Comments Add Comment

ताप्लेजुङमा उम्मेदवार छनोटः माओवादीले सक्यो, काँग्रेस र एमाले छलफलमै

१ वैशाख, ताप्लेजुङ । ताप्लेजुङमा नेकपा (माओवादी केन्द्र) ले आफ्ना उम्मेदवार घोषणा गरेर गाउँगाउँमा भोट माग्न पठाइसक्दा नेपाली काँग्रेस र नेकपा एमाले भने उम्मेदवार छनोट गर्नमै व्यस्त छन् ।

माओवादी केन्द्रले चैत २६ गते नै एक नगरपालिका र आठ गाउँपालिकामा प्रमुख र उपप्रमुख पदका प्रत्याशीलाई गाउँमा पठाए पनि मुख्य प्रतिस्पर्धी दलहरु काँग्रेस र एमालेले भने उम्मेदवारको टुङ्गो लगाउनमै व्यस्त रहेका हुन् ।

विशेष महत्वका साथ हेरिएको फुङ्लिङ नगरपालिकामा उम्मेदवार छनोट गर्न यी दलहरुलाई सकस परेको छ । यहाँ मेयर पदका लागि उम्मेदवार बन्ने आकाङ्क्षी धेरै भएपछि कसलाई प्रत्याशी बनाउने भन्ने विषयमा दैनिकजसो छलफल र बैठक चलिरहेको छ ।

नगरपालिकामा काँग्रेसका तर्फबाट मेयरमा पूर्व पार्टी सभापति केशवप्रसाद दाहाल, हालका नगर सभापति शिवकुमार गुरुङ, पार्टीका जिल्ला कोषाध्यक्ष रणबहादुर कार्की, जङ्गबहादुर बस्नेत, डिल्ली बराललगायतको नाम बाहिर चर्चामा रहे पनि आधिकारिक रुपमा जिल्ला कार्यसमितिभित्र नाम नआएको जिल्ला सभापति लीलादेवी बोखिमले बताए । नगरपालिका र सबै गाउँपालिकामा समन्वय समिति बनाएर छनोटको जिम्मा दिएकाले त्यहाँबाटै उम्मेदवारको टुङ्गो लागेर आउने बोखिमको भनाइ छ ।

काँग्रेसले अहिलेसम्म सिदिङ्मा गाउँपालिकामा मात्र अध्यक्ष र उपाध्यक्ष पदका प्रत्याशीको टुङ्गो लगाएको स्रोतले बताएको छ । त्यहाँ अध्यक्षमा नरबहादुर कडरिया र उपाध्यक्षमा गीता चौहानको नाम सर्वसम्मत भएको बताइएको छ । अन्यमा छलफल चलिरहेको समन्वय समितिहरुले जनाएका छन् ।

यता, एमालेलाई पनि नगरपालिकामा उम्मेदवारको टुङ्गो लगाउन समय लाग्ने जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङले बताए । उनका अनुसार नगरपालिकाको मेयरमा पार्टी उपाध्यक्ष मातृका भट्टराई, शिक्षक महासङ्घका अध्यक्ष छत्रपति प्याकुरेल, उद्योग वाणिज्य सङ्घ, ताप्लेजुङका अध्यक्ष तारानाथ घिमिरे, पार्टीका जिल्ला सदस्य सन्तोष खतिवडा, अर्का जिल्ला सदस्य नारायण चौलागाईं र भरत गुरुङले दाबी गरेका छन् । मैवा खोला र आठराई त्रिवेणीमा पनि अध्यक्ष र उपाध्यक्षका प्रत्याशीको टुङ्गो लगाउन बाँकी रहेको छ । ती गाउँपालिकामा पनि आकाङ्क्षी धेरै देखिएकाले समय लागेको साम्सोहाङले बताए । बाँकी पाँचवटा गाउँपालिकामा भने यसअघि नै सर्वसम्मति बनेको जानकारी आएको र त्यसलाई आधिकारिकता दिएर घोषणा गरिने बताइएको छ ।

काँग्रेसले वैशाख ७ गतेभित्रै अध्यक्ष, उपाध्यक्षसहित सबै सदस्यमा उम्मेदवारी चयन गरिसकेर घोषणा गर्ने तयारी गरेको छ भने एमालेले पनि वैशाखको पहिलो सातामा टुङ्ग्याउने जनाएको छ ।

यता, राष्ट्रिय जनमुक्ति पार्टी नेपालले भने बुधबार नै नगरपालिका र सबै गाउँपालिकाका प्रमुख र उपप्रमुखका प्रत्याशीको टुङ्गो लगाएको छ । यस्तै राप्रपा, नयाँ शक्ति नेपालसमेत उम्मेदवार छनोटमा व्यस्त रहेको उक्त पार्टी स्रोतहरुले बताएका छन् ।

१२ हजार मतदाता थपिए
स्थानीय तहको निर्वाचनमा ताप्लेजुङबाट ७० हजारभन्दा बढी मतदाताले मतदान गर्न पाउने भएका छन् ।

अहिले यस जिल्लामा मतदाताको सङ्ख्या ७० हजार ७७८ पुगेको जिल्ला निर्वाचन कार्यालय, ताप्लेजुङले जनाएको छ ।

यसअघि २०७० मा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि मात्रै ११ हजार ९६९ नयाँ मतदाता थप भएको जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख गणेश अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले विभिन्न समयमा गाउँगाउँमा राखेको अध्यावधिक कार्यक्रममा र सिधै निर्वाचन कार्यालयमा आएर नाम दर्ता गराएकाले मतदाताको सङ्ख्या बढेको हो । यसअघिको संविधानसभाको निर्वाचनमा ताप्लेजुङमा ५८ हजार ८०९ जना मतदाता रहेका थिए ।

एक नगरपालिका र आठवटा गाउँपालिका रहेको यस जिल्लामा निर्वाचनका लागि ७३ वटा मतदानस्थल कायम गरिएका छन् ।
आयोगबाट मतदाता शिक्षा कार्यक्रमका लागि सामग्री आइपुगेलगत्तै यहाँ उक्त कार्यक्रम सञ्चालन गरिनेछ ।
रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment