Comments Add Comment

अनलाइनखबर डटकमको चुनाव विशेष डाटा पोर्टल सार्वजनिक

२४ बैशाख, काठमाण्डौं । नेपालको नम्बर १ न्यूज पोर्टल अनलाइनखबर डटकमले स्थानीय निर्वाचन २०७४ को अवसरमा चुनावी तथ्याङ्क पोर्टल (इन्ट्राक्टिभ इलेक्सन डाटा पोर्टल) सार्वजनिक गरेको छ ।

७ सय ४४ वटै स्थानीय तहको विस्तृत नक्सा, स्थानीय तहको जनसंख्या, केन्द्र, स्थानीय तहमा प्रतिस्पर्धा गरिरहेका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारको सूची यो पोर्टलमा समावेश गरिएको छ ।

इलेक्सन डट अनलाइनखबर डटकममा गएर प्रयोगकर्ताहरुले पहिलो चरणको निर्वाचन हुने जिल्लाहरुमा माउस गुडाउँदा सम्बन्धित जिल्लाको प्रोफाइल देख्न सक्नेछन् । कुनै पनि जिल्लाको नक्सा क्लिक गर्दा सो जिल्लाको पेजमा गई जिल्लामा रहेका स्थानीय तहको संख्या र भूगोलबारे जानकारी लिन सकिनेछ ।

सम्बन्धित स्थानीय तहको नक्सामा क्लिक गरेपछि स्थानीय तहको पेजमा पुगिन्छ, जहाँ स्थानीय तहको नक्सासहित विस्तृत विवरण समावेश गरिएको छ । स्थानीय तहका प्रमुख तथा उपप्रमुख पदमा आकांक्षी मुख्य दल तथा स्वतन्त्र उम्मेदवारको नामावली र प्रोफाइलसमेत यो डाटा पोर्टलमा समावेश गरिएको छ । प्रोफाइल समावेश गरिएका नाममा क्लिक गर्दा सम्बन्धित उम्मेदवारको प्रोफाइल पढ्न सकिने छ ।

‘विकास र सम्वृद्धिको सम्वाहकका रुपमा रहेको स्थानीय तह निर्वाचन डाटा पोर्टल सार्वजनिक गर्न पाउँदा हामी निकै उत्साहित भएका छौं’ अनलाइनखबर डटकमका संस्थापक एवं प्रधान सम्पादक धर्मराज भुसालले भने-‘पहिलोचोटि हुन लागेको यो निर्वाचनका बारेमा धेरै अन्योल र कौतुहल रहेका बेला भूगोल, जनसंख्या, राजनीतिक दल, उम्मेदवार र उम्मेदवारको विस्तृत प्रोफाइलसमेत राखिएको हुँदा प्रयोगकर्ताको सबैखाले चासोलाई समाधान गर्ने हामीले विश्वास लिएका छौं ।’

डाटा पोर्टलमा निर्वाचनअघि उम्मेदवारको विवरण राखिने र निर्वाचन समाप्त भएपछि नतिजाको लाइभ अपडेट गरिने भुसालले जानकारी दिए ।

हाल पहिलो चरणको निर्वाचन हुने प्रदेश नम्बर ३, ४ र ६ को मात्रै डाटा समावेश गरिएको छ । दोस्रो चरणको उम्मेदवारी दर्ता प्रकृया सुरु भएपछि ती क्षेत्रको पनि तथ्याङ्क समावेश गरिने छ ।

पछिल्ला विश्वस्तरीय प्रविधिको प्रयोग गर्दै तयार पारिएको डाटा पोर्टलमा कुनै पनि दातृ निकाय वा संघ संस्थाको सहयोग लिइएको छैन । यसमा रहने कमी कमजोरीलाई पाठकहरुबाट प्राप्त सुझावका आधारमा सुधार गर्दै लगिनेछ ।

तपाईंको स्थानीय तहको विवरण छुट्यो वा गल्ती भयो ? यस्तो भएमा [email protected] वा ०१-४७८००७६ नम्बरमा सिधै सम्पर्क गरी  सुझाव दिन सक्नुहुनेछ ।

इलेक्सन डट अनलाइनखबर डटकममा जान यहाँ क्लिक गर्नुस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment