Comments Add Comment

पूर्वीनेपालमा दोस्रो चरणको चुनावी चहलपहल, भोलिदेखि निर्वाचन कार्यालय खुल्ने

४ जेठ, बिराटनगर । तीन प्रदेशमा पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि पूर्वी नेपालमा दोस्रो चरणको चहल पहल शुरु भएको छ । क्षेत्रीय निर्वाचन कार्यालय बिराटनगरका अनुसार शुक्रबारदेखि गाउँपालिका र नगरपालिकामा निर्वाचन कार्यालयहरु खुल्दैछन् ।

आगामी जेठ ३१ गते हुने चुनावका लागि निर्वाचन आयोगले थप आवश्य तयारी सुरु गरेको छ । दोस्रो चरणमा चुनाव हुने भएपछि ३ प्रदेश बाहेकका अन्य प्रदेशमा चु्नावी रौनक सेलाएको थियो ।

क्षेत्रीय निर्वाचन कार्यालय बिराटनगरका क्षेत्रीय निर्वाचन अधिकारी प्रेमप्रसाद सञ्जेलले बैशाख १२ गतेदेखि स्थगन गरिएको निर्वाचन कार्यक्रम जेठ ५ गतेदेखि अगाडि बढाइने बताए ।

पूर्वका विभिन्न जिल्लाका गाउँपालिका र नगरपालिकामा यस अघि खोलिएका निर्वाचन अधिकृतहरुका कार्यालयहरु शुक्रबारदेखि सञ्ंचालनमा आउने सञ्जेलले जानकारी दिए ।

बैशाख ३१ मा निर्वाचन तय भएपछि चैत २८ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो । यद्यपि दोस्रो चरणको निर्वाचन हुने भएपछि बैशाख १२ गते स्थापना गरिएका सबै कार्यालयहरु खाली गरिएका थिए ।

गत चैत २८ देखि ३० गते सम्म निर्वाचन गराउनका लागि क्षेत्रीय निर्वाचन कार्यालयले निर्वाचन आयोगको आयोजनामा प्रशिक्षण दिएर निर्वाचनमा खटाएको थियो ।

मेची र कोशी अञ्चलका १०४ जना निर्वाचन अधिकृतहरु आफ्नो कार्यास्थलमा पुगिसकेका थिए । ती निर्वाचन अधिकृतहरुलाई तलवको १२१ प्रतिशत भत्ता दिएर निर्वाचन गराउने जिम्मेवारीका साथ पठाइँदा कार्यालय बन्द भएको मिति सम्म प्रतिनिर्वाचन अधिकृत बरावर ४० देखि ५० हजार रुपैयाँ एकजना निर्वाचन अधिकृतका लागि खर्च भएको थियो ।

निर्वाचन आयोगले आगामी जेठ ३१ गते हुने चुनाव लक्षित गरी जेठ ५ गतेवाट पुनः निर्वाचनलाई लक्षित गरी आवश्य कार्यक्रम शुरु गर्नेे जनाएको छ । जेठ ३१ मा दोस्रो चरणमा हुने निर्वाचनको तय भएपछि निर्वाचन कार्यालयले वैशाख १२ गतेदेखि निर्वाचन लक्षित कार्यक्रम तत्काललाई स्थगन गरेको थियो ।

बदर मत घटाउन मतदाता शिक्षा प्रभावकारी बनाइने

सञ्जेलले विषेश गरी मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँ गाउँसम्म पुर्‍याउने तयारी भइरहेको जानकारी दिए ।

दोस्रो चरणको निर्वाचनमा मत बदरलाई कम गराउन निर्वाचन कार्यालयले मतदाता शिक्षालाई व्यापक बनाउने भएको छ ।

सबैभन्दा बढी मतदाता रहेको मोरङमा मतदाता शिक्षा कार्याक्रमलाई ब्यापक बनाउने निर्वाचन कार्यालयले जनाएको छ ।

यसका लागि नगरपालिका र गाउँ पालिकाका १७ कार्यकारी अधिकृतलाई समन्वय कर्ता तोकिएको छ भने गाउँ पालिका र नगरपालिकाका १५९ वडा सचिवलाई सुपरीवेक्षकका रुपमा परिचालन गरिने छ ।

त्यसैगरी मतदाता शिक्षा कार्यकर्ताका रुपमा ६ सय ७१ जनालाई परिचालित गरिएको छ । मतदात शिक्षाका कार्यक्रम प्रचार प्रसारका लागि थप सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयम सेविका, पूर्व प्राथमिक कक्षाका सहजकर्तालाई समेत समावेश गरिएका छ ।

मोरङमा  ६६९ मतदान केन्द्र, ३ सय मतदानस्थल

कुल ५ लाख ६३ हजार ८ सय ५८ मतदाता रहेको मोरङमा ६६९ मतदान केन्द्र र ३ सय मतदानस्थल तोकिएका छन् ।

जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि मोरंगमा १४ सय ७२ मतपेटिका प्रयोग गरिने छन् । यसका लागि एक मतदान स्थलमा तीनवटा मतपेटिका राख्ने व्यवस्था मिलाइएको छ ।

मोरङ जिल्लाको निर्वाचनका लागि ६ लाख ६१ थ्ान मत पत्र क्षेत्रीय निर्वाचन कार्यालयमा आइसकेको सूचना अधिकृत भक्तबहादुर भट्टराईले जानकारी दिए ।

दोश्रो चरणको निर्वाचनका लागि ४ हजार १४ जना कर्मचारी खटिने छन् ।  ३६ वटा राजनैतिक दल दर्ता भए पनि १८ दलले चुनाव चिन्ह पाएका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनवाट मोरंगमा  कुल  ८ सय ६३ जना जनप्रतिनिधिहरु निर्वाचित हुनेछन् ।

यसैवीच क्षेत्रिय निर्वाचन कार्यालय बिराटनगरले  मतदान केन्द्रहरुको दुरी र अवस्थाको रेकर्ड गर्न थालेको छ । मतदान केन्द्रबाट निर्वाचन अधिकृतको कार्यालय  र मतगणना स्थलसम्मको सडकको निश्चित दुरी अवस्थाका बारेमा  नगरपालिका र गाउँपालिकाहरुसँग रेकर्ड माग गरिएको छ ।

मोरंगमा  एक उपमहानगरपालिका, ८  नगरपालिका र ८  गाउँपालिकासहित १७ वटा स्थानीय तह छन् ।

जिल्लामा कुल ५ लाख ६३ हजार ८ सय ५८ जना मतदाता छन् । जसमा २ लाख ८५ हजार ९सय ९३ पुरुष र २ लाख ७७ हजार ९ सय २५ जना महिला मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment