+
+

सरकार ! विराटनगरलाई बजेट खोई ?

बजेट अभावले अधिकांश विकासे आयोजना अलपत्र

ध्रुव भट्टराई ध्रुव भट्टराई
२०७४ वैशाख ११ गते १७:०५

११ वैशाख विराटनगर । चालु आर्थिक वर्षको अन्त्य हुन दुई महिना मात्र बाँकी रहँदा पूर्वी नेपालमा सञ्चालित अधिकांश ठूला विकास निर्माणका पूर्वाधारहरु भने बजेट अभावमा प्रभावित बनेका छन् ।

सरकारले कतिपय विकासे अड्डाहरुले पुँजीगत खर्च समयमै गर्न नसकिरहेको बताउँदै आएपनि झापा, मोरङ, सुनसरी र सप्तरी जिल्लामा सञ्चालित बहुवार्षिक योजनाका काम बजेट अभावमा प्रभावित बनेका छन् ।

सम्वन्धित मन्त्रालयले ठेक्का लगाएका कामका लागि थोरै बजेट निकासा गर्ने र आवश्यक थप बजेट माग गर्दा समयमै उपलव्ध नगराउँदा ती जिल्लामा सञ्चालित हुलाकी राजमार्ग, पुल निर्माण आयोजना, छ लेनको सडक निर्माण र विराटनगर उपमहानगरपालिकामा सञ्चालित मझौला शहर एकीकृत वातावरण सुधार परियोजनाको काम प्रभावित बनेका छन् ।

मझौला शहर परियोजनाको काम रोकियो

बहुवार्षिक आयोजनाका रुपमा काम गरिदै आएका यी परियोजना अन्तर्गत विराटनगर उपमहानगरपालिकामा सञ्चालित मझौला शहर एकीकृत वातावरण सुधार परियोजनाको काम बजेट अभावमा दुई सातादेखि रोकिन पुगेको छ । आवश्यक बजेट अभावमा ठेकेदार कम्पनीलाई रकम भुक्तानी दिन नसक्दा ठेकेदार कम्पनीले काम रोकेको परियोजनाका व्यवस्थापक उपेन्द्र बरालले जानकारी दिए ।

उनले भने, ‘पटक-पटक थप रकम निकासाका लागि पहल गरेको भएपनि रकम निकासा नहुँदा काम नै रोकिन पुगेको अवस्था हो । ठेकेदार कम्पनीले रकम नपाउँसम्म काममा नफर्कने बताएको छ ।’

बरालले तत्काल पनि ठेकेदार कम्पनीलाई २० करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । २ अर्ब ९५ करोडको लागतमा ढलको नाला, वर्षाको पानी बग्ने नाला, बाटो मर्मत टि्रटमेन्ट प्लान लगायतको काम सञ्चालनमा रहेको थियो ।

रानी-धरान ६ लेन सडकको काम पनि प्रभावित

त्यसैगरी विराटनगरको रानीदेखि धरानसम्म ६ लेन सडक निर्माणको कामपनि थप बजेटको अभावमा प्रभावित भएको छ । ठेकेदार कम्पनीलाई काम गरिसकेको ५० करोड बढी रकम भुक्तानी गर्न नसक्दा सडक विस्तार गर्ने काम प्रभावित भएको हो ।

सो सडक विस्तार गर्ने काम पनि ठेकेदारले काम सकेको भुक्तानी नपाएको भन्दै रोकेको आयोजना प्रमुख दिपककुमार भट्टराईले जानकारी दिए । चालु आर्थिक वर्ष छ लेनको सडक विस्तारका लागि ३९ करोड ९९ लाख ११ हजार निकासा भएकोमा सो रकम गत कात्तिक महिनामा नै खर्च भइसकेको आयोजना प्रमुख भट्टराईले जनाकारी दिए । उनले चालु आर्थिक वर्षका लागि थप ७० करोड रुपैयाँ सडक विभागमा माग गरेपनि अहिलेसम्म रकम निकासा नहुदा सडक विस्तारको काम प्रभावित बनेको जानकारी दिए ।

उनले भने, ‘सयममै पूरा गरेको कामको भुक्तानी ठेकेदार कम्पनीलाई दिन नसक्दा काम रोकिदिने चलनले ठेकेदारलाई निर्माण सम्पन्न गर्न दिएको समयसीमा भित्रै काम पूरा नहुने परिपाटीको समेत विकास हुन पुगेको छ । विभागले बजेट निकासा गर्दा स्टिमेट अनुसार नै गरे ठेकेदार कम्पनीलाई रकम भुक्तानी गर्नपनि समस्या हुने थिएन कामपनि तोकिएकै समयमा हुने थियो ।’

सुनसरी-मोरङ पुल निर्माण अलपत्र

त्यसैगरी चालु आर्थिक वर्षको अन्त्य हुन दुई महिना मात्र बाँकी रहँदा थप बजेटको अभावमा सुनसरी-मोरङ पुल निर्माण आयोजनाको कामको हालत पनि उस्तै छ ।

सुनसरी-मोरङ पुल निर्माण आयोजनालाई अहिले ठेकेदार कम्पनीले पूरा गरेको कामको २० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । पैसा अभावमा दुई जिल्लाका निर्माणाधीन अवस्थामा रहेका ४ करोडदेखि १२ करोड लागतसम्मका १५ वटा पुल निर्माणको कामले गति पाउन सकेको छैन ।

सुनसरी-मोरङ पुल निर्माण आयोनाका प्रमुख कैलाश शाहले भने, ‘१५ महिनादेखि ३ वर्षभित्र सबै पुल निर्माण सम्पन्न भइसक्नुपर्ने हो तर चालु आर्थिक वर्षका लागि यतिका कामका लागि जम्मा ४ करोड निकासा भएको अवस्था छ । यस्तो स्थितिमा काम कसरी गर्ने समस्यामा छौं ।’

हुलाकी राजमार्गको अवस्था पनि उस्तै

यता हुलाकी राजमार्गको कालोपत्रे गर्ने एवं स्तरोन्नती गर्ने कामको अवस्था पनि उस्तै छ । सो आयोजना अन्तर्गत हाल सप्तरी जिल्लामा १५ वटा पुल निर्माणको काम अघि बढेको छ भने झापामा साना- ठूला गरी १२ वटा पुल निर्माणको काम भइरहेको छ ।

बहुवार्षिक आयोजना अन्तर्गत नै पुल निर्माणको कामसँगै झापा जिल्लामा हुलाकी राजमार्ग जोड्ने ४० किलोमिटर लामो सडक कालोपत्रे गर्ने कामपनि भइरहेको छ ।

आयोजनाका प्रमुख शैलेन्द्रमणी त्रिपाठीका अनुसार चारआली-केचना सडक कालोपत्रे गर्ने काम लगायत पुल निर्माणको काम थप बजेटको अभावमा प्रभावित भएको छ । बजेट नभएकाले ठेकेदार कम्पनीलाई समयमै भुक्तानी गर्न नसकेको उनले बताए ।

‘धेरैजसो साना पुल निर्माणको काम सम्पन्न भएका पनि छन् । सडक कालो पत्रेका कामपनि सञ्चालनमा छ । यति धेरै बजेटको काम भइरहेपनि चालु आर्थिक वर्षका लागि जम्मा ३८ करोड रुपैयाँ आएको थियो,’ उनले भने, ‘सबै भुक्तानी गरेरपनि आजकै मितिमा पनि निर्माण कम्पनीहरुलाई ५ करोडभन्दा बढी रकम भुक्तानी दिन सकेका छैनौं ।’

उनले यो आर्थिक वर्षका लागि सडक विभागमा थप १० करोड रुपैयाँ १ महिना अघि माग गरेपनि बजेट स्विकृत भई निकासा नभएको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?