Comments Add Comment

चुनावी स्वरः हाम्रा हैन, राम्रा छानौं !

३१ बैशाख, काठमाडौं । स्थानीय चुनावको मतदानको दिन आज बिहानैदेखि आ-आफ्ना क्षेत्रमा मतदाताहरुको चहलपहल देखिएको छ । बलियाबाङ्गाहरु उत्साहित मुद्रामा मतदान केन्द्र पुगिरहेका छन् भने वृद्धवृद्धा र अशक्तहरु अरुको सहारा लिएर भए पनि मताधिकारको प्रयोग गर्न जुटेका छन् ।

दुई दशकपछि हुन लागेको स्थानीय चुनावबाट जनप्रतिनिधि छान्न जस्तोसुकै सीमा र समस्या खेपेर पनि मतदाताहरु मतपेटिकासम्म पुगिरहेका छन् ।

इन्टरनेटको सामाजिक सञ्जाल फेसबुक र ट्विटर पनि बिहानैदेखि चुनावमय देखिएको छ । भोट हाल्न मतदान केन्द्र जाने तयारीदेखि भोट हालिसकेर नङमा मसीको धार अंकित फोटो पोस्ट गर्नेहरुको कुनै कमी छैन ।

कोही भने भोट कसरी हाल्ने र कसलाई हाल्ने भनेर अन्तिम समयमा पनि मतदाता शिक्षा दिन जुटिरहेका छन् । सामान्यतया नेपाली मतदाताले जुन राजनीतिक पार्टी र नेतालाई गाली गर्छन्, अन्ततः उसैलाई भोट हाल्ने गरेको देखिन्छ ।

यही प्रवृत्तिलाई औंल्याउँदै एक ट्विटेले अरु बेला नेतालाई सत्तोसराप गर्ने मतदाताको आज असली परीक्षा भएको उल्लेख गरेका छन् ।

ट्विटरमा वसन्त गिरी लेख्छन्, ‘आजसम्म फलानो/चिलानो पार्टी खत्तम, नेता चोर र भ्रष्टाचारी हुन् भन्ने मतदाताले आज कत्तिको गतिलो उम्मेदवारलाई भोट हाल्छन् ? भोलि पर्सिसम्म थाहा होला ।’

यस्तै आशय प्रकट गर्दै डा. रवीन्द्र समीरले आवेगमा बगेर नभई उचित सुझबुझ प्रयोग गरेर मताधिकार प्रयोग गर्न सुझाएका छन् । उनी ट्विट गर्छन्, ‘Right man : Place को लागि योग्यतम, सक्षम, अनुभवी एवम् हामी सबैलाई नेतृत्व दिन सक्ने उम्मेदवारलाई मतादान गरौं । भावनामा बगेर अयोग्यलाई भोट नहालौं ।’

विभिन्न आग्रह, आश्वासन र प्रलोभनमा परेर हतारमा गल्ती गर्ने र फुर्सदमा पछुताउने मानवीय रोग नै हो । निर्वाचनको बेला त यस्तो प्रभाव र दबाव अझ बढी हुन्छ । त्यसैले सबैको कुरा सुने पनि अन्त्यमा आफ्नो विवेकलाई निर्णायक बनाउनु मतदानको एक मात्र शर्त मानिन्छ । दीपेन्द्र कुँवरले आम मतदातालाई विवेक नै सर्वेसर्वा हुने कुरा स्मरण गराएका छन् । उनले ट्विट गरेका छन्, ‘जस्तालाई छान्छौं, त्यस्तैले शासन गर्छन्, त्यसैले कम्तीमा पनि विवेक प्रयोग गरेर राम्रो छानौं ।’

 

पत्रकार रमेश कुमारले नयाँ आएका राजनीतिक शक्तिलाई विभिन्न बहानामा आलोचना गर्दा त्यसको फाइदा पुरानै शक्तिहरुलाई असुल्ने संकेत गरेका छन् । उनी ट्विट गर्छन्, ‘स्थापना वा परीक्षण नै नभएका दलका उम्मेदवारहरुलाई निरन्तर खेदिरहनुको अर्थ- लोकतन्त्र खास दलको मिलिभगतको ठेक्का हो भन्न खोजेको हो ?’

 

कास्कीको रुपा गाउँपालिकाका मतदाता उपेन्द्र पौडेल भने चुनावको विकृति देखेर हैरान भएछन् । मतदातालाई ‘चियापानी’ को व्यवस्था गर्ने प्रायोजित परिपाटीप्रति लक्षित गर्दै उनले फेसबुकमा स्टाटस लेखेका छन्, ‘हाम्रा मतदान केन्द्र बाहिर रमाइलो छ । कुन पार्टीमा भोट दिए भन्ने कुरा भोट दिए निस्केकाहरु कुन होटलमा पसे भन्ने कुराले थाहा लाग्दो रै’छ । एउटाको खाजा चना-दुनोट, अर्काको बिस्कुट-फ्रुटी ।’

 

पौडेलले नै मतदान केन्द्रमा सोझासाझा मतदातालाई एकछापे भोट हाल्न फकाइरहेका पार्टीका कार्यकर्ताको ‘चर्तिकला’ पनि नियालेका रहेछन् । भोट हाल्न आउने वृद्धवृद्धासँग झुम्मिने कार्यकर्ताको यस्तो लस्करलाई उनले ‘चुनावी माया’ को संज्ञा दिएका छन् । उनले लेखेका छन्, वृद्धवृद्धाहरुलाई आज ठिटाहरुले कति माया मानेका हुन्, एक्लै हिँड्दै दिन्नन् ! मतदान केन्द्र बाहिर एक्ला वृद्धवृद्धा भेटिए भने सहारा दिन तँछाडमछाड छ ।’

बाबाजी ह्यान्डलबाट ट्विटर चलाउने प्रकाश लामिछानेले मताधिकारको लागि व्यग्र भएका पश्चिम नेपालको साना झलक तस्बिरमा उतारेका छन् । ‘मतदान गर्ने पालो कुर्दै ज्येष्ठ नागरिकहरु’ भन्ने क्याप्सनमा उनले सुर्खेतका वृद्धाहरुको फोटो ट्विटरमा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment