+
+
Shares

सामाजिक सञ्जालमा ‘मुख छाड्ने’ विरुद्ध सेलिब्रेटीको दह्रो प्रतिकार

सापेक्ष सापेक्ष
२०८२ असार १७ गते २१:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायिका एलिना चौहानले फेसबुकमा ९ लाख ६८ हजार फलोअर्स सहित व्यक्तिगत आक्रमण गर्नेहरूलाई सार्वजनिक गरिरहेकी छन्।
  • सामाजिक सञ्जालमा कलाकारहरूले गरेको यस कदमले बहस र समर्थन दुवै ल्याएको छ, प्रधानमन्त्रीले समेत समर्थन व्यक्त गरे।
  • तर, यसले सामाजिक दबाब र नैतिक प्रश्नहरू उठाएको छ, गाली गर्ने र चरित्र हत्या गर्ने प्रवृत्तिलाई रोक्न आवश्यक रहेको छ।

हाल गायिका एलिना चौहानको फेसबुकमा ९ लाख ६८ हजार फलोअर्स छन् । सञ्जालबाट उदाएकी उनी सञ्जालमा पनि उत्तिकै सक्रिय हुन्छिन् । तर उनले गरिरहेका पछिल्ला केही पोस्टहरू हेर्दा लाग्छ, के भइरहेको छ यहाँ ? उनको प्रोफाइलमा केही स्क्रोल गर्दा निश्चित हुन्छ-उनी युद्धमा छिन् ।

सञ्जालको कारण युद्ध पनि सञ्जालमै भइरहेको छ । अर्थात्, आफूलाई गाली बेइज्त गर्नेहरू विरुद्ध उनले प्रतिकार गरिरहेकी छिन् ।

विगतमा उनले त्यस्ता सञ्जाल प्रयोगकर्ताहरूलाई संयम अपनाउन चेतावनी दिँदै आइरहेकी थिइन् । तर व्यक्तिगत रूपमा आक्रमण नरोकिए पछि उनले युद्धको औपचारिक घोषणा नै गरिन् । र, रणभूमिमा उत्रिइन् ।

गत ११ असारमा उनको एउटा फेसबुक पोस्ट छ । त्यसमा लेखिएको छ, ‘कमेन्टहरूको अत्याचार धेरै भयो । अब पालैपालो पोस्ट गर्छु । भाइरल हुन मन लाग्नेहरू… है’

त्यसयता उनले विभिन्न व्यक्तिहरूको फोटो सार्वजनिक गरिरहेकी छिन् । सँगै उनीहरूले गरेका अभद्र, अश्लील कमेन्टहरू पनि राखिरहेकी छिन् ।

‍यो समाचार तयार पार्दासम्म १७ बढी त्यस्ता व्यक्तिलाई उनले सार्वजनिक गरिसकेकी ‍छिन् । तिनमा युवायुवती दुवै छन् । झट्ट हेर्दा लाग्छ, उनको यो कदम रोकिन्न ।

000

अर्की गायिका समीक्षा अधिकारी पनि यसै युद्धमा होमिएकी छिन् । उनले पनि ५ लाख बढी फलोअर्स भएको पेजबाट आफूलाई तथानाम गाली गर्नेहरूलाई सार्वजनिक गरिरहेकी छिन् । तुलनात्मक रूपमा उनले तीर भने कम चलाइरहेकी छिन् ।

तर यस्तो गर्ने उनीहरू दुई मात्र छैनन् ।

गत वैशाखमा अभिनेत्री सुरक्षा पन्त एक टेलिभिजन अन्तर्वार्तापछि विवादमा तानिएकी थिइन् । उनको बचाउमा समर्थन गर्दा ऋचा शर्मा सामाजिक सञ्जालमा हुने दुर्व्यवहारमा पर्न पुगिन् । तर त्यस्तो गर्नेलाई उनले तत्कालै सञ्जालबाट सार्वजनिक गरिदिइन् । उनको त्यस्तो कदमपछि गाली गर्नेहरूले सार्वजनिक रूपमा माफी नै माग्नु परेको थियो ।

सम्भवत: नेपालको सन्दर्भमा सञ्जालमा अभद्र कमेन्ट/मेसेज गर्ने प्रयोगकर्तालाई कलाकारहरूले सार्वजनिक गर्ने ट्रेन्ड त्यहीँबाट सुरु भएको हो ।

000

तर एलिना-समीक्षाको यो कदम प्रधानमन्त्री स्तरमै पुग्यो । आजकल प्रधानमन्त्री केपी शर्मा ओलीले देशका सेलिब्रेटीहरूको गतिविधिलाई नजिकबाट हेरिरहेको भान हुन्छ ।

हालै प्रधानमन्त्री ओलीले दुर्गेश थापा र जोन चाम्लिङ राईलाई सञ्जालबाटै बधाई दिएका थिए । यता एलिना-समीक्षालाई ‘साहसी छोरीहरू’को उपमा दिँदै उनले गत १४ असारमा भावुक पोस्ट लेखे ।

‘… गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने यी दुई गायिकाको तरिका सही लाग्यो । समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो । राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन’ प्रधानमन्त्री ओली (सम्भवत सचिवालय)ले लेखिदिए ।

यद्यपि त्यस पोस्टको मुनि सान्त्वनाभन्दा बढी गाली नै देखिन्छ । अनि प्रधानमन्त्री ओलीको उक्त पोस्ट यति फितलो भयो कि गायिका समीक्षाले उल्टै ब्याक फायर हानिन् ।

‘ …. त्यो पोस्टको मसी सुक्न नपाउँदै हजुरकै अत्यन्त विश्वास पात्र महेश बस्नेतज्यूले कुनै घटनाबाट आफूलाई चोख्याउन मेरो चरित्र हत्या हुने गरी अनेक कुरा लेख्नुभएको देख्दा म अत्यन्त विक्षिप्त बनेकी छु …’ प्रधानमन्त्री ओलीले पोस्ट गरेकै दिन समीक्षाको पोस्टमा लेखिएको छ ।

उनको उक्त पोस्टको पृष्ठभूमि भने त्यसअघि एमाले नेता महेश बस्नेतले बलात्कार पीडितका लागि कठोर न्याय हुनुपर्छ भन्दै गरेको पोस्टमा अप्रत्यक्ष तरिकाले समीक्षाको नाम जोडेका थिए । खैर, भावुक पोस्ट गरेर प्रधानमन्त्री ओली स्पेन तिर लागे । सायद त्यसैले हुन सक्छ, समीक्षालाई उनले जवाफ दिन फुर्सद पाएका छैनन् ।

000

तर जे जस्तो भए पनि सेलिब्रेटीहरूको यो कदमले एउटा बहस छेडेको छ । धेरैले समर्थन पनि गरिरहेका छन् । अनि सेलिब्रेटीहरू (विशेषगरी: एलिना) वार कि पार गर्ने मनस्थिति बनाएर लागिरहेको देखिन्छ ।

आज मात्रै उनले गृहमन्त्री रमेश लेखकसँग भेट गरेकी छिन् । अनि हिजो (सोमबार) आफ्नो चरित्रहत्या गर्ने चार जना व्यक्तिविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गराएकी छिन् ।

त्यस्तै हिजो नै उनले एउटा पोस्ट गरेकी छिन्, ‘यो लडाईं मेरो मात्र होइन । चरित्र हत्या गर्ने अधिकार कसैलाई छैन । साथ दिनुहोला’ पोस्टमा उनले लेखेकी छिन् । यसका साथै रेखा थापा लगायतका सेलिब्रेटीहरूले पनि यस युद्धमा साथ दिएको देख्न सकिन्छ ।

यद्यपि उनी यस अभियानमा केही नरम पनि देखिन्छिन् । गत १३ गते पोस्ट गरेको भिडिओमा गाली खान आफू कलाकार नबनेको बरु दर्शक/श्रोताहरूलाई मनोरञ्जन दिन बनेको बताएकी छिन् । त्यस्तै सिर्जना मन नपरे आफूलाई नसुन्न पनि आग्रह गरेकी छिन् ।

‘घरको तनाव, रक्सी खाएपछिको तनाव पोख्ने ठाउँ हामी होइनौं, उनले भनेकी छिन्, ‘चित्त नबुझे हामीलाई ब्लक गर्न सक्नुहुन्छ । व्यक्तिगत कुरामा आएर गाली गर्नेहरू चाहिँदैन’

खासमा लाखौं फलोअर्स भएका कलाकारहरूले प्रयोगकर्ताहरूको जानकारी सार्वजनिक गरिदिँदा उनीहरूलाई सामाजिक दबाब पर्न जान्छ । सँगै त्यस्ता प्रयोगकर्ताहरूलाई समर्थकले गाली गर्न सक्छन् । यो एउटा नैतिक हतियार पनि हो । त्यसको नतिजा पनि केही देखिसकेको छ ।

तर, प्रश्न त खड्किरहन्छ – कुनै कुनामा बसेर सम्बन्धित नै नभएको व्यक्तिलाई गाली गर्ने कहिलेसम्म ?

लेखक
सापेक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?