Comments Add Comment

एमालेले धोका दिएपछि तनहुँमा माओवादी उम्मेदवारविहीन !

२६ बैशाख, काठमाडौं । तनहुँका केही स्थानीय तहमा माओवादी केन्द्रले मेयर र उपमेयरको उम्मेदवार नै नउठाई चुनावी प्रतिस्पर्धामा होमिएको छ ।

दुई पार्टीवीच चुनावी तालमेल गर्ने समझदारीलाई उम्मेदवारी दर्ता गर्दा एमालेले बेइमानी गरेपछि केही स्थानीय तहमा माओवादी केन्द्रले उम्मेदवारी दिन नपाएको हो ।
पूर्वसमझदारी विपरीत एमालेले जिल्लाका सबै स्थानीय तहमा प्रमुख र उपप्रमुख सहित सबै पदमा उम्मेदवारी दिँदै समझदारी भंग गरेको माओवादी केन्द्रले जनाएको छ ।

अनलाइनखबरसँग कुरा गर्दै माओवादी केन्द्रका तनहुँ जिल्ला अध्यक्ष हरिबहादुर सुमनले भने, ‘दुई पार्टीवीच भएको तालमेल गर्ने समझदारीअनुसार माओवादीलाई छाड्ने ठाउँमा समेत एमालेले अन्तिममा उम्मेदवारी दियो ।

हामीले भने इमान्दार बनेर एमालेलाई छाड्ने भनेको ठाउँमा उम्मेदवारी दिएनौँ । त्यसो हुँदा केही स्थानीय तहमा प्रमुख र उपप्रमुखको उम्मेदवार विनै चुनावमा भाग लिने स्थिती बनेको हो ।’

यस्तो थियो समझदारी

तनहुँको कुल १० स्थानीय तहमध्ये ९ वटा स्थानीय तहमा दुई पार्टीवीच भागबण्डा मिलेको थियो । उक्त समझदारी अनुसार माओवादी केन्द्रले एक नगरपालिका र एक गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिने र बाँकी सातवटामा एमालेले प्रमुखमा उम्मेदवारी दिने समझदारी भएको थियो ।

यस्तै माओवादी केन्द्रलाई चार उपप्रमुख र एमालेलाई ५ उपप्रमुख दिने समझदारी भएको थियो । तर उम्मेदवारी दर्ता गर्ने दिन अवेर एमालेले सबै स्थानीय तहको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिँदै समझदारी भंग गरेको माओवादी केन्द्रले आरोप लगाएको छ ।

व्यास नगरपालिकामा भने एमालेले मेयर र माओवादी केन्द्रले उपमेयर पाउने गरी तालमेल कायम राखेको छ । बाँकीमा माओवादी केन्द्रले कुनैमा प्रमुख विनै र कुनैमा उपप्रमुखको उम्मेदवार विनै प्रतिस्पर्धामा उत्रेको हो ।

भानु नगरपालिका र भिमाद नगरपालिकामा माओवादी केन्द्रको मेयरको उम्मेदवार नै खाली रहेको छ ।

माओवादी केन्द्रले पूर्वसमझदारीमा एमालेले धोका दिएका कारण चुनावमा एमालेविरुद्ध अन्य पार्टीका उम्मेदवारलाई मतदान गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रका जिल्ला अध्यक्ष हरिबहादुर सुमनले खाली भएको ठाउँमा अन्य पार्टीलाई मतदान गर्ने बताए ।

सुमनका अनुसार केही ठाउँमा कांग्रेससँग तालमेल भएको र केही ठाउँमा छलफल चलिरहेको छ । एमालेसँग समझदारी भंग भएपछि शुक्ला गण्डकी नगरपालिकाको मेयरमा कांग्रेसलाई र उपमेयरमा माओवादी केन्द्रलाईमत दिने समझदारी भएको छ ।

के भन्छ एमाले ?

एमालेले भने आन्तरिक व्यवस्थापन गर्न नसक्दा सबै तहमा उम्मेदवारी दिनुपरेको बताएको छ । एमाले जिल्ला नेता केदार सिंहले तालमेल गर्ने समझदारीलाई आफ्ना स्थानीय कार्यकर्ताले अस्वीकार गर्दा यस्तो समस्या आएको बताए ।

उनले अघि भने, झट्ट हेर्दा एमाले बेइमान जस्तो देखिएको छ । तर, पार्टीभित्रकै आन्तरिक समस्या व्यवस्थापन गर्न नसक्दा यस्तो हुन पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment