मुम्बई । एक समय थियो, विनोद खन्नाको एकपछि अर्को हिट फिल्म लगालग आइरहेको थियो । ‘मुकद्दर का सिकन्दर’, ‘हेरा फेरी’, ‘अमर अकबर एन्थनी’ जस्ता फिल्महरुले यी हृयान्डसम हिरोको प्रभाव देखाइरहेको थियो ।
एकदिन अचानक उनले मुम्बईमा आफ्नो परिवारका सदस्यहरु समेत राखेर पत्रकार सम्मेलनको आयोजना गरे । त्यस क्रममा उनले फिल्म क्षेत्रबाट बिदा लिएको जानकारी दिए र ओशोको शिष्य बन्दै अमेरिका गए ।
फिल्म छोड्नु केही समय अगाडि पनि उनी सुटिङको सेटमा साधुको जस्तो पहिरनमा जान्थे । गलामा माला लगाएका हुन्थे ।
विनोद खन्नाको जीवनलाई नजिकबाट नियाल्ने हो भने उनी हर समय उल्टो धारबाट हिँडेको देखिन्छ । हिन्दी फिल्ममा सामान्य पात्र र खलनायकको भूमिका निर्वाह गर्ने खन्ना एकाएक टप स्टारमा सूचीकृत भए । तर, टप स्टारको सूचीमा परे लगत्तै फिल्मबाट बाहिरिए ।
सन १९६८ मा विनोद खन्नाले पहिलो पटक ‘मन का मीत’ मा काम गरेका थिए । पेशावर शहरबाट मुम्बई आएर बसेका खन्नालाई सुनील दत्तले निकै मन पराउँथे । आकर्षक व्यक्तित्व देखेरै सुनीलले उनलाई फिल्ममा लिएका थिए । उक्त फिल्ममा खन्ना खलनायक थिए भने नायक थिए सुनील दत्तका भाइ सोम दत्त । सोमदत्तलाई दर्शकले छिटै भुले पनि विनोद खन्नाका प्रशंसक आज पनि उत्तिकै छन् ।
सन् १९७०/७१ मा ‘आन मिलो सजना’, ‘पूरब और पश्चिम’, ‘सच्चा झुठ’ जस्ता फिल्म आए । तीमध्ये उनले केही फिल्ममा सहायक भूमिका निर्वाह गरे त केहीमा खलनायक बनेर देखिए ।
उनको खास परिचय भने गुलजारले बनाएको ‘मेरे अपने’ बाट स्थापित भयो । उक्त फिल्ममा उनले एउटा बेरोजगार युवाको चरित्र निर्वाह गरेका थिए । सन् १९७३ मा गुलजारको अर्को फिल्म ‘अचानक’ मा विनोद खन्नाले त्यस्तो भूमिका निर्वाह गरे, त्यस्तै भूमिका निर्वाह गरेर अक्षय कुमारले ‘रुस्तम’ बाट नेशनल अवार्ड पाए ।
त्यसपछि उनले जति फिल्ममा अभिनय गरे, ह्यान्डसम, ड्यासिङ र सेक्सी हिरोको रुपमा स्थापित भए । जब उनी फिल्म छोडेको घोषणा गर्दै ओशोको शरणमा पुगे, धेरैले उनलाई ‘सेक्सी सन्यासी’ भनेर टिप्पणी गर्थे ।
अमिताभसँग टक्कर
विनोदले बलिउडका हस्ती मानिने अमिताभ बच्चनसँग थुप्रै फिल्ममा काम गरेका छन् । ‘खुन पसीना’, ‘परवरिश’, ‘हेराफेरी’, ‘मुकद्दर का सिकन्दर’, ‘अमर अकबर एन्थोनी’ मा उनी अमिताभको साथ देखिए । उनका प्रशंसकहरु भन्छन् ‘यदि विनोद खन्नाले अभिनय नछोडेका भए, अमिताभलाई टक्कर दिने उनी नै हुन्थे ।’
लुक्स र स्टाइलको मामलामा खन्नालाई टक्कर दिने त्यतिबेला साह्रै थोरै थिए । सन् १९८७ मा फिल्ममा आएपछि केही औंसत र केही हिट फिल्ममा काम गरे । फिल्ममा जस्तै उनको निजी जिन्दगीमा पनि केही उतारचढाव आयो ।
ओशोको शरणमा गएपछि उनको पहिलो श्रीमतीसँग गीताञ्जलीसँग सम्बन्ध विच्छेद भयो । सन् १९९० मा कवितासँग उनको विवाह भयो ।
श्रीमती कविताका अनुसार, विनोदसँग उनको संयोगले भेट भएको रहेछ । आफूलाई औपचारिक निम्तो नभए पनि एक जना साथीले भनेकै आधारमा कविता विनोदको घरमा आयोजित पार्टीमा गएकी थिइन् । त्यहीँ दुवैको चिनजान भयो । त्यसपछि विनोद कवितालाई निरन्तर फोन गर्न थाले ।
एकदिन विनोद खन्ना ब्याडमिन्टन खेल्दै थिए । खेलबाट असिनपसिन भएका उनी कविताको छेउमा आए र अचानक सोधे, ‘तिमी म सँग बिहे गछ्र्यौ ?’
सुरुमा कविताले उनको प्रस्ताव अस्वीकार गरेकी थिइन् । तर, विनोदले अब तेस्रो बिहे गर्दिनँ भनेर वाचा गरेपछि मात्रै कविता सम्बन्ध जोड्न राजी भइन् ।
विनोद खन्नाको जीवनमा अचानक शब्दले निकै महत्व राख्छ । उनी अचानक साधु बने, अचानक राजनीतिमा आए । यो आकस्मिक आरोह-अवरोहको जीवनप्रति उनको गुनासो भने रहेन । अन्तर्वार्ताको क्रममा उनले भनेका थिए ‘हरेक मान्छे एक्लै आए, एक्लै जान्छन् । मैले जिन्दगीमा जे पाएँ, त्यसमा खुसी छु ।’