Comments Add Comment

युवा परिषद उपाध्यक्ष ढुंगेललाई हटाउने प्रक्रिया शुुरु !

११ वैशाख,काठमाडौं । सरकारले राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेललाई बर्खास्त गर्ने कानुनी प्रक्रिया शुरु गरेको छ ।

एमाले नेतृत्वको सरकारका पालामा ४ वर्षका लागि नियुक्त भएका ढुंगेललाई युवा तथा खेलकुद मन्त्रालयले स्पष्टिकरण सोध्नका लागि मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेको छ ।

एमाले केन्द्रीय सदस्य समेत रहेका ढुंगेललाई सिधै बर्खास्त गर्दा अदालतबाट पुनर्वहाली हुने भएकाले स्पष्टिकरणको प्रक्रिया थालिएको मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

स्पष्टिकरण सोध्नुपर्ने कुनै कारण नभए पनि बर्खास्त गर्ने कानुनी रित मात्र पुर्‍याउन खोजिएको उनले बताए ।
ढुंगेललाई मन्त्रीले दिएका निर्देशन पालना नगरेको,जिल्लामा युवा परिषद गठन गर्दा प्रक्रिया पूरा नगरेको लगायतका अभियोग लगाइएको छ ।

ढुंगेलले भने आफूले यसबारे कुनै जानकारी नपाएको र परिषदले आफ्नो काम मन्त्रालयको समन्वयमा गरिरहेको प्रतिक्रिया दिए ।

मन्त्रालयले स्पष्टिकरण सोध्नका लागि मन्त्रिपरिषदमा पठाएको प्रस्तावमा तीन दिनभित्र स्पष्टिकरण बुझाउनुपर्ने व्यहोरो उल्लेख रहेको स्रोतले जनाएको छ ।

ढुंगेललाई ओली सरकारले २०७२ फागुनमा राज्यमन्त्री सरहको कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको थियो । नियुक्ति अघि मन्त्रालयका सचिवको अध्यक्षतामा समिति गठन गरी खुला प्रतिस्पर्धा गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment