Comments Add Comment

भक्तपुरका तीन नगरमा नेमकिपा, कांग्रेस र एमालेले खाता खोले

२ जेठ, भक्तपुर ।  भक्तपुर जिल्लाका भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमि नगरपालिकामा क्रमश: नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेकपा एमाले र नेपाली कांग्रेसले वडाध्यक्षमा खाता खोलेका छन् ।

सोमबार राति भक्तपुर नगरपालिकाको वडा नम्बर १ मा नेमकिपाबाट वडाध्यक्षमा श्याम खत्रीसहित पूरै प्यानल विजयी भएका थिए । खत्रीले एक हजार ३ सय ७६ मत ल्याउँदै विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पवन भुजुले ५ सय ४ मत ल्याएका थिए । महिला सदस्यमा नेमकिपाका गङ्गालक्ष्मी बमनु तथा सदस्यहरु विश्वराज शिल्पकार र सूर्यप्रसाद श्रेष्ठ विजयी भएका छन् ।

यस्तै, सूर्यविनायक नगरपालिका वडा नम्बर १ मा एमालेका सानुकाजी कायस्थको प्यानलै विजयी भएको हो । वडाध्यक्षमा जित्ने क्रममा कायस्थले १ हजार ६ सय ४७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका भूपेन्द्रराज रावतले ८ सय ४७ ल्याएका थिए ।

महिला सदस्यमा एमालेका अम्ब‍िका न्यौपाने, दलित महिला सदस्यमा कल्पना नेपाली तथा खुला सदस्यमा प्रदीप कार्की र बाबुकाजी श्रेष्ठ विजयी भए ।

त्यस्तै, मध्यपुर थिमी नगरपालिका वडा नम्बर १ मा कांग्रेसका सुरज खड्का वडाध्यक्षमा निर्वाचित भएका छन् । महिला सदस्यमा लक्ष्मी महर्जन, महिला दलित सदस्यमा सानी विश्वकर्मा, खुला सदस्य सूर्यमान मुस्यान र रत्न कुमाल विजयी भएका छन् ।

नगरपालिकाको मेयर पदको मतगणना हेर्ने हो भने  सूर्यविनायक नगरपालिकामा जारी गणना अनुसार एमालेका वासुदेव थापाले १ हजार ५ सय ६३ मतसहित अग्रता कायम राखेका छन् । उनलाई कांग्रेसका विष्णुराज कार्कीले १ हजार ३ सय ४५ मतसहित पछ्याइरहेका छन् ।  नगरको उपप्रमुखमा एमालेकी जुना बस्नेत १ हजार ६ सय ७२ मतसहित अगाडि छिन् भने कांग्रेसकी कल्पना राजथलाले १ हजार १५ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै, मध्यपुरथिमी नगरपालिकाको जारी मतगणना अनुसार मेयरमा नेपाली कांग्रेस अगाडि देखिएको छ । कांग्रेसका अष्ट कवेको १ हजार ४ सय ३५ छ भने उनलाई एमालेका मदन सुन्दर श्रेष्ठले ९ सय ८२ मतसहित पछ्याइरहेका छन् ।

उपमेयरमा कांग्रेसकी अञ्जना मधिकर्मीको १ हजार ३ सय ३२ मत छ भने नेमकिपाको उम्मेदवारको ६ सय ३९ मत छ । थिमी नगरमा एमाले र नेमकिपामाले तालमेल गरेका छन् ।

भक्तपुर नगरपालिकामा नेमकिपाबाट नगरप्रमुखको उम्मेदवार सुनील प्रजापतिको ३ हजार ६ सय मतसहित अग्रमोर्चामा छन् । उपप्रमुखमा पनि नेमकिपाकी रजनी जोशी ३ हजार ५ सय ८८ मत ल्याउँदै अगाडि छिन् । यो नगरपालिकामा कांग्रेसका मेयरका उम्मेदवार दोस्रो स्थानमा छन् । कांग्रेसका राम कासुलाको १ हजार १ सय १६ र उपमेयरका उम्मेदवारको १ हजार १ सय ३८ मत आएको छ ।

चार वटा नगरपालिका भएको भक्तपुर जिल्लामा चाँगुनारायण नगरपालिकाको मतगणना भने हुन सकेको छैन । सो नगरपालिकाको वडा नम्बर ६ मा  नगरकोटस्थित गाविस भवन मतदान केन्द्रमा २२ वटा मतपत्रमा आफ्नो चुनाव चिह्न मादल नभएपछि नेमकिपाले विरोध जनाएको यो । सो वडामा फेरि मतदान हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment