Comments Add Comment

एमएडका दुई दर्जन बढी परीक्षार्थी निष्कासित, चिट चोरेको आरोप

विद्यार्थी भन्छन्- भविष्यमा खेलवाड गरियो, पुनः परीक्षा हुनुपर्छ

३ बैशाख, काठमाडौं । एमएड पहिलो वर्षको परीक्षामा अनुशासन विपरित काम गरेको भन्दै पाटन क्याम्पसबाट दुई दर्जन बढी परीक्षार्थी निष्कासित भएका छन् ।

विद्यार्थीहरुले भने साथमा मोबाइल राखेको आरोपमा आफूहरुलाई निष्कासित गरिएको भन्दै भविष्यमाथि खेलवाड गर्नेहरुलाई कारबाहीको माग गरेका छन् ।

सोमबार दिउँसो एक बजेदेखि चार बजेसम्म फाउन्डेसन अफ एजुकेशन विषयको परीक्षा थियो । पाटन क्याम्पसमा ताहचाल क्याम्पसका विद्यार्थीको सेन्टर थियो । गार्डले उत्तरपुस्तिका खोसेर लगेपछि होहल्ला गर्ने केही विद्यार्थीलाई ललितपुर प्रहरीले केहीबेर पक्राउ गरेर छाडेको छ।

परीक्षार्थीहरुले चिट चोर्न खोजेपछि करिब ३०-३५ जनालाई नियमानुसार कारबाही गरिएको क्याम्पस प्रमुख माधव गौतमले बताए । उनले अनलाइनखबरसँग भने, ‘परीक्षामा के-के गर्न पाइँदैन, गरेपछि के हुन्छ भनेर पहिले नै वार्निङ दिइसकेका हुन्छौं । चिट चोर्ने र जबर्जस्ती गर्न खोजेपछि कारबाही हुनु स्वाभाविक हो ।’

तर परीक्षार्थी विष्णु महतले भने क्याम्पस प्रमुख गौतमले झुटो बोलेको दाबी गरिन् । उनले मोबाइल बोकेको आरोपमा आफूहरुलाई निस्कासित गरेर क्याम्पस प्रशासनले भविष्यमाथि खेलवाड गरेको आरोप लगाइन् । प्रशासनमा कुरा राख्न जाँदा प्रहरीले कुटपिट गर्दै दुर्व्यवहार गरेको उनले बताइन् ।

‘परीक्षा हलमा केही ढिला आएको एक विद्यार्थीको मोबाइलको घण्टी बजेको निहुँमा ८१ जना विद्यार्थीलाई जबर्जस्ती निकालिएको छ । घण्टौंसम्म बाहिर उभ्याइँदा अर्को दिनको परीक्षाको समय नास भएको छ । एकजनाले गल्ती गर्ने र कारबाहीको भागिदार सबै विद्यार्थी हुने गलत हो ।’

प्रश्नपत्रमा त्रुटी

यसैबीच एमएड पहिलो वर्षको फाउन्डेसन अफ एजुकेशन विषयको प्रश्नपत्रमा त्रुटीसमेत देखिएको छ । प्रश्नपत्रमा १२ नम्बर र १४ नम्बरको प्रश्न एउटै छ ।

प्रश्नपत्रको त्रुटी पनि सच्याउनुपर्ने र पुनः परीक्षा लिनुपर्ने विद्यार्थीहरुको माग छ ।

हेर्नुहोस् प्रश्नपत्र 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment