Comments Add Comment

चीनको ‘वान वेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गर्ने सरकारको निर्णय

काठमाडौंमै हस्ताक्षर गर्ने तयारी

२५ बैशाख, काठमाडौं । सरकारले उत्तरी छिमेकी चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले ‘वान बेल्ट वान रोड’ अवधारणामा सहमति जनाउँदै हस्ताक्षर गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार ओबीओआर अवधारणामा एक दुई दिनमा काठमाडौंमा परराष्ट्रमन्त्रीको उपस्थितिमा परराष्ट्र सचिव र चिनियाा राजदूतले हस्ताक्षर गर्नेछन् ।

साथै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा तीन सदस्यीय टोली चीन पठाउने निर्णय भएको छ ।  ‘बैशाख २९ गते उपप्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधि मण्डल चीन जाने निर्णय भएको छ’, सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्कीले भने ।

केही समय अघि चीन भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले ओबीओआरमा हस्ताक्षर गर्ने बचन दिएका थिए । त्यसअनुसार प्रचण्ड सरकारको कार्यकालको अन्त्यतिर ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गर्ने निर्णय भएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा यो अवधारणा अघि सारेका थिए । र, चीनले यसमा नेपालको समर्थनलाई निकै महत्वका साथ लिएको थियो ।

नेपालले ‘वान बेल्ट वान रोड’को प्रारम्भीक समझदारी पत्रमा ०१४ मा नै हस्ताक्षर गरेको पनि थियो । तर, यसमा दक्षिणी छिमेकी मुलुक भारतले हस्ताक्षर गरेको छैन । त्यही कारण नेपालले पनि आनाकानी गरेको आशंका गर्ने गरिएको थियो ।

तर, अब यो तोडिएको छ । ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गरेपछि चीनले नेपालमा सडक, रेल सञ्जाल लगायतमा आर्थिक सहायता उपलब्ध गराउनेछ ।

मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको श्रीलंका भ्रमण पनि स्वीकृत गरेको छ । । राष्ट्रपति भण्डारी २९ गते श्रीलंका जाने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment