५ बैशाख, काठमाडौं । दुई नयाँ विमान थप भएसँगै राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले व्यवसायिकरुपमा फड्को मारेको छ । सन् २०१५ को तुलनामा २०१६ मा यात्रु बोक्ने र उडान भर्ने दुवै हिसाबले कम्पनीले ठोस प्रगति गरेको हो ।
सन् २०१५ मा नेपाल एयरलाइन्स नेपालमा सबैभन्दा बढी उडान भर्ने र यात्रु बोक्ने बिमान कम्पनीको सुचीमा क्रमशः तेस्रो र पाँचौं स्थानमा थियो । तर, २०१६ मा आइपुग्दा दुवै हिसाबले नेपाल एयरलाइन्स पहिलो बनेको छ । यसअघि एकल गन्तव्य भएका विदेशी कम्पनीहरुले यसलाई उछिनेका थिए ।
सन् २०१५ को सुरुवातसम्म नेपाल एयरलाइन्ससँग दुईवटा बोइङ थिए । सोही वर्षको फेब्रुअरी र अपि्रलमा दुईवटा ए ३२० एयरबस थप गरेपछि नेपाल एयरलाइन्ससँग ४ वटा विमान भए । तर, केही समयपछि एउटा बोइङ भने लिलामका लागि राखियो ।
सन् २०१५ को तुलनामा सन् २०१६ मा नेपाल एयरलाइन्सको व्यवसाय आक्रामक हुनुमा विमान थपिनु नै पहिलो कारण मान्छन् नेपाल वायु सेवा निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठ ।
उनले भने ‘पहिले हामीसँग विमान कम थिए, जसका कारण माग भएका गन्तव्यमा पनि उडान भर्न सकेका थिएनौं। तर, अहिले हामीले ८ गन्तव्यमा उडान भरिरहेका छौं र भाडा दर पनि अरुको तुलनामा हाम्रो सस्तो छ ।’
एयरलाइन्सले अहिले भारतका दिल्ली, मुम्बई, बैंगलोरदेखि लिएर बैंकक, क्वालालम्पुर, दोहा, हङकङ र दुवईमा समेत उडान भरिरहेको छ ।
यसअघि दिल्ली, दोहा, मुम्बई र बैंगलोरमा यसका उडान थिएनन् । ती गन्तव्यमा विदेशी विमानबाट मात्रै नेपालीहरु आवत-जावत गर्न बाध्य थिए ।
नेपाल एयलाइन्सले विदेशका विभिन्न स्थानमा उडान गर्न थालेपछि अन्तर्राष्ट्रिय विमान कम्पनीले पनि नेपालको भाडादर संशोधन गर्न बाध्य भएको श्रेष्ठ बताउँछन् ।
भरपर्दो बन्दै नेपाल एयरलाइन्स
त्रिभुवन बिमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुर नेपाल एयरलाइन्सको विश्वसनीयता पछिल्लो समय बढिरहेको बताउँछन् । विश्वसनीय बन्दै गएकाले नै यसप्रति जनताको आकर्षण बढेको उनको भनाइ छ ।
‘आफ्नै देशको झण्डा भएको विमान चढौं भन्ने सबैलाई चाहना हुन्छ,’ उनले भने, ‘पहिला नेपाल एयरलाइन्सले बारम्बार उडान रद्द गरिरहन्थ्यो, तर अहिले
त्यस्तो हुँदैन, जसका कारण यसप्रति जनताको विश्वास बढेको छ ।’
कति यात्रु बोक्यो ?
सन् २०१६ मा नेपालबाट नेपाल एयरलाइन्ले सबैभन्दा बढी यात्रु बोकेको छ । त्रिभुवन विमानस्थलका अनुसार सो वर्ष नेपाल एयरलाइन्सले ३ लाख ८४ हजार ३ सय २७ जना यात्रु ओसारेको थियो ।
जबकि सन् २०१५ मा २ लाख ५३ हजार ६ सय ५८ जना यात्रुलाई सेवा दिएको थियो ।
त्रिभुवन विमानस्थलको तथ्यांक अनुसार सन् २०१५ मा यात्रु बोक्ने हिसाबले नेपाल एयरलाइन्स ५ औं स्थानमा थियो ।
सन् २०१५ मा यात्रु ओसार्नेमा नेपाल एयरलाइन्सले भन्दा कतार एयरलाइन्स, एयर अरेबिया, जेट एयरलाइन्स, फ्लाइ दुबई माथि थिए । तर, सन् २०१६ मा भने नेपाल एयरलायन्सले सबैभन्दा बढी यात्रुलाई सेवा दिन सफल भएको छ ।
सबैभन्दा बढी यात्रु बोक्ने अन्तरराष्ट्रिय विमान कम्पनी
विमान कम्पनी | यात्रु संख्या (२०१५) | यात्रु संख्या (२०१६) |
नेपाल एयरलाइन्स | २,५३,६५८ | ३,८४,३२७ |
कतार एयरलाइन्स | ३,२५,८९७ | ३,४१,७६४ |
एयर अरेबिया | २,९२,०३३ | ३,४०,१३५ |
जेट एयरलाइन्स | ३,११,६६६ | ३,३४,१७९ |
फ्लाई दुबई एयरलाइन्स | २,६७,४३८ | ३,२२,६४४ |
एयर अरेबिया | २,२४,१६८ | १,८३,०७१ |
एयर एसिया | १,५३,९६४ | १,७०,५८६ |
थाई एयरलाइन्स | १,३५,५१७ | १,६८,६४८ |
इण्डिगो एयरलाइन्स | १,०९,३१९ | १,१३,६३३ |
हङकङ ड्रयागन | १,००,८५८ | १,०७,३०५ |
नेपाल एयरलाइन्सले कति भर्यो उडान ?
सन् २०१५ मा नेपाल एयरलाइन्सले २ हजार २ सय ५७ पटक उडान भरेको थियो । तर, सन् २०१६ मा भने विमान थपिएसँगै यसको उडानमा हृवात्तै वृद्धि भएको देखिएको छ ।
त्रिभुवन विमानस्थलका अनुसार नेपाल एयरलाइन्सले सन् २०१६ मा ३ हजार १ सय ५१ पटक उडान भरेको छ ।
सन् २०१६ मा नेपाल एयरलाइन्स भन्दा जेट एयरलाइन्स र एयर अरेबियाले धेरै उडान भरेका थिए । तर, सन् २०१६ मा भने यी दुबै कम्पनीलाई उछिनेर नेपाल एयरलाइन्सले पहिलो स्थान हासिल गरेको छ ।
सबैभन्दा बढी उडान भर्ने १० बिमान कम्पनी
बिमान कम्पनी | २०१५ को उडान | २०१६ को उडान |
नेपाल एयरलाइन्स | २२५७ | ३१५१ |
एयर अरेबिया | २५७३ | २३६६ |
जेट एयरलाइन्स | २४२४ | २४४५ |
फ्लाइ दुबई एयरलाइन्स | २०३२ | २४७८ |
कतार एयरलाइन्स | १८३४ | १८७८ |
एयर इण्डिया | १९४४ | १६३४ |
ओमान एयरलाइन्स | १३२० | १४८८ |
इतिहाड एयरलाइन्स | १४३८ | १२२० |
ड्रुक एयर | ९१४ | ८३० |
मलेसिया एयरलाइन्स | १४३८ | ८०० |
थप दुई विमान किनिँदै
अहिले नेपाल एयरलाइन्स थप दुईवटा विमान खरिद गर्ने तयारीमा छ । एयरबस खरिद गर्नका लागि निगमले अमेरिकी कम्पनी एएआरसँग हालैमात्रै खरिद सम्झौता गरेको छ ।
साथै निगमले यी दुई एयर बस २०१८ को मेसम्म नेपालमा भित्र्याउने योजना बनाएको छ ।
प्रतिक्रिया 4