Comments Add Comment

भूकम्प पीडितको टहरोमा प्राधिकरण प्रमुखको बास, गुनासो सुन्न दोभाषे चाहियो

१ बैशाख, काठमाडौं । पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत डा. गोविन्द्रराज पोखरेल भूकम्पबाट अति प्रभावित जिल्ला सिन्धुपाल्चोकको दुर्गम गाउँ सेलाङ पुगेर फर्किएका छन् । उनी त्यहाँ भूकम्पपीडितको टहरोमा एक रात बास बसेर राजधानी फर्किएका हुन् ।

सिन्धुपाल्चोकको चौतरादेखि करिब साढे दुईघण्टा कच्ची मोटरबाटो हुँदै पोखरेल विकट गाविस सेलाङ पुगेका हुन् । अघिल्लो दिन पेटमा समस्या देखिएपछि नर्भिक अस्पतालमा उपचार गराएका उनलाई चिकित्सकले खानपानमा विशेष ध्यान दिनु र केही दिन कामको तनावलाई कम गर्न सुझाव दिएका थिए ।

चिकित्सकको सुझाव दुई दिनपछि पालना गर्छु भन्दै कार्यकारी अधिकृत पोखरेलले भूकम्प पीडितको अस्थायी टहरामा बास बस्ने गरी सिन्धुपाल्चोकको सेलाङ पुगे । जिल्लाको विकट गाविसमा जोखिमयुक्त वस्तीमा बस्न बाध्य भूकम्प पीडितहरुको कुरा सुन्न उनी सेलाङ पुगेका हुन् ।

दुई घण्टाको कच्ची बाटोबाट मोटरमा साँझको करिब ७ बजेतिर सिन्धुपाल्चोकको सेलाङस्थित काफ्ले डाँडा पुगेपछि पोखरेलले भूकम्पपछिको वास्तविक पीडा र वेदना प्रत्यक्ष देखे । सेलाङवासीले आफ्ना पीडाहरु पोखे ।

‘यो वस्तीमा हामीलाई बस्न मन छैन सर, स्थानीय माइला तामाङले गुनासो पोखे, ‘हामी सबै सुरक्षित ठाउँमा सर्न चाहन्छाैं, वस्ती माथिको पहाड चिरा परेको छ कतिबेला ढुंगा झरेर मरिन्छ जस्तो लाग्छ ।’

पोखरेलले भूकम्प पीडितहरुको समस्या र गुनासोबारे अबेर रातिसम्म भलाकुसारी गरेका थिए । पोखरेलले स्थानीय पीडितलाई सान्तवना दिँदै भने नआत्तिनुहोस् तपाईहरुको पीडालाई प्रत्यक्ष महसुस गर्न म सिंहदरबारका सबै कामलाई दुई दिनका लागि स्थगित गरेर यहाँ आएको हुन् ।

स्थानीयको गुनासो र भूकम्पपछिको अवस्थामा उनीहरुले भोगेको पीडालाई प्रत्यक्ष महसुस गरेका पोखरेलले भावुक हुँदै भनेे- सिंहदरबारमा कागजी प्रक्रिया पूरा गरेर निर्णय गराउँदैमा वास्तविक भूकम्प पीडितको समस्यालाई बुझ्न नसिकिँदो रहेछ । आज मैले तपाईहरुको वस्तीमा आएर धेरै कुरा बुझ्ने मौका पाएँ ।

पोखरेलले त्यहाँ पीडित परिवारसँग भेटेर जतिसक्दो छिटो यो जोखिमयुक्त वस्तीबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहल गर्ने प्रतिवद्धता जनाए । उनी एक रात भूकम्पपीडितको गुनासो सुन्दै उनीहरुसंगै घरमा बाँधिएका चौपायासहितको अस्थायी टहरामा रात बिताए ।

सेलाङको वडा नम्वर ७ मा एक रात बिताएपछि अर्काे दिन बिहानै पोखरेल उक्त गाउँको वडा नम्वर ८ पुगे । करिब ४८ घरधुरी रहेको वडा नम्वर ८ सबै तामाङवस्ती हो । अधिकांश नेपाली भाषा बोल्न नजान्ने तामाङवस्तीका धेरैले दोभाषे मार्फत सीइओ पोखरेलसँग आफ्ना गुनासा राखे ।

न बिजुली, न पानीको सुविधा, सञ्चार सम्पर्कबाट पुरै विच्छेद भएको सेलाङको वडा नम्वर ८ स्थित सेप गाउँ जहाँ भूगर्वविदहरुको टोलीले उक्त वस्ती जोखिमयुक्त भएकाले स्थानान्तरण गर्न सुझाव दिइसकेको छ ।

त्यो वस्तीमा अस्थायी टहरा हालेर बसिरहेका पीडितले पनि जतिसक्दो छिटो सुरक्षित स्थानमा सर्न चाहेको बताए ।

सीइओ पोखरेलले भने- तपाईहरुजस्ता सबै भूकम्प पीडितको समस्यालाई झनै नजिकबाट नियाल्न पाएँ, अस्थायी टहरामा बसेका पीडितहरुलाई छाना, नाना र खानाको जतिसक्दो छिटो उचित व्यवस्थापन गर्न मैले आफ्नो बलवुताले भ्याएसम्म काम गर्नेछु ।


जिल्लामा फर्किएर निर्देशन

त्यहाँबाट फर्किएपछि जिल्लास्थित शहरी बिकास तथा भवन निर्माण विभागका प्रमुख लगायत सरोकावाला निकाय र प्रमुख जिल्ला अधिकारीलाई भेला गरेर डा. पोखरेलले, जोखिमयुक्त वस्तीमा बसेका भूकम्प पीडितहरुका लागि सुरक्षित स्थानमा स्थानान्तरण गर्न जतिसक्दो छिटो जग्गा व्यवस्थापन गर्न पहल गर्न निर्देशन दिए ।

उनले ‘भूकम्प पीडितहरुको पीडालाई आफ्नो पीडा सम्झेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

दुई वर्षसम्म पीडा उस्तै

दुई वर्षअघि गएको भूकम्पले करिब ८ लाख परिवारलाई एकैसाथ खुल्ला आकाशमुनि पुर्‍याइदियो । ती परिवारलाई एउटा बलियो छानो बनाइदिने र भग्नावेशमा परिणत भएका साँस्कृतिक, धार्मिक सम्पदाहरुको पुनर्निर्माण गर्ने जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण यतिबेला विवादमा छ ।

पुनर्निर्माण प्राधिकरण यतिधेरै विवादमा आउनुको मुख्य कारण बितेको दुई बर्षमा अहिलेसम्म करिब ६ हजारले मात्र सरकारबाट अनुदान रकम लिएर आफ्नो घर बनाउन सकेका छन् । बाँकी पीडित परिवार सरकारी संरचनाको कार्यशैलीबाट थप पीडित भएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment