला । रामकुमारकी श्रीमती जेब्रा झोलामा केही खोज्न थालिन् । यसरी खोतल खातल गर्दा भाँडाको आवाज आयो । रेखाले झोलाबाट भाँडा होइन, मेडिकल रिपोर्ट निकालिन् ।

केही दिनअघि त्यो रिपोर्ट वीपी कोइराला मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले दिएको थियो । रिपोर्टमा भनिएको छ, ‘तिम्रो दुबै मिर्गौला फेल भएको छ ।’

अस्पतालले रिपोर्ट त दियो तर, भर्ना गर्ने विस्तरा दिएन । त्यसपछि उनीहरु आइतबार साँझ काठमाडौं आइपुगे । सोमबार विहानै सातबजे वीर अस्पतलमा पुगे र मुल ढोकानेरै बसे । रामकुमार भन्छन्, ‘डायलोसिस गर्नुपर्ने कति डाक्टरको हात पनि समातेँ । अहँ कसैले गदिएनन् ।’ उनी डायलोसिसकै आशमा यसरी चिसो भुईंमा बसिरहेछन् ।

०००

रामकुमारले नेपाल टेकेको मात्र १५ दिन भयो तर, १३ दिन वित्यो अस्पतालको खोजीमा ।

त्यसअघि उनी साउदीमा थिए । त्यहाँ भुईँ पुछ्ने काम गर्थे । उनले सफा गरेको भुईंमा मानिसहरु हिँड्थे । ६ वर्षदेखि निरन्तर भुईँसफा बनाइरहेका थिए रामकुमार ।

तर, उनको कामको गतिमा ब्रेक लाग्दै गएपछि अचानक कम्पनीले घर फर्काइदियो । साउदीलाई सफा गर्दा गर्दै रामकुमारलाई आफ्नै शरिरको पार्टपुर्जा बिग्रिएको थाहै भएन । त्यसैले साउदीको चर्को घाममा चुहाएको पसिनाको मूल्य एक लाख रुपैयाँ बोकेर स्वदेश फर्किए ।

सप्तरीको खड्ग नगरपालिका–२ मा २८ वर्षकी श्रीमती थिइन, दुई छोरा थिए । एउटा ११ वर्षका र अर्का ६ वर्षका । उनले छ वर्षअघि छोडेर गएका टालीको घर, अहिले पनि उस्तै थियो । साउदीको छ वर्षले १० कट्ठा जमिनमा वटिया (अधियाँ) गरेर अन्न भित्र्याउने पेसा पनि परिवर्तन गरेन ।

टालीको घर र दुई छोरा बुढी आमाको भरमा छाडेर रामकुमार दम्पत्ति धरान हुँदै वीर अस्पतालमा आइपुगेका छन् । रामकुमारको स्वास्थ्य उपचारमा धरानमा ५० हजार रुपैयाँ सकियो । त्यसपछि ऋण खोजेर अर्को ५० हजार बोकेर काठमाडौं आइपुगेका छन् ।

०००

काठमाडौंको गेस्ट हाउसले उनको ५० हजारबाट तीन हजार चुँडेर लगिसकेको छ । गाडी भाडाले पनि केही रकम खायो । रामकुमार दम्पतीसँगै थप दुई जना सहयोगी पनि छन् । तर, उपचार गर्ने लालसामा वीरमा पुगेपछि मात्र उनीहरुले थाहा पाए कि अस्पतालको सेवा बन्द भएको छ ।

रामकुमारले भने राम्रोसँग पाइला सार्न सक्दैनन् । उनको सहयोगी सेवा खोज्दै भौतारिए, अहँ ! कसैले पनि सहयोग गरेन । आकस्मिक कक्षमा पुगे, त्यहाँ छिर्नै दिएन ।

उनले सेतो कोट लगाएका दुई तीन जना मानिस देखे । उनलाई थाहा छ, अस्पतालमा सेतो कोट डाक्टरले लगाउँछन् । रामकुमार डायलोसिस गरिदिनुस् भन्दै डाक्टरको हात समाउन पुगे । अहँ ! कसैले डायलोसिस गरिदिएनन् । रामकुमारले सुकेको ओठ उप्काउँछन्, ‘नियमित डायलोसिस गर्नुपर्छ, एक हप्ता भयो डायलोसिस नगरेको । सर ! डायलोसिस गराइदिनुहोस् । यति भए एक हप्ता बाँच्छु ।’

रामकुमार त्यति चर्को बोल्न सक्दैनन् । तर, उनको अनुहारमा बेचैन प्रष्टै देखिन्छ । घरि वरिपरि घेरिएको भीडलाई हेर्छन्, घरि आफ्नो श्रीमतीको अनुहार नियाल्छन् । रामकुमार अकस्मात झर्किए, ‘देशको ठूलो अस्पताल भनेर आएको । डाक्टर कहाँ गएपछि धकेलेर पठाइदिन्छन् । कसैले मतलवै गर्दैन । यस्तो भएपछि कसरी दिमागले काम गर्छ ?’

उनकी श्रीमती रेखा चुप छिन् । मनमनै सोचिरहेकी होलिन्, ‘जिन्दगीले पनि कस्तो कस्तो मोडमा पुर्‍याउँछ ?’

रामकुमारतर्फ अर्को एउटा प्रश्न फ्याँके, ‘यति दुःख पाउनुभएको छ, नेपाल रमाइलो लाग्छ कि विदेश नै ठिक ?’

रामकुमारले रत्तिभर नसोची जवाफ दिए, ‘अरुको देश कसरी राम्रो लाग्छ ? जति नै दुःख खेप्न किन नपरोस्, मानिसलाई आफू जन्मेकै माटोको वास्ना मिठो लाग्छ ।

०००

रामकुमारलाई केही सहयोग गर्न सकिन्छ कि भनेर वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीको नम्बर डायल गर्‍यौं । उनले जवाफ फर्काए, ‘म मिटिङमै छु । एउटा मिटिङ सकेर अर्को मिटिङमा गर्दैछु ।’

तर, हामीलाई डा. केदार भेट्नु नै थियो । भन्यौं, ‘डा. साव ! मात्र दुई मिनेट ।’

डा. केदार केहीछिन रोकिए र भने, ‘न्याम्स विल्डिङको तीन तलामाथि आउनुहोस् ।’

त्यहाँ डाक्टरहरुको भिड थियो । भीड छिचोलेर कोठाभित्र पुर्‍यौं, जहाँ डा. केदार सरकारी चिकित्सक संघको टोलीसँग वार्तामा थिए । त्यही संघ हो, जसले कर्मचारी समायोजनमा चित्त नबुझेपछि स्वास्थ्य सेवा ठप्प पारेको छ ।

केदार वार्तावाट केहीछिन वाहिर निस्किए । एक सेकेन्ड पनि नरोकी मैले भनेँ, ‘एक जना डायलोसिस गर्ने विरामी अस्पताल बाहिर छटपटिनुभएको छ । जीवन–मोरणको दोसाँधमा हुनुहुन्छ । डायलोसिस गरिदिनुपर्‍यो ।’

डा. केदारले भने, ‘उहाँलाई आकस्मिक कक्षमा पुर्‍याउनुहोस् । डायलोसिस भइहाल्छ ।’

आकस्मिक कक्षमा पुग्यौं, डा. ओजिरसँग जम्काभेट भयो । उहाँलाई भन्यौं, ‘डा. केदारलाई भनिसकेँ । जीवन मरणको दोसाँधमा रहेका एक जना विरामीको डायलोसिस गरिदिनुपर्‍यो ।’ डा. ओजिरले भने, ‘लिएर आउनुहोस् ।’

बल्लतल्ल रामकुमार अस्पतालको आकस्मिक कक्षमा पुगे । बेडमा बस्दा उनको अनुहारमा थोरै भएपनि खुसी देखियो । भने, ‘अब त बाँच्छु कि !’

आफ्नै देशमा शरीरका उपचार पाउन पनि यति ठूलो संघर्ष गर्नुपर्ने ! कस्तो विडम्बना ।

०००

रामकुमारले त उपचार पाए तर, उपचार पाउनका लागि बन्द ढोका कुरेर बसिररहेका विरामी देशभर छन् । डाक्टरहरुको कतिपय माग जायज होलान् तर, आफ्नो माग पूरा गराउने नाममा जीवन मरनको दोसाँधमा रहेको विरामीलाई समेत ख्याल नगरी आन्दोलन गर्नु कति जायज होला ?

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment