Comments Add Comment
स्थलगत रिपोर्ट :

आशाको टेको टेकु अस्पताल

२८ वैशाख, काठमाडौं । आँगनभरि कोरोना संक्रमणले आक्रान्त पारेका बिरामीहरु छन् । हरेकको मुखमा अक्सिजन मास्क लगाइएको छ । छेउमै अक्सिजन सिलिण्डर ठड्याइएका छन् । वरपर बिरामीका आफन्त झिनो आशा अनुहारमा बोकेर कुरिरहेका देखिन्छन् ।

मंगलबार दिउँसो टेकु अस्पताल पुग्दा आँगनभरि देखिएको दृश्य हो यो । टेकु अस्पतालको आँगनमा बेडका लागि पालो पर्खिएका बिरामीले टेक्ने ठाउँ छैन भन्दा अतिशयोक्ति नहोला । त्यही बेला इमर्जेन्सीभित्रबाट डा. अनुप बास्तोला र डा. प्रमोद भट्ट आइपुगे ।

बास्तोला आएसँगै आँगनमा रहेका बिरामी र तिनका आफन्तको मुहार एकाएक उज्यालियो । यसपछि डा. बास्तोलाले क्रमैसँग बिरामीको जाँच गर्न थाले । उनले संक्रमितलाई जाँच मात्रै गरेनन् धाप मार्दै हौसला समेत बढाइरहेका थिए । आफन्तले समेत छुन डराएका संक्रमितहरूको हात समाएर उनी सम्झाइरहेका दृश्य जस्तै कठोर मनलाई पनि पगाल्ने खालको थियो ।

बिरामीहरू पनि संक्रमणको सकस बिर्सिएर एकैछिन भए पनि डा. बास्तोलासँग हाँसी–हाँसी कुरा गर्न थालेका थिए । आफूलाई भएका समस्या खुलस्त बताउन थाले ।

‘अक्सिजन लेभल केही कम मात्र भएको हो । अरू आत्तिनु पर्ने चिज केही छैन,’ डा. बास्तोला बिरामीको मनोबल उच्च पार्न यस्तै–यस्तै सुझाइरहेका थिए । बिरामीलाई मात्र नभई झर्को नमानी तिनका आफन्तसँग पनि उनी शालिन अनुहार लिएर अन्तरक्रिया गरिरहेका थिए ।

अहिले टेकु अस्पतालका डाक्टरदेखि कर्मचारीसम्मको दैनिकी कोरोना संक्रमित सँगसँगै बित्छ । उनीहरुकै पीडा सुन्न र सकसमा सजिलो बनाउनै फुर्सद हुँदैन । उनीहरूमध्ये अधिकांशले ओभरटाइम ड्युटी (अतिरिक्त समय) गरेका छन् ।

‘अक्सिजन लेभल केही कम मात्र भएको हो । अरू आत्तिनु पर्ने चिज केही छैन,’ डा. बास्तोला बिरामीको मनोबल उच्च पार्न यस्तै–यस्तै सुझाइरहेका थिए । बिरामीलाई मात्र नभई झर्को नमानी तिनका आफन्तसँग पनि उनी शालिन अनुहार लिएर अन्तरक्रिया गरिरहेका थिए ।

केही नर्स र कर्मचारीले त निरन्तर दुई दिनदेखि ड्युटी गरिरहेका थिए ।  तैपनि रत्तिभर विचलित नभई सेवामा खटिएका यी डाक्टर, नर्स तथा कर्मचारी बिरामीका साथीजस्ता लाग्थे । बिरामीका आफन्तका लागि भरोसाजस्ता देखिन्थे ।

अक्सिजन सिलिण्डर मिलाउने कर्मचारीले पनि बिरामीलाई खान हुने र नहुने कुरा बताउँदै डाक्टरको समय बचत गरिदिएको देखिन्थ्यो । नयाँ आएका बिरामीलाई बस्ने बेन्च तथा म्याटको जोहो गर्न उनीहरू सक्रिय थिए ।

अहिलेसम्म इमर्जेन्सी आइपुग्ने बिरामीलाई टेकु अस्पतालले निराश फर्काएको छैन । आफूसँग भएको अक्सिजन सिलिण्डर सबै बिरामीलाई सहजै उपलब्ध गराइरहेको छ ।

टेकु आइपुगे बाँचिन्छ !

काठमाडौं सितापाइलाका ५५ वर्षीय अमृत मल्ललाई दुई दिनदेखि सास फेर्न सकस भयो । छोराछोरीको सहयोगमा घरमै अक्सिजन लेभल नापेका उनले एक्कासी छाती दुख्न थालेपछि टेकु अस्पताल जाने निर्णय गरे ।

‘टेकु आइपुगे बाँचिन्छ भन्ने लागेर सीधै यहीं आएँ,’ नाकमा लगाएको अक्सिजन मिलाउँदै मल्लले भने, ‘यहाँ आएपछि कम्तीमा अक्सिजन त लिन पाइयो ।’

काठमाडौं चन्द्रागिरीका कृष्ण रिजाल पनि श्रीमतीलाई सास फेर्न गाह्रो भएपछि सीधै टेकु अस्पताल ल्याएर आएको बताउँछन् ।  एक साताअघि ४२ वर्षीय श्रीमतीको अक्सिजन लेभल घटेपछि रिजालले सुरुमा नगरपालिकाकै स्वास्थ्य केन्द्रमा जाँच गराए । त्यसैदिन दिउँसो सास अड्किन थालेपछि उनले श्रीमतीलाई टेकु ल्याए ।

‘म आउँदा बेड त थिएन तर यहाँका डाक्टरहरूले बिरामीको अवस्था हेरेपछि जसोतसो आईसीयूमा एउटा बेड मिलाइदिनुभयो,’ थकित देखिएका रिजालले सुनाए ।

अहिले रिजालकी श्रीमतीलाई डा. बास्तोलाकै निरीक्षणमा आईसीयूमा राखिएको छ । डा. बास्तोलाले बेलाबेलामा रिजाललाई नै भेटेर श्रीमतीको स्वास्थ्य अवस्थाबारे बताउने गरेका छन् । त्यसले आफू आशावादी भएको बताउँदै रिजालले भने, ‘यहाँको जस्तो राम्रो व्यवहार अन्य सरकारी अस्पतालमा पनि भए सर्वसाधारणको विश्वास बढ्ने थियो । डाक्टर भगवान हुन् भन्ने मान्यता अझ उँचो हुने थियो ।’

टेकु पचलीकै स्थानीय उदय श्रेष्ठ पनि बुबालाई कोरोना लक्षण देखिएपछि घर नजिकैको यही अस्पताल आइपुगेका भेटिए । अरू बेला रेबिज, टिटानसको सुई लगाउन आउने उनी अहिले अक्सिजनका लागि यहाँ आइपुगेका हुन् ।

‘पहिलेदेखि नै यहाँ छिटो उपचार पाइन्थ्यो । अहिले भिड बढेपनि टेकुबाहेक अन्त लैजान्नँ होला,’ श्रेष्ठले भने ।

देशभरिको केन्द्र बन्दै टेकु

आधिकारिक नाम ‘शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल’ भएपनि आमरुपमा यसलाई टेकु अस्पताल भनेर चिन्ने गरिन्छ । देशको एक मात्र सरुवा रोगको यो अस्पताल वि.सं. १९९० को भूकम्पपछि खुलेको हो ।

कुल तीन सय जनशक्ति कार्यरत टेकुले कोरोना मात्र नभई एचआईभी, टीबी, डेंगुलगायत विषम प्रकारका संक्रामक रोगको उपचार गर्दै आएको छ । अहिले कोरोनाको दोस्रो लहर तीव्र बढेसँगै देशैभरिबाट संक्रमितहरू टेकु अस्पताल आउने गरेका छन् ।

‘संक्रामक रोगका लागि यो अस्पताल प्रसिद्ध छ भन्ने सुनेकाले म यहाँ आएको हुँ’ कञ्चनपुरबाट आएका भीम थापा भनिरहेका थिए ।  उनी जिल्लामा कोरोनाको उपचार सम्भव नहुने भएपछि संक्रमित श्रीमतीलाई एम्बुलेन्समा ठूलो रकम तिरेर टेकु आइपुगेका हुन् ।

थापा मात्र होइन नेपालगञ्ज, जनकपुर, बुटवल, झापा, पोखराबाट पनि संक्रमितहरू दैनिक टेकु अस्पताल आइरहेका छन् । यद्यपि, बिरामीको अवस्था जाँचपछि मात्र टेकुले भर्ना लिने÷नलिने निर्णय गर्दै आएको बताउँछन् निर्देशक डा. सागरराज भण्डारी ।

भण्डारीका अनुसार २०७७ फागुनदेखि नेपालमा कोरोना संक्रमणको लहर सुरु भएसँगै टेकु अस्पताल नै कोरोना–केन्द्र बन्दै आएको छ ।

‘सरकारले यति समयसम्म पनि सरुवा रोगको लागि अर्को विकल्प सिर्जना नगर्दा भिड बढेको छ,’ निर्देशक भण्डारी भन्छन्, ‘सरकारबाट अर्को व्यवस्था नभएपनि हामीले आफ्नो तर्फबाट सबै उपाय लगाएर कोरोनाको उपचार गरेका छौं ।’

संक्रमितको संख्या दिन–प्रतिदिन बढेर बेडको अभाव भएपनि टेकु अस्पतालले आकस्मिक उपचार प्रदान गर्दै आएको डा. भण्डारीले प्रष्ट पारे ।

तस्वीर र भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment