Comments Add Comment

संकटमा नागरिक, मुलुकमा छैन सरकार

२८ वैशाख, काठमाडौं । जनताका प्रतिनिधिहरुको सार्वभौम थलो संसदमा सोमबार केहीघण्टा राजनीतिक आरोप प्रत्यारोप चल्यो । सांसदहरुले मतदान गरे र, विश्वासको मत नपाएपछि साँझपख प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भए ।

त्यसको केहीबेरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमणका कारण एकै दिनमा १३९ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गर्‍यो ।

दुर्योग मान्नुपर्छ, जतिबेला कोरोना महामारीले आम नागरिकलाई तहसनहस बनाइरहेको छ, त्यही बेला मुलुकमा सरकार छैन !

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनका अनुसार कोरोना भाइरस अहिले धेरै घरमा पुगिसकेको छ । नयाँ भेरियन्ट तीव्र गतिमा फैलिने भएकाले अहिले एकै परिवारमा एकभन्दा बढी सदस्य संक्रमित भएका छन् ।

अब भाइरसले गर्न सक्ने प्रभाव सामना गर्नुको विकल्प छैन । जनस्वास्थ्य विद् डा. पुन भन्छन्, ‘हिजोका दिनमा हामी कसरी संक्रमणबाट बच्ने भन्नेमा थियौं । अब संक्रमण भएकाहरुलाई कसरी बचाउने भन्ने चरणमा पुगिसकेका छौं ।’

जनस्वास्थ्य विज्ञहरुका अनुसार यो चरणमा अस्पतालहरुमा बेड, आईसीयू, भेन्टिलेटरलगायत सुविधा थप्ने र कोभिड–१९ को संक्रमणको गम्भीर असर देखिएका धेरैभन्दा धेरेको जीवन बचाउन प्रयास गर्नुपर्छ ।

उनीहरुका भनाइमा नेपालको स्वास्थ्य क्षेत्रमा सामान्य अवस्थामा नै स्रोत साधन र जनशक्तिको सिमितता छ, महामारीको बेला अपर्याप्त हुन्छ नै । यस्तो बेला महामारीविरुद्ध लड्न सिंगो राज्यको स्रोत साधन लगाउनुपर्छ र योजनावद्ध तर, तीव्र गतिमा काम गर्नुपर्छ ।

तर यतिबेला देशमा सरकार छैन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार कामचलाउ भइसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएर संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठन गर्न आह्वान गरेकी छन् ।

तर राष्ट्रपतिले आह्वान गरेको २४ घण्टासम्म नयाँ सरकार बन्ने संकेत देखिएको छैन, जनता समाजवादी पार्टीको एउटा पक्षले नयाँ सरकार गठनको पक्षमा नरहेको बताएकाले नयाँ सरकार बन्ने सम्भावना कमजोर भएको छ ।

अब बाँकी दुई दिनमा कुनै अप्रत्यासित निर्णय नभए संसदको सबभन्दा ठूलो दल नेकपा एमालेको अल्पमतको सरकार बन्नेछ । अहिले संसदको सबभन्दा ठूलो दल एमाले हो र, एमाले संसदीय दलको नेता केपी शर्मा ओली नै प्रधानमन्त्री बन्नेछन् ।

यसरी बन्ने सरकारले पनि ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्छ, जुन त्यति सहज छैन । त्यसो भएमा फेरि धारा ७६(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । अर्थात अबका केही साता नेपालको राजनीति, कोरोना महामारीमा होइन, नयाँ सरकार गठन–विघटनमै केन्द्रित रहन्छ ।

‘जनताको जीउज्यान जोगाउन र सम्पत्तिको रक्षा गर्न सरकार चाहिने हो’ पूर्व प्रशासकसमेत रहेका जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी भन्छन्, ‘संकटमा आम नागरिकलाई सरकार चाहिएको छ, तर यही बेला मुलुकमा सरकार छैन ।’

उनका अनुसार पूर्व तयारी राम्रो गरेको भए र कर्मचारी संयन्त्र चुस्त दुरुस्त रहेको भए राजनीतिक अस्थिरताले धेरै असर गर्दैनथ्यो । जापानमा ६/६ महिनामा सरकार परिर्वतन हुँदा पनि आर्थिक प्रगति गरेको स्मरण गर्दै उनले भने, ‘हाम्रो त पूर्व तयारी पनि भएन, ब्युरोक्रेसीलाई पनि नराम्रोसँग गिजोलिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका समाचार संयोजक हुन् ।

ट्रेन्डिङ

Advertisment