+
+
Shares

विद्याको पुनरागमन घोषणामा बादलको अर्थपूर्ण उपस्थिति

पार्टी कार्यक्रमहरू बाहेक अन्य गतिविधिमा हत्तपत्त नदेखिने र नबोल्ने स्वभावका कारणले पनि त्यसदिन उनी सभागृहमा देखिनुलाई चासोका साथ हेरिएको बुझ्न सकिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १७ गते २१:५०

१७ असार, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्कने घोषणा गरेसँगै नेकपा एमालेभित्रको शक्ति-समीकरण बदलिएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निर्विकल्प रहेको एमालेभित्र पूर्वराष्ट्रपति भण्डारी वैकल्पिक नेतृत्वका रुपमा अगाडि आएकी छन् । अहिले एमालेभित्र ओलीलाई नै निरन्तरता दिने र नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षधरबीच बहस सुरु भएको छ ।

ओली निकटस्थहरुले नेतृत्वको विकल्प खोज्ने बेला नभएको तर्क गरिरहेका छन् । तर पूर्वराष्ट्रपति भण्डारी निकटस्थहरूले ओलीको विकल्प आवश्यक रहेको तर्क सहित नयाँ नेतृत्वको पहल थालिसकेका छन् ।

पूर्वराष्ट्रपति भण्डारी शितल निवासबाट फर्किएपछि बाक्लिदै गएको नेतृत्व परिवर्तनको एजेण्डा गत १४ असारदेखि सतहमै आएको छ । मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसर पारेर पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रिय सभा गृहबाट एमालेको सक्रिय राजनीतिमा पुन: फर्किएको घोषणा सँगै पार्टी नेतृत्व परिवर्तनको बहस सतहमा आएको हो ।

सँगै, एमाले नेता–कार्यकर्ताहरुको कित्ताकाँट पनि सुरु भएको छ । महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहितका नेताहरू ओलीको बचाउमा उत्रिएका छन् ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष युवराज ज्ञवालीले खुलेरै पूर्वराष्ट्रपति भण्डारीलाई साथ दिएका छन् । दुवै जनाले सार्वजनिक कार्यक्रम र अन्तर्वार्ता मार्फत् पूर्वराष्ट्रपति भण्डारीले एमालेको राजनीतिमा आउन पाउने तर्क गरिरहेका छन् । तर अरु धेरै पदाधिकारी र नेताहरू भने खुल्नै बाँकी छ । ‘कता उभिने भन्नेमा नेताहरू ठूलो अलमलमा हुन्छ । तर एउटा लाइनमा उभिनैपर्ने भएकाले नेताहरुलाई सकस होला’, एक नेता भन्छन् ।

एमाले नेताहरूलाई यस्तो सकस परिरहेका बेला उपाध्यक्ष रामबहादुर थापा बादल भने राष्ट्रिय सभागृहको कार्यक्रममा देखिए । तत्कालीन नेकपा फुट्दा माओवादी छोडेर ओलीतर्फ उभिएका नेता बादललाई राष्ट्रिय सभागृहमा त्यसदिन देखिनुलाई एमाले पंक्तिमा चासोका साथ हेरिएको पाइन्छ ।

पार्टी कार्यक्रमहरू बाहेक अन्य गतिविधिमा हत्तपत्त नदेखिने र नबोल्ने स्वभावका कारणले पनि त्यसदिन उनी सभागृहमा देखिनुलाई चासोका साथ हेरिएको बुझ्न सकिन्छ । अझ त्यो सभाबाटै विद्या भण्डारीले एमाले राजनीतिमा फर्कने घोषणा गर्ने सूचना सार्वजनिक भइसकेको थियो ।

‘पार्टी कार्यक्रमहरूमा समेत छानेर जाने नेता हो, उहाँ । तर एमाले नेतृत्वको विकल्पमा विद्या भण्डारी आउने घोषणा हुने कार्यक्रममा जानुभयो, यसलाई अर्थपूर्ण रुपमै लिनुपर्छ’, एमालेका एक नेता भन्छन् ।

सभागृहको त्यो कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीलाई साथ दिने पक्षका पदाधिकारीहरू मात्रै सहभागी भएकाले पनि बादलको उपस्थिति अर्थपूर्ण देखिन्छ । त्यो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट र रघुवीर महासेठ सहभागी थिए । यी पदाधिकारीसँग थिए, बादल ।

उच्च स्रोतका अनुसार, बादललाई त्यो कार्यक्रममा आउन पूर्वराष्ट्रपति भण्डारीले नै आग्रह गरेकी थिइन् । जुन निम्तो मानेर सभा गृहमा सहभागी भए । ‘सम्माननीयसँगै कुरा भएर उहाँ त्यो कार्यक्रममा आउनुभएको हो, अरु कुनै कुरा भए जस्तो लाग्दैन । धेरै अनुमान गर्न पनि आवश्यक छैन’, भण्डारी निकट एक नेता भन्छन् ।

नेकपाको एकता भंग भएपछि एमालेतर्फ उभिएका बादलले अहिलेसम्म पार्टीभित्रको अन्तरसंघर्षमा भने बोलेका छैनन् । बागमती प्रदेश इन्चार्ज, कुटनैतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा संयोजन, कृषि तथा उद्यमशीलता सम्बद्ध विभागहरूको संयोजन जस्ता जिम्मेवारीमा रहँदै आएका बादल पार्टीकै धेरै कार्यक्रमहरूमा पनि देखिने गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?