+

बेंगलुरु घटना : आरसिबीले ‘बिना अनुमति’ उत्सवको आयोजना गर्दा घटना घटेको ठहर

२०८२ असार  १७ गते २१:५१ २०८२ असार १७ गते २१:५१
बेंगलुरु घटना : आरसिबीले ‘बिना अनुमति’ उत्सवको आयोजना गर्दा घटना घटेको ठहर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सीएटीले आरसीबीलाई अनुमति नलिई विजय उत्सव आयोजना गरेको ठहर गरेको छ।
  • रंगशालामा कार्यक्रम गर्न कानुनी अनुमति आवश्यक भए पनि नलिएको पाइयो।
  • घटना पछि निलम्बित भएका प्रहरी अधिकारीहरूलाई पुनर्बहाली गरिएको छ।

१७ असार, काठमाडौं । गत महिना रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलोपटक आईपीएलको उपाधि जितेपछि उत्सव मनाउने क्रममा भएको भागदौडमा ११ जनाको ज्यान गएको र ५० भन्दा बढी घाइते भएको घटनामा केन्द्रिय प्रशासनिक अधिकरण (सीएटी) ले आरसीबी फ्रेन्चाइजलाई मुख्य जिम्मेवार मानेको छ।

सीएटीको दुई सदस्यीय इजलास — न्यायाधीश बीके श्रीवास्तव र सन्तोष मेहराले दिएको २९ पृष्ठ लामो आदेशमा आरसीबीले कुनै अनुमति नलिएर विजय उत्सव आयोजना गरी ‘अव्यवस्था’ सिर्जना गरेको ठहर गरिएको समाचार संस्था इएसपीएन क्रिकइन्फोमा उल्लेख छ।

आरसीबीको स्वामित्वमा रहेको डियाजियो र त्यसको इभेन्ट व्यवस्थापन साझेदार कम्पनी डीएनए नेटवर्कले चिन्नास्वामी रंगशालामा कार्यक्रम गर्न कुनै कानुनी अनुमति नलिएको आदेशमा उल्लेख छ। बेंगलुरु सहरमा यस्तो सार्वजनिक सभा वा जुलुस गर्न कम्तीमा ७ दिनअघि आवेदन दिनुपर्ने नियम छ।

सीएटीले उल्लेख गरेअनुसार आरसीबीले जून ४ को बिहान ७:०१ बजे सामाजिक सञ्जालमार्फत ‘विजय जुलुस बेंगलुरुमा हुँदैछ’ भन्ने सूचना दिइरहेका थिए। त्यसपछि पनि विराट कोहलीको सन्देशसहित पोस्टहरू गरेर ५ बजे विजय जुलुस र रंगशालाभित्र उत्सव हुने घोषणा गरिएको थियो।

आरसीबीले नि:शुल्क पास वितरण हुने भने पनि पास वितरण प्रक्रिया प्रस्ट नगर्दा कार्यक्रम ‘सबैका लागि खुला’ हो भन्ने बुझाइ भएको सीएटीको ठहर छ।

त्यसको परिणामस्वरूप रंगशालाबाहिर अनुमानित तीनदेखि पाँच लाख मानिसको भिड जम्मा भयो, जब कि रंगशालाको क्षमता मात्र ३५,००० हो।

उक्त घटनामा कर्तव्यपालनमा चुकेको देखाउँदै बेंगलुरु पश्चिम क्षेत्रका अतिरिक्त प्रहरी आयुक्त विकास कुमारसहित पाँच जना प्रहरी अधिकारीलाई कर्नाटक सरकारले निलम्बन गरेको थियो। तर विकास कुमारले सीएटीमा त्यसविरुद्ध मुद्दा हालेपछि अधिकरणले सरकारको निर्णय खारेज गर्दै उनलाई पुनर्बहाली गर्न आदेश दिएको छ।

सीएटीले भनेको छ — आरसीबीले अन्तिम समयमा पत्र बुझाए पनि प्रहरीको अनुमति नपर्खी कार्यक्रम अघि बढायो। प्रहरीले त्यस बेलासम्म अन्य सुरक्षा व्यवस्थामा व्यस्त भएकोले भिड नियन्त्रणमा असक्षम रह्यो।

बेंगलुरुले पञ्जाब किङ्सलाई फाइनलमा हराउँदै पहिलोपटक आईपीएल क्रिकेटको उपाधि जितेको थियो ।

बेंगलुरु घटना रोयल च्यालेन्जर्स बेंगलुरु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय