Comments Add Comment

काभ्रेको चुनावी एजेण्डाः प्रदेशको राजधानीदेखि बुद्ध सर्किटसम्म

एमाले, कांग्रेस र माओवादीवीच यसरी हुँदैछ प्रतिस्पर्धा

१३ बैशाख, काठमाडौं । राजधानीसँगै जोडिएको काभ्रेपलाञ्चोक जिल्लामा चुनावी चटारो बढेको छ । ६ नगरपालिका र ७ गाउँपालिकामा विभाजित काभ्रेमा बनेपा-धुलिखेलको विवादकै कारण उपमहानगरपालिका बन्ने अवस्था अन्त्य भएको थियो । अहिले दलहरु काभ्रेलाई ३ नम्बर प्रदेशको राजधानी बनाउने भन्दै भोट माग्ने तयारीमा लागेका छन् ।

धुलिखेल र काभ्रेमध्ये कुनलाई उपमहानगर बनाउने भन्ने विवाद दलगत स्वार्थसँग गाँसिएको छ । यसमा मुख्यतः धुलिखेलमा बर्चश्व रहेको एमाले र बनेपामा बर्चश्व रहेको कांग्रेसको स्वार्थ बाझिएको स्थानीय नेताहरु बताउँछन् ।

काभ्रेको विकासमा प्रमुख दलका प्रमुख एजेण्डा के-के हुन् ? यस विषयमा अनलाइनखबरले कांग्रेसका जिल्ला सभापति मधु आचार्य, एमालेका निवर्तमान जिल्ला अध्यक्ष गोकुल बास्कोटा र माओवादीका जिल्ला अध्यक्ष दीनानाथ गौतमसँग कुरा गरेका छौं ः

काभ्रेलाई प्रदेशको राजधानी बनाउने मुख्य एजेण्डा
मधु आचार्य, सभापति नेपाली कांग्रेस

नेपाली कांग्रेसले काभ्रेपलाञ्चोक जिल्लाको समग्र विकासका लागि आफ्ना एजेण्डाहरु चुनावमा जनताबीच लिएर जान्छ । हाम्रो मुख्य एजेण्डा भनेको ३ नम्बरको प्रदेशको राजधानी काभ्रेलाई बनाउने हो ।

हाम्रा सबै जनप्रतिनिधिहरु यसमा परिचालित हुनेछन् । ३ नम्बर प्रदेशको राजधानी काभ्रे हुनासाथ यहाँको विकास स्वतः हुन्छ ।

काभ्रेको विकासका लागि पर्यटनलाई पनि हामीले केन्द्रविन्दुमा राखेका छौं । पर्यटनको विकासलाई केन्द्रविन्दू बनाएर कृषि, उर्जा, सडक यातायात, विद्युतीकरण, शिक्षा स्वास्थ्य जस्ता कुरामा हामी विकास गर्छौं ।

काभ्रेपलान्चोकको विकासको मूल आधार भनेकै पर्यटन विकास हो भन्ने हामीले बुझेका छौं । हामी यही एजेण्डा लिएर जनतामा जान्छौं ।

बुद्ध सर्किट र इन्द्रावती बहुउद्देश्यीय कोरिडोर मुख्य एजेण्डा
गोकुल बास्कोटा, निवर्तमान अध्यक्ष नेकपा एमाले

काभ्रेको विकासका लागि हामीले मुख्यतः पर्यटन, कृषि र पशुपालनका साथै यहाँका प्राकृतिक स्रोत साधनहरुको परिचालन गर्नुपर्छ भन्ने प्रष्ट भिजन बनाएका छौं ।

हामीले नमोबुद्धदेखि तेमालसम्म बुद्ध सर्किट बनाउने योजना अघि सारेका छौं । यो बुद्धमार्गीहरुका लागि पवित्रस्थल हुनेछ र विश्वभरका पर्यटक ल्याउन सकिन्छ । हामीले यसलाई धार्मिक पर्यटन भनेका छौं ।

बुद्ध सर्किटजस्तै पलाञ्चोक भगवती, नाला भगवती लगायतका हिन्दु धार्मिकस्थलहरुको विकास गर्ने मार्गचित्र बनाउँछौं । धुलिखेल लगायतका प्राकृतिक पर्यटनका क्षेत्रको विकासमा ठोस योजना छन् हामीसँग ।

इन्द्रावती नदीको कोरिडोरलाई बहुउद्देश्यीय परियोजनाका रुपमा लैजाने सोच हामीसँँग छ । महाभारतको एउटा क्षेत्रमा मासु उत्पादन गर्ने उद्देश्यले पशुपालनको विकास गर्ने र अर्कोतिर जैविक विविधताका योजनाहरु अघि सार्ने हाम्रो तयारी छ ।

यसका साथै महाभारत भनेको निर्माण सामाग्रीहरुको खानी हो, यसलाई जिल्लाको समृद्धिसँग जोड्ने हो । मण्डन देउपुर र पाँचखालमा तरकारी खेतीको नयाँ प्रयोग गर्दै काठमाडौंलाई पुग्ने तरकारी हामीले आपूर्ति गर्न सक्छौं ।

यसका साथै भूउपयोगको नीति हामीले जितेपछि स्थानीय तहमै बनाउँछौं । काशी भञ्ज्याङलाई स्रष्टाहरु गएर बस्ने, प्राकृतिक छटाहरुसँग डुबेर सिर्जना गर्ने ठाउँका रुपमा विकास गर्ने हाम्रो योजना छ ।

एमालेले जितेको खण्डमा हरेक वडामा जेष्ठ नागरिक मिलन केन्द्रका रुपमा एउटा सार्वजनिक स्थल बनाउने र सार्वजनिक शौचालयहरु निर्माण गर्ने योजना छ ।

समग्रमा पार्टीले लिएको सुखी नेपाली, समृद्ध नेपाल भन्ने नारालाई काभ्रेमा एमालेले चुनावी एजेण्डाका रुपमा लैजानेछ ।

स्थानीय विविधतालाई जिल्लाको विकासमा जोड्छौं
दीनानाथ गौतम, अध्यक्ष माओवादी केन्द्र

काभ्रेपलाञ्चोक जिल्लालाई कसरी समृद्ध बनाउने भन्ने हामीले सोच बनाएका छौं । अहिले जिल्ला समन्वयात्मक भूमिकामा सीमित हुँदैछ । स्थानीय सरकारहरुले नै जिल्लाको समग्र विकासमा योजना बनाउने हो । हरेक नगरपालिका र गाउँपालिकाका आ-आफ्ना विशेषता छन् । त्यहाँका विशेषता, साधन स्रोतहरुलाई परिचालन गर्दै आफ्नै गाउँ-नगर समुन्नत बनाउने योजना हामी बनाउँछौं ।

गाउँ नगर विकास भएपछि जिल्ला स्वतः विकास हुने नै भयो । जिल्लाभित्रका सम्भावनाहरुको खोजी गर्ने र ती सम्भावनालाई समृद्धिसँग जोड्ने हाम्रो एजेण्डा छ ।

काभ्रे जिल्ला विविधतायुक्त भएकाले हामी ती विविधतालाई विकासमा जोड्ने एजेण्डासहित जान्छौं । उम्मेदवार उठाउँदा पनि पार्टीको लक्ष्य र जिल्लाको विशेषता बुझेर काम गर्न सक्ने योग्य व्यक्ति छान्छौं । काभ्रेको विकास माओवादीले मात्र गर्न सक्छ भन्ने जनतालाई बुझाउछौं ।

काभ्रे जिल्लाको परिदृश्य

कुल ४ वटा निर्वाचन क्षेत्रहरु रहेको काभ्रेमा सबैभन्दा बढी मतदाता पनौति नगरपालिकामा छन् । पनौतीको मतदाता संख्या ३१ हजार ७८ छ भने बनेपा नगरपालिकामा ३० हजार ३७५ मतदाता छन् । त्यस्तै सदरमुकाम धुलिखेल नगरपालिकको मतदाता संख्या २० हजार ४ सय ३० रहेको छ ।

पाँचखाल नगरपालिकामा २३ हजार १ सय ७८, मण्डन देउपुर नगरपालिकामा २१ हजार ६ सय २३ र नमोबुद्ध नगरपालिकामा २० हजार ७० मतदाता रहेका छन् ।

गाउँपालिकाहरुमध्ये तेमाल १४ हजार, चौरी देउराली १४ हजार ५सय ३९, खानीखोला ७ हजार ३५, बेथानचोक ११ हजार ५ सय ६०, भुम्लु १२ हजार ६ सय ७९, महाभारत ८ हजार ६ सय ७५, रोशी १५ हजार ३ सय ७३ मतदाता छन् ।

प्रतिस्पर्धी दलहरु

काभ्रेमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र मुख्य प्रतिस्पर्धी दल हुन् । यी बाहेक राप्रपा जिल्लामा चौथो शक्तिका रुपमा छ भने डन गणेश लामाको चहल-पहलका कारण फोरम लोकतान्त्रिकको पनि उपस्थिति देखिन्छ ।

दलहरुभित्र उम्मेदवार चयनको रस्साकस्सी चलिरहेको छ । तर, अहिलेसम्म कुनै पनि दलले उम्मेदवारको टुंगो लगाइसकेका छैनन् ।

यद्यपि एमालेले बनेपा सहित केही नगर र गाउँपालिकामाा अनौपचारिक रुपमा उम्मेदवार तय गरिसकेको छ । माओवादी केन्द्रले पनि केही स्थानीय तहमा उम्मेदवार तय गरेको छ ।

तीन प्रमुख पार्टीका नेताहरुले उम्मेदवार चयनको प्रक्रिया चलिरहेको बताएका छन् । आकांक्षी धेरै भएपछि व्यवस्थापन गर्न दलहरुलाई कठिन हुँदैछ ।

काभ्रेमा राजनीतिक दलहरुबीच तालमेलको सम्भावना कम देखिएको छ । अन्यत्र जस्तो यहाँ सत्तारुढ कांग्रेस माओवादीबीच जिल्लास्तरमै तालमेलको सम्भावना नरहेको दलका नेताले स्वीकार गरेका छन् ।

कांग्रेस र माओवादी दुवै दलले एमालेलाई मुख्य प्रतिस्पर्धी ठानेका छन् । एमालेले भने आफ्नो मुख्य प्रतिस्पर्धी कांग्रेसलाई ठानेको छ । केही गाउँपालिकामा माओवादीसँग प्रतिस्पर्धा हुने एमालेले देखेको छ ।

तालमेलका बारेमा तीनै दलका नेताले स्थानीय आवश्यकताका आधारमा हुन सक्ने प्रतिक्रिया दिएका छन् ।

काभ्रेमा ४ निर्वाचन क्षेत्र छन्, जसमा अहिले कांग्रेस र एमालेले दुई-दुई सीट जितेका छन् । ०६४ मा काभ्रेका ४ मध्ये तीन सीट जितेको माओवादीले ०७० को चुनावमा एक सिट पनि जित्न सकेन । यद्यपि त्यो चुनावमा हारको कारण माओवादीको प्रभाव कम भएको नभएर अरु नै रहेको जिल्ला अध्यक्ष दीनानाथ गौतम बताउछन् ।

सबै दलको जित्ने दाबी

जिल्लामा अघिल्लो चुनावको मतका हिसाबले सबैभन्दा ठूलो दल नेकपा एमालेले एक्लै चुनाव लड्ने तयारी गरेको छ । एमालेले जिल्लाका १३ मध्ये कम्तिमा ९ स्थानीय तह जित्ने दावी निवर्तमान जिल्ला अध्यक्ष गोकुल बास्कोटाको छ । एकाध ठाउँमा तालमेल गर्दा १० सम्म स्थानीय तह जित्ने उनले दाबी गरे ।

बास्कोटाका अनुसार एमालेले पनौती, मण्डन देउपुर, धुलिखेल र पाँचखाललाई जित्ने सुनिश्चित भएका नगरपालिकाको रुपमा राखेको छ । त्यस्तै बनेपामा पनि जित्न सकिने आँकलन एमालेको छ ।

त्यस्तै नमोबद्धु नगरपालिका, भुम्लु गाउँपालिका र खानीखोलामा एमालेले आफ्नो जितको आधार बलियो भएको दाबी गरेको छ । तेमाल र बेथानचोकमा तालमेल गर्ने रणनीति एमालेले लिएको छ ।

जिल्लामा एमालेको मुख्य प्रतिस्पर्धी रहेको नेपाली कांग्रेसमा एक दुई दिनभित्रै उम्मेदवारहरुको टुंगो लगाउने गरी छलफल चलिरहेको कांग्रेस जिल्ला सभापति मधु आचार्यले बताए ।

कांग्रेसले बनेपामा आफ्नो विरासत कायम राख्दै एमालेको गढका रुपमा रहेका ठाउँहरुमा आफ्नो वर्चश्व स्थापित गर्ने योजना बनाएको आचार्य बताउँछन् । त्यस्तै रोशी, महाभारत र बेथानचोक गाउँपालिकालाई कांग्रेसले आफ्नो जित सुनिश्चत भएका स्थानीय तहका रुपमा राखेको छ ।

जिल्लाका १३ मध्ये ६५ प्रतिशत स्थानीय तह जित्ने लक्ष्य राखिएको कांग्रेस सभापति आचार्यले बताएका छन् ।

त्यसैगरी सशस्त्र जनयुद्धका बेला माओवादीको आधार क्षेत्रकै रुपमा रहेको काभ्रेमा यसपटक जनयुद्धकालकै नेताहरुलाई चुनावी मैदानमा खटाउने तयारी माओवादी केन्द्रले गरेको छ ।

गुमेको बर्चश्व फिर्ता गर्ने योजनासहित माओवादी केन्द्रले उम्मेदवार चयन गर्न लागेको जिल्ला अध्यक्ष दीनानाथ गौतमले बताए ।

माओवादी केन्द्रले चौंरी देउराली, खानीखोला र तेमाल गाउँपालिकालाई जित्ने सुनिश्चित भएका स्थानीय तहका रुपमा राखेको छ ।

नगरपालिकामा माओवादीले धेरै आशा गरेको छैन तर पाँचखाल र नमोबुद्धमा जित्ने लक्ष्य राखेर अघि बढ्ने योजना बनाइएको नेताहरु बताउँछन् । जिल्ला अध्यक्ष गौतमले ६ वटा स्थानीय तहमा आफूहरुले जित्ने लक्ष्य राखिएको बताए ।

एमालेका केही उम्मेदवार तय

एमालेले बनेपा नगरपालिकामा लक्ष्मी नरसिंह बादे श्रेष्ठलाई मेयर र रेखा दाहाललाई उपमेयर उठाउने निर्णय अनौपचारिक रुपमा गरेको छ । त्यस्तै मण्डन देउपुर नगरपालिकाको मेयरमा पार्टीका जिल्ला अध्यक्ष टोकवहादुर वाइबा र उपमेयरमा निर्मला शाहीलाई उम्मेदवार बनाउने तय भएको एमाले स्रोतले जनाएको छ ।

त्यस्तै धुलिखेल नगरपालिकाको मेयरमा अशोक ब्यान्जु र उपमेयरमा विमला शर्माको नाम अनौपचारिक रुपमा टुंगो लागेको छ ।

नमोबुद्धमा टीपी शर्मालाई मेयरमा अघि सारिने भएको छ । पनौतिको मेयरमा जिल्ला उपाध्यक्ष भीम न्यौपाने उम्मेदवार बनाउने तयारी एमालेको छ ।

गाउँपालिकामध्ये तेमालमा प्रदिप लामालाई प्रमुख र उषा घिसिङलाई उपप्रमुख बनाउने निर्णय भएको एमालेले जनाएको छ । त्यस्तै चौंरी देउरालीमा लेखराज गौतमलाई प्रमुख र इन्द्रमाया घिसिङलाई उपप्रमुख बनाउन लागिएको एमाले स्रोतले जनाएको छ ।

माओवादीका कमाण्डर मैदानमा, कांग्रेस उम्मेदवार छान्दै

माओवादी केन्द्रले मण्डन देउपुर नगरपालिकामा रीता ढकाललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । ढकाल सम्भवतः काभ्रेमा ठूला पार्टीबाट मेयरमा टिकट पाउने एकमात्र महिला हुन् ।
त्यस्तै बनेपा नगरपालिकामा तुलसीनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने तयारी माओवादीको छ ।

त्यस्तै तेमाल गाउँपालिका प्रमुखमा माओवादीले जनयुद्धकालीन कमाण्डर गंगाबहादुर दोङ बलध्वजलाई उम्मेदवार बनाउने भएको छ । अर्का जिल्ला नेता इन्द्रवहादुर तामाङ छिन्ताङलाई खानीखोला गाउँपालिका प्रमुखमा उठाउने तयारी माओवादीले गरेको छ ।

नमोबद्ध नगरपालिकामा रत्न लामालाई मेयरको उम्मेदवार बनाउने निर्णय भए पनि विवादास्पद छविका कारण उनको नाममा पार्टीभित्रै विवाद छ ।

कांग्रेसले उम्मेदवारहरुको औपचारिक निर्णय नगरे पनि मण्डन देउपुर नगरपालिकाको मेयरमा अच्युत पौडेल र उपमेयरमा पत्रकार राधिका ढकाललाई उम्मेवार बनाउने भएको छ । अन्य स्थानीय तहमा उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।

राप्रपाले आरजु केसीलाई पनौतीको मेयरमा अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment