Comments Add Comment

युवतीहरुको बाइक दौड, कसले मार्छ बाजी ?


२३ वैशाख, काठमाडौं । आज शनिबार इन्टरनेशनल फिमेल राइड डे । यसै मेसोमा फिमेल राइडर्सको लस्कर देखियो, भक्तपुर-कोटेश्वर सडक खण्डमा । स्कुटरमा लामबद्ध उनीहरु सातदोबाटोतिर लम्किरहेका थिए, जहाँ रेसमान्डु हुँदै थियो ।

बिहान ८ नबज्दै भक्तपुरको सानोठिमीस्थित प्राविधिक शिक्षालयमा भेला भएका यी फिमेल राइडर्स बेलुन उडाएर कार्यक्रमको थालनी गरे । मोटरस्पोर्टस्को माध्यामबाट महिला शसक्तिकरणको अभियान अघि बढाइएको संकेत पनि गरे, उनीहरुले । यसो भन्दै, ‘जहाँ, जसरी, जे चढेपनि शनिबार तपाईकै राइड डे हो ।’

बर्षेनी मे महिनाको पहिलो शनिबार यो उत्सव मनाइन्छ, विश्वभर । यसबर्ष ‘जस्ट राइड’ नारा तय गरएको छ । जुनसुकै स्थानमा रहेका महिलाहरु पनि सवारी साधनमा चढेर उन्मुक्त आनन्द लिनेछ भन्ने ध्येयसँगै मनाइने फिमेल राइड डेमा राइडर्स युवतीहरु गोलबद्ध भएका हुन् ।

त्यसो त अहिले भित्रभित्रै ‘वुमन पावर इन मोटरसाइकलिङ स्पोर्टस्’ अभियान छेडिएको छ । नेपाल अटोमोवाइल एसोसिएसन (नासा) अन्र्तगत मोटरसाइकल फेडेरेसशनले यसको मेलोमेसो मिलाएको हो ।


रेसमान्डु रौनक

यतिबेला बाइक लभर्स सातदोबाटोस्थित स्विमिङ कम्प्लेक्स परिसरमा भेला भएका छन्, जहाँ रेसमान्डु हुँदैछ । शहरी युवामाझ सर्वाधिक लोकपि्रय एकमात्र मोटरसाइकल रेसिङ हो यो । स्विमिङ कम्प्लेक्सको रेसिङ ट्र्याकमा करिब ७ दर्जन युवतीहरु प्रतिस्पर्धा गर्दैछिन् । रेसमान्डुमा नोभिस अन्र्तगत दुई समूह र नेसनल गरी तीन समूहमा खेल सञ्चालन हुने मिडिया संयोजक एकराज सुवेदीले बताए ।

नोभिस क्याटगोरी ए समूहमा १ सय ९८ सिसीसम्मका र नोभिस क्याटगोरीमा बी मा १ सय ९९ देखि २ सय ५० सिसी मोटरसाइकल राइडर सहभागी छन् । मोटरसाइकल स्पोर्ट्स लाइसेन्स प्राप्त राइडर्सले मात्र सहभागीता जनाउन पाउने यो बाइक दौड पाँचौ संस्करण अन्र्तगत हुन लागेको हो । नासाका महासचिव गोविन्द भट्टराइका अनुसार प्रतियोगितामा बिजेता, उपविजेतालाई नगद पुरस्कार, ट्रफी दिइनेछ ।

डरलाग्दो स्टन्ट शो

एकातिर फिमेल राइड डेको रौनक चलिरहेको बेला युवा स्टन्ट राइडर्सले चाहि जोखिमपूर्ण कला पस्कदै थिए । सानोठिमीको प्राविधिक शिक्षा परिसरमा सिनियर स्टन्ट राइडर दिपेश श्रेष्ठ सहितका युवाहरु कहिले बत्तिएको बाइकमा लम्पसार परे, कहिले बृत्तकार शैलीमा फनफनी घुमाइदिए, कहिले अघिल्तिरको भाग उठाएर बेपत्तासँग हुँइक्याइदिए ।

उनीहरुले ल्यान्डस्केप, कम्पास, साइट स्केच वाहेक वर्न आउट र लेजे वोय जस्ता स्टन्ट पस्किए । इन्जिनको शक्ति र व्रेकको सन्तुलनमा पछाडिको टायरलाई धुँवाको मुस्लो निस्कनेगरी घुमाउनुलाई वर्न आउट भनिन्छ । यस्तै, लेजे वोय अन्र्तगत वेतोडले वत्तिरहेको वाइकमा लम्पसार परेर सुत्ने कला देखाइन्छ । वाइकलाई वृत्तकार घुमाउनुलाई ह्युमन कम्पास भनिन्छ । अनि, साइड स्केचमा चाहि एक छेउमा वसेर वाइकलाई फनफनी घुमाइन्छ ।

स्टन्ट शो हेर्दा जति भयावह र जोखिमपूर्ण देखिन्छ, त्यस्तो नहुने स्टन्ड राइडर दिपेश श्रेष्ठले बताए । खासमा यो एकाग्रता, सन्तुलन, आत्माविश्वासको खेल भएको उनको भनाई थियो ।

भिडियो हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment