Comments Add Comment

चुनावमा भोट माग्दै मेलापातदेखि व्रतबन्धसम्म

शंखरापुरबासी भन्छन्- बाटो बनाऊ, खानेपानी देऊ

२४ बैशाख, काठमाडौं । शंखरापुर नगरपालिकाको मेयर पदका कांग्रेस उम्मेदवार शंकर तिवारी घरदैलोमा होइन मेलापात निस्किए । एक नम्बर वडाको भारेगाउँमा भेटिए डोको बोकेर हिँडेका एक वृद्ध । तिवारीले च्याप्प हात समातेर भोट मागे ।

‘सधैं भोट माग्छन्, काम गर्दैनन् । बाटो छैन । पानी छैन,’ ति वृद्धले आफ्ना समस्या एकै सासमा सुनाए ।

तिवारीले पनि जवाफ फर्काए- म यही गाउँको तपाईंको छोरो हुँ । यसपटक मलाई जिताउनुस् । सबै काम गर्छु ।’

शंखरापुर नगरपालिकामा कांग्रेस नेता-कार्यकर्ताले भोट माग्ने नयाँ शैली अपनाएका छन्, मेलापातमै पुगेर मतदातालाई भेट्ने । बिहानै उठ्ने, मेलापात जाने, पानी ओसार्ने शंखरापुर नगरपालिकाको गाउँले जीवनशैली हो यो । ‘मतदाताहरु घरमा भन्दा पानी पँधेरो, मेलापातमा धेरै भेटिन्छन् । त्यसैले म पनि जहाँ धेरै मान्छेको जमघट हुन्छ, त्यहीँ पुगेर भोट मागेको छु,’ तिवारीले भने ।

शंखरापुर नगरपालिकामा कांग्रेसका शंकर तिवारीसहित एमालेका सुवर्ण श्रेष्ठ र माओवादीका कृष्णराज सुवेदी मेयर पदका उम्मेदवार छन् । श्रेष्ठ र सुवेदी पाका उमेरका छन् । तर तिवारी ३० वर्षे युवा छन् । सम्भवत उनी काठमाडौं उपत्यकामै कांग्रेसका सबैभन्दा कम उमेरको उम्मेदवार हुन् । उनी बुवा भन्न सुहाउने उमेरका उम्मेदवारहरुसँग चुनावमा प्रतिस्पर्धा गर्दैछन् ।

उनी कहिले पानीको पँधेरोमा पुग्छन्, कहिले बिहे व्रतबन्धमा र कहिले दूध डेरीमा । कहिले तामाङ समुदायले मनाउने छेवारमा पुगेर भोट मागिरहेका भेटिन्छन् ।

गत शुक्रबार उनी चापाबोटको कृष्णलाल बजगाईंको घर नजिकै व्रतवन्ध स्थलमा भेटिए । व्रतबन्ध गरिरहेका किशोरलाई उनले अंगालो हाले । पण्डित, अभिभावक र आफन्तहरुलाई दुई हात जोड्दै भोट मागे ।

‘व्रतबन्धमा धेरै मानिसहरु जम्मा भएका हुन्छन् । त्यही भएर मलाई यहाँ आउन ठीक लाग्यो,’ तिवारीले भने, ‘पिछडिएको साँखु गाउँले पहिलोपटक स्थानीय तहको नेतृत्व गर्ने मौका पाउँदैछ । यसपटक मलाई मौका दिनुस् ।’

त्यहाँ भेला भएका स्थानीयको प्रतिक्रिया पनि भारेगाउँमा भेटिएका वृद्धको भन्दा खासै फरक आएन । ‘धेरैजनाले यसो गर्छु र उसो गर्छु भने तर विकास गरेनन् । आफ्नो दुःख आफैसँग छ शंकर सर,’ स्थानीयले दुःख बिसाए ।

शंकर तिवारी स्थानीय कलेजमा पढाउँछन् । त्यसैले धेरैजसोले उनलाई ‘शंकर सर’ भनेर चिन्दछन् । उनले व्रतबन्धमा जम्मा भएकाहरुलाई पनि आफूले विकास गर्ने भन्दै आश्वस्त पार्ने प्रयास गरे- ‘म पनि गरिब परिवारकै व्यक्ति हुँ । मलाई बुवाले कति धेरै दुःख गरेर पढाउनु भयो भन्ने कुरा तपाईंहरुलाई थाहै छ । चुनावमा भाग लिनुस् र योग्य उम्मेदवार जिताउनुस् ।’

चापाबोटको व्रतबन्ध स्थलभन्दा दुई-चार घर पर जस्ताको टहरामा बसेर एक महिला नवजात शिशुलाई तेल घस्दै थिइन् । कार्यकर्ताहरुसँग त्यहीँ पुगेर कांग्रेस उपमेयरकी उम्मेदवार मन्जु खड्काले भोट मागिन् ।

शंखरापुर नगरपालिका काठमाडौं र काभ्रेसँग जोडिएको छ । यहाँ नेवार समुदायको बाक्लो बस्ती छ । मेलम्ची र ‘नयाँ इलाम’ भनेर चिनिने चिया बगान जाँदा शंकरापुर नगरपालिका भएर जानुपर्दछ ।

जर्सिङपौवा नेपालको सबैभन्दा धेरै मानिस पिकनिक जाने स्थलहरु मध्येको एक हो जहाँ गणेशमान सिंह स्मृति पार्क छ, त्यो पनि यही नगरपालिकामा पर्दछ । बज्रयोगिनी र शालीनदी जस्ता पवित्र धार्मिकस्थल पनि शंकरापुर नगरपालिकाभित्रै पर्दछन् । तर, यो शंखरापुर नगरपालिकामा पर्ने बस्तीका बासिन्दाले विकासको अनुभूति गर्न पाएका छैनन् ।  भूकम्पबाट ठूलो क्षति व्यहोरे शंखरापुरबासीले । जस्ताले बेरिएको साँघुरो टहरोभित्र दुःख काट्दैछन् उनीहरु ।

त्यसैले स्थानीय तह चुनावमा शंखरापुरका उम्मेदवारहरुले पिछडिएका बस्तीको विकास, रोजगारीको सिर्जना, खानेपानी, सडक निर्माण, धार्मिकस्थलको संरक्षण र भूकम्पले क्षति पुर्‍याएका संरचनाहरुको पुनर्निर्माणलाई चुनावको मुख्य एजेण्डा बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment