+
+

उपेन्द्रको चेतावनीः संशोधन विना मधेसमा चुनाव हुन दिन्नौं

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २५ गते २०:५२

२५ वीरगञ्ज, बैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए मधेशमा चुनाव हुन नसक्ने चेतावनी दिएका छन् । संशोधन गर्न सरकार गम्भीर देखिएको र प्रक्रिया पनि अघि बढेकाले मात्र पहिलो चरणको चुनावमा उम्मेदवारी दिएको उनको जिकिर छ ।

पर्साको वीरगञ्जमा सोमबार आयोजित पार्टीको कार्यक्रममा संघीय समाजवादी फोरम अध्यक्ष यादवले संविधान संशोधन नभएसम्म दोश्रो चरणमा हुने भनिएको चुनावमा फोरम नेपालले भाग नलिने बताए । दोस्रो चरणको चुनाव नभए पहिलो चरणको पनि कुनै अर्थ नहुने भन्दै उनले भने, ‘जबसम्म संविधान संशोधन हुँदैन, तबसम्म मधेसमा चुनाव हुन दिन्नौं ।’

मधेसको एजेण्डामा आफुहरुको अडान कायमै रहेको स्पष्ट पार्दै उनले भने, ‘अहिले फोरम नेपालका बारेमा फिजाइएको हल्ला भ्रम मात्रै हुन्, हामी मधेसको एजेण्डामा कुनै किसिमको सम्झौता गर्न तयार छैनौं ।’

एमालेले संघीयता, धर्म निरपेक्षता र समावेशी लोकतन्त्रलाई समाप्त पार्न आन्तरिक निर्णय नै गरिसकेको उनको दाबी छ । उनले अघि भने, ‘सोझो राजनीतिले अधिकार पाइँदैन, अधिकारका लागि राजनीतिमा औंला टेढो पार्नैपर्छ, त्यसैले हामी अहिले पनि आन्दोलन र संघर्षको मैदानमा छौं ।’

पार्टीको आगामी रणनीतिका बारेमा छलफल गर्न आयोजित गोष्ठीमा वरिष्ठ नेता अशोक राई, उपाध्यक्ष लालबाबु राउत, महासचिव रामसहाय यादव, मधेस प्रदेश सचिव शेष नारायण यादवका साथै राजनीति समिति सदस्य, केन्ऽीय पार्षद,सल्लाहकार समितिका सदस्य, प्रदेश समितिका पदाधिकारी र सदस्य तथा पर्सा, बारा, रौतहट र सर्लाहीका जिल्ला अध्यक्षहरुको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?