Comments Add Comment

दाङको चुनावमा खुला सीमाना चुनौती, चारवटै सुरक्षा निकायद्वारा स्थलगत अनुगमन

प्रजिअ भन्छन्- सुरक्षामा सम्झौता हुँदैन

१० बैशाख, घोराही । दाङ प्रशासनले स्थानीय तह निर्वाचनलाई सुरक्षित बनाउन नेपाल-भारत सीमा क्षेत्रमा विशेष सुरक्षा निगरानी बढाएको छ । चुनावको समयमा नाका क्षेत्रबाट हुन सक्ने घुसपैठ तथा आपराधिक कार्यलाई रोक्न प्रशासनले सुरक्षा सजकता अपनाएको हो ।

दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले नाका क्षेत्रको प्रयोग गरी हुनसक्ने असुरक्षालाई ध्यान दिँदै सुरक्षा सतर्कतामा केन्द्रित रहेको बताए ।

कोइलाबाससहित कपिलबस्तुदेखि बाँकेसम्म दाङ खण्डमा भारतसँग जोडिएका २६ नाका छन् । सीमा स्तम्भ जीर्ण हुँदा भारतले आफूखुसी सीमास्तम्भ तोकेको छ ।

(यो पनि पढ्नुहोस्: भारतले आफूखुसी नेपालसँगको सीमाना तोक्यो)

तर, प्रजिअ काफ्लेले भने, ‘चुनावलाई असर पार्ने कुनै पनि क्रियाकलापसँग सम्झौता हुँदैन । चुनावलाई भाँड्न खोज्ने जो कोही कार्वाहीको भागिदार बन्नुपर्छ ।’

उनले केही राजनीतिक दलहरु नै चुनाब बहिस्कारको पक्षमा देखिएको भन्दै त्यसतर्फ पनि प्रशासन सचेत रहेको बताए । उनले निर्वाचनको सुरक्षामा कुनै किसिमको सम्झौता नहुने स्पष्ट पारे ।

‘निर्बाचन शान्तिपूर्ण, मर्यादित र स्वतन्त्र हुन्छ,’ उनले भने, ‘ढुक्क भएर मतदान गर्ने वातावरण प्रशासनले मिलाउँछ ।’

यसैबीच चारवटै सुरक्षा निकायका अधिकारीहरुले संयुक्तरुपमा जिल्लाका मतदान स्थलहरुको सुरक्षा अवस्थाबारे स्थलगत निरीक्षण गरिरहेका छन् । मतदान स्थलको निरीक्षणमा प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्ले, प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंह, नेपाली सेनाका गणपति कर्णेल राजन बुढाथोकी, राष्ट्रिय अनुसन्धान बिभागका एसपी किशोर श्रेष्ठसहित सशस्त्र प्रहरीका अधिकारीहरु खटिएका छन् ।

निर्वाचन आयोगले दाङमा १ सय ५१ वटा मतदानस्थल तोकेको छ ।

पहिलो चरणमा मतदानस्थल नजिकका प्रहरी चौकीबाट अध्ययन गरिएको थियो । दोस्रो चरणमा प्रहरी निरीक्षकभन्दा माथीका अधिकृतहरुले अध्ययन अवलोकन थालेको दाङका प्रहरी प्रवक्ता डिएसपी भुवनेश्वर तिवारीले जानकारी दिए ।

‘मतदान स्थलको सुरक्षा, मतपत्र ढुवानी, सडकको पहुँच, कर्मचारी व्यवस्थापन सहित समग्र अवस्थामा बारेमा अध्ययन गरिरहेका छौं र गाउँमा रहेका प्रहरीलाई प्रशिक्षित गर्ने काम भइरहेको छ,’ डिएसपी तिवारीले भने ।

दाङमा २ लाख ९१ हजार १ सय ५० जना मतदाता रहेको दाङमा १ सय ५१ मतदान स्थल र ३ सय ५१ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

चुनावको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान बिभाग र म्यादी प्रहरी परिचालित हुनेछन् ।

दाङ खण्डमा पर्ने ८३ किलोमिटरको दुरीमा ६ स्थानमा नेपाल प्रहरी बसेको छ । चार वटा स्थायी र दुईवटा अस्थायी प्रहरी पोष्ट सीमा नाकामा छन् । भैसाही, खांग्रा, कोइलाबास र मुसीनाका स्थायी प्रहरी चौकी हुन् भने डगमारा र सिरीया अस्थायी प्रहरी पोष्ट हुन् । तर त्यहाँ न बलियो भौतिक संरचना छ, न पर्याप्त जनशक्ति, न पर्याप्त हातहतियार, न सञ्चार सुविधा नै ।

यो पनि पढ्नुहोस् 

सीमा सुरक्षामा खटिएका प्रहरी नै असुरक्षित !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment