Comments Add Comment

कपिलबस्तुको वन कार्यालयमा तालाबन्दी

१ बैशाख, कपिलवस्तु । कपिलबस्तु वन उपभोक्ता महासंघले जिल्ला वन कार्यालयमा तालाबन्दी गरेको छ । साझेदारी वनलाई वडाको काम, कर्तव्य र अधिकारअन्तर्गत राखिएको विरोधमा महासंघले तालाबन्दी गरेको हो ।

महासंघले साझेदारी वन व्यवस्थापनको कार्य प्रदेशको सूचीमा गर्न/गराउन माग गरेको छ ।

यसअघि चैत २८ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र वन मन्त्रालयलाई ज्ञापनपत्र बुझाए पनि आफ्ना माग सम्बोधन नभएपछि बाध्य भएर धर्ना र तालाबन्दी गर्नुपरेको सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय उपाध्यक्ष जयप्रकाश पाण्डेयले बताए ।

तिलौराकोट साझेदारीका जयप्रकाश पाण्डेय, कपिलवस्तुका गङ्गेशनाथ तिवारी, मायादेवीका अब्दुल अजिज खाँ, गौतमबुद्धका जानकीप्रसाद यादव र शिवराजका जगदम्बाप्रसाद चौधरीले संयुक्त रुपमा बुझाएको ज्ञापनपत्र सम्बन्धित निकायमा पठाउने वन अधिकृत राइनले प्रतिबद्धता जनाए । सोलगत्तै जिल्ला वन कार्यालयमा सांकेतिक विरोधस्वरुप तालाबन्दी गरिएको थियो ।

महासंघले बुझाएको ज्ञापनपत्रमा वन ऐन, २०४९ बमोजिम वन क्षेत्रको उपयोगमा राजनीतिक सिमानाको अर्थ र प्रभाव नरहने व्यवस्था बमोजिम हालसम्म देशैभर साझेदारी र सामुदायिक वन हस्तान्तरण भएको उल्लेख छ । तर संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको मिति २०७३ फागुन २४ को परिपत्र र मन्त्रिपरिषदको फागुन ९ गतेको निर्णयबाट वडाको काम, कर्तव्य र अधिकारअन्तर्गत अनुसूची-१ को बुँदा नम्बर २१ को वन तथा वातावरणसम्बन्धी व्यवस्थाले स्थानीय निकायबीचमै द्वन्द्व सिर्जना हुने अवस्था आएको ज्ञापनपत्रमा उल्लेख छ ।

वनक्षेत्रबाट टाढा रहेका स्थानीय जनतालाई समेत वन स्रोतको उपभोग गराउने अवधारणामा साझेदारीमार्फत सञ्चालित वैज्ञानिक वन व्यवस्थापनको हालको प्रावधानलाई संशोधन गरी साझेदारी वन व्यवस्थापनलाई प्रदेशको सूचीमा राख्न माग गरिएको छ ।

-मो. इमरान खानबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment