Comments Add Comment

उम्मेदवारी दिँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

१८ बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख ३१ गते सम्पन्न हुने पहिलो चरणको निर्वाचनका लागि मनोनयन दर्ता भोलि हुँदैछ । भोलि विहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । तर धेरैलाई कहाँ गएर कसरी उम्मेदवारी दिने भन्नेबारे अहिलेसम्म अन्यौल छ ।

निर्वाचन आयोगले उम्मेदवार बन्न केही प्रक्रिया र कागजपत्र तोकेको छ । ती आवश्यक भनिएका सामाग्रीका आधारमा मात्र हरेक नागरिकले उम्मेदवार बन्न पाउनेछ । त्योभन्दा पहिले कहाँ गएर उम्मेदवारी दिने भन्ने थाहा पाउन जरुरी छ ।

निर्वाचन आयोगले हरेक ७ सय ४४ स्थानीय तहमा एक/एक निर्वाचन अधिकृतको कार्यालय खोलेको छ । स्थानीय तहको प्रस्तावित केन्द्रमा त्यस्तो कार्यालय रहेको हुन्छ । वडादेखि स्थानीय तहको प्रमुख र उपप्रमुखले त्यहाँ पुगेर आफ्नो उम्मेदवारी दर्ता गर्न सक्नेछन् ।

उम्मेदवारी दर्ता गर्दा के-के चाहिन्छ ?

१. नागरिकताको प्रतिलिपी

उम्मेदवारी दर्ता गर्न जाँदै हुनुहुन्छ भने तपाईसँग अनिवार्य रुपमा नेपाली नागरिकताको प्रतिलिपी अर्थात फोटोकपी हुनुपर्ने छ । यससँगै दर्ताको क्रममा सक्कल नागरिकता पनि देखाउनु पर्नेछ ।

२. वडा अध्यक्ष वा सदस्यको उम्मेदवारी

वडा अध्यक्ष वा सदस्यका लागि उम्मेदवारी दिन लागेको हो भने सम्वन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा देखाउनु पर्नेछ । त्यस्तो निस्सा वडा कार्यालय वा निर्वाचन अधिकृतको कार्यालय वा जिल्ला निर्वाचन कार्यालयबाट प्राप्त गर्न सकिन्छ । निर्वाचन आयोगले मतदाता नामावलीमा भएको नाममात्र देखाएर उम्मेदवारी दिन नपाउने जनाएको छ । उम्मेदवारको सम्पूर्ण विवरण खुल्ने गरी प्रमाणित भएको हुनुपर्नेछ ।

३. दलित महिलाको उम्मेदवारी

यस्तै दलित महिला सदस्यका लागि उम्मेदवारी दिने व्यक्तिले सम्वन्धित स्थानीय तह वा वडा वा अधिकार प्राप्त निकायले दलित समुदायको व्यक्ति भएको प्रमाणित गरेको प्रमाणपत्र पेश गर्नु पर्नेछ । अन्यथा दलित भनेर चिनिएको परिवार वा थर हुँदैमा दलितको कोटाबाट उम्मेदवार बन्न पाइने छैन । यससँगै मतदाता नामावलीमा नाम भएको निस्सा र नागरिकताको प्रतिलिपी पनि अनिवार्य हुनेछ ।

४. प्रमुख/उपप्रमुख वा मेयर उपमेयर

गाउँपालिका प्रमुख र उपप्रमुख वा मेयर र उपमेयरका लागि उम्मेदवारी दिँदा उनीहरुले उक्त तहभित्रको कुनै वडाको मतदाता नामावलीमा नाम भएको निस्सा पेश गर्नुपर्नेछ । र यी दुवै पदमा एकै पार्टी वा चिन्हबाट उम्मेदवारी दिदा एक जना महिला अनिवार्य हुने व्यवस्था निर्वाचन आयोगले गरेको छ ।

ध्यान दिनुपर्ने अन्य कुराहरु

भोलि उम्मेदवारी दर्ता गर्न जाँदा एक दलले एकैपटक सबै पदमा उम्मेदवारी दिनुपर्नेछ । जस्तो कुनै पार्टीले एउटा गाउँपालिकाको उम्मेदवारी दिँदा प्रमुख र उपप्रमुख, उक्त तह अन्तर्गतका सबै वडाका वडाअध्यक्ष र सदस्यहरुको एकैसाथ उम्मेदवारी दिनुपर्ने आयोगले जनाएको छ ।

जस्तै एकपटक प्रमुख र उपप्रमुखको उम्मेदवारी दिने, केहीबेरपछि वडा सदस्यको उम्मेदवारी दिने र अर्को समयमा वडा अध्यक्षको उम्मेदवारी दर्ता गर्न पाइने छैन ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, ‘हरेक दलले आफुले पाएको समयमा सबै प्रक्रिया पुरा गरेर एकैसाथ उम्मेदवारी दिने जति पदमा उम्मेदवारी दिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment