Comments Add Comment

जग्गा अतिक्रमण रोक्न कुलमान आफैं क्रेन लिएर बालाजुको सब-स्टेशन पुगे


३० चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ जग्गा अतिक्रमण रोक्न क्रेन लिएर आफैं बालाजु पुगेका छन् । प्राधिकरणको सब-स्टेशन र ग्रामीण विद्युतीकरण निर्देशनालय रहेको जग्गामा अतिक्रमण गरेर स्थानीयले बाटो बनाएको खबर पाएपछि कुलमान आफैं त्यहाँ पुगेका हुन् ।

उनले प्राधिकरण स्वामित्वको जग्गामा अनुमति नलिई बनाउन लागिएको बाटो रोक्न क्रेनको सहयोगमा पोलहरु तेर्स्याए । जग्गा अतिक्रमकारीहरुले रोक्ने प्रयास गरे तर, सुरक्षा बलका साथ पुगेका घिसिङ आफैंले क्रेनलाई कुनै हालतमा नरोक्न निर्देशन गरिरहे र, पीच गर्न ठिक्क पारिएको बाटोमा पोलहरुको अवरोध राखेर फर्किए ।

बालाजुको प्राधिकरणको सब-स्टेशन रहेको जग्गामा भएको अतिक्रमण रोक्न घिसिङ आफैं पुग्दा स्थानीयहरु चकित भएका थिए ।

बालाजुमा प्राधिकरणको ३६ रोपनी दुई आना जग्गा छ । तर, त्यहाँ पछिल्लो समयमा घर तथा टहरा बनाएर अतिक्रमण भइरहेको छ । अतिक्रमण रोक्न प्राधिकरणले दायर गरेको रिटमा जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले प्राधिकरणकै पक्षमा फैसला समेत सुनाएको छ ।

विद्युत् प्राधिकरणले बुधबारबाट आफ्नो स्वामित्वका जग्गामा भएको आनाधिकृत अतिक्रमण हटाउने अभियान सुरु गरेको छ । कार्यकारी निर्देशक घिसिङ प्रवक्ता प्रबल अधिकारीसहित उच्च अधिकारी लिएर बालाजु पुगेका थिए ।

उनले अब प्राधिकरणका अतिक्रमणमा परेका सबै जग्गाहरु हडपेर बस्नेहरुलाई हटाउने र आफ्नो जग्गा फिर्ता लिने घोषणा गरेका छन् ।

नयाँ वर्षसँगै यसको थालनी भएको भन्दै उनले अतिक्रमणबाट जोगाउन काँडेतारसहित कम्पाउण्डिङ गर्ने बताएका छन् । प्रवक्ता अधिकारीले भने, ‘हाम्रो धेरै जग्गा अतक्रमणको चपेटामा छन्। अब हामी बालाजुको मात्रै होइन, देशभरका आफ्ना जग्गालाई अरुको बलमिच्याइँका भरमा  कसैलार्इ प्रयोग गर्न दिन्नौं ।’

अधिकारीले एक महिनाभित्रै बालाजुको सब-स्टेशनलाई तारबार गर्न लागत तयार गरेर काम सुरु गर्ने बताए । अब प्राधिकरणले यस्ता अतिक्रमण हटाउन पनि तीव्रता दिने उनको भनाइ छ ।

‘हाम्रो जग्गामा भएको अतिक्रमण अब सैह्रय हुने छैन, हामीले अब एक्सन लिन थालेका छौं’ अधिकारीले भने, ‘स्थानीयले पनि अतिक्रमणकारी हटाउन साथ दिनेछन् भन्नेमा हामी विश्वस्त छौं ।’

प्राधिकरणले अब अाफ्ना जग्गाहरू खोज्न अभियान नै थाल्ने तयारी गरेको छ । अतिक्रमण भएका जग्गा फिर्ता लिएरै छाड्ने अधिकारीले बताए ।

उनले अब प्राधिकरणलार्इ अब अाफ्ना संरचना विस्तार गर्न प्रशस्त जग्गा चाहिने भएकाले योजनावद्ध रूपमा अतिक्रमण हटाउने  र जग्गा संरक्षण गर्ने काम थाल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment