News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने जघन्य अपराधका दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न राज्य संयन्त्रले तदारुकता देखाउनुपर्ने बताइन्।
- उनले घरेलु हिंसा, एसिड आक्रमण, यौन दुर्व्यवहार, बलात्कार तथा हत्या घटनाले समाजलाई कलंकित बनाएको उल्लेख गरिन्।
- पूर्वराष्ट्रपतिले नागरिक समाज र महिला अधिकारवादी संगठनको भूमिका महत्त्वपूर्ण भएको र नयाँ पुस्तालाई न्याय, समानता र स्वतन्त्रताको मार्गमा अगाडि बढाउन प्रेरित गर्नुपर्ने बताइन्।
२८ फागुन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने जघन्य अपराधका दोषीहरूलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न राज्य संयन्त्रले तदारुकता देखाउनुपर्ने बताएकी छन् ।
११६औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली महिलाहरू अझै पनि सुरक्षित र सम्मानित रूपमा बाँच्न पाउने आधारभूत मानव अधिकारबाट वञ्चित हुनुपरेको भन्दै चिन्ता व्यक्त गरिन् ।
समाजमा बढ्दै गएको घरेलु हिंसा, एसिड आक्रमण, यौन दुर्व्यवहार, बलात्कार तथा हत्या जस्ता घटनाहरूप्रति लक्षित गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्ता अमानवीय कार्यले सिंगो समाजलाई नै कलंकित बनाएको उनले बताइन् ।
अपराधीहरूले उन्मुक्ति पाउने वा कानुनी छिद्रको प्रयोग गरेर उम्कने अवस्थाको अन्त्य हुनुपर्नेमाउनले जोड दिइन् । राज्यको ध्यानाकर्षण गराउन र पीडितलाई न्याय दिलाउन नागरिक समाज र महिला अधिकारवादी संगठनहरूको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ ।
उनले भनिन्, ‘बलात्कार र हत्या जस्ता जघन्य अपराधमा संलग्न व्यक्तिहरू विरुद्ध हदसम्मको कानुनी कारबाही गर्न राज्यले तदारुकता देखाउनु आवश्यक छ । यसका लागि नागरिक समाज र महिला संगठनहरुले निरन्तर आवाज उठाइरहनु अपरिहार्य छ । त्यसैले आज हामीले भूमिगत राजनीतिमा संलग्न अग्रज महिलाहरुको शाहस र समर्पणबाट प्रेरणा लिँदै नयाँ पुस्तालाई समेत न्याय, समानता र स्वतन्त्रताको मार्गमा अगाडि बढाउन प्रेरित गर्नुपर्छ भन्ने मलाई लाग्दछ।’
विगतमा महिला अधिकारका लागि लडेका योद्धाहरूको स्मरण गर्दै उहाँले नयाँ पुस्ताले पनि न्याय, समानता र स्वतन्त्रताको पक्षमा निरन्तर खबरदारी गरिरहनुपर्ने आवश्यकता औंल्याए ।
प्रतिक्रिया 4