Comments Add Comment

चुनावको मैझारोः अब २६ स्थानको मात्रै परिणाम आउन बाँकी (सूचीसहित)

२५५ स्थानको मतगणना सकियो, महानगरको गणना सुस्त


६ जेठ, काठमाडौं । पहिलो चरणको निर्वाचनको मतगणना मैझारो हुन लागेको छ । शनिबार बिहानसम्म २८४ मध्ये २५५ स्थानको नतिजा आइसकेको छ भने अब २८ स्थानमा मात्रै स्थानीय जनप्रतिनिधिहरु चुनिन बाँकी छ ।

देशका चारवटै महानगरपालिका काठमाडौं, ललितपुर, पोखरा र भरतपुरको नतिजा आउन बाँकी छ । एमालेले काठमाडौं, भरतपुर र पोखरामा अग्रता लिइरहेको छ । काठमाडौंमा ठूलो मतान्तरले एमाले अगाडि छ भने अन्य तीनवटामा तीव्र प्रतिस्पर्धा भइहरेको छ ।

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले एमालेलाई पछि पारिरहेको छ । पहिलो चरणमा परेको एकमात्र उपमहानगरपालिका हेटौडामा पनि मतगणना जारी छ । हेटौंडामा पनि एमालेले नै अग्रता लिइरहेको छ ।

नगरपालिकातर्फ नतिजा आउन बाँकी रहेका ठाउँहरुमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, काभ्रेको नमोबुद्ध र धुलीखेल नगरपालिका छन् । वीरेन्द्रनगरमा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ भने काभ्रेको बनेपामा एमालेले अग्रता लिइरहेको छ ।

काठमाडौं जिल्ला अन्तरगतका १० नगरपालिकामध्ये ६ वटाको नतिजा आइसकेको छ भने ४ वटाको मतगणना जारी छ । मतगणना जारी रहेका मध्ये कागेश्वरी र चन्द्रागिरी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ भने बूढानीलकण्ठ र तार्केश्वरमा एमालेले अग्रता लिएको छ ।

परिणाम आइसकेका काठमाडौंका ६ वटा नगरपालिकामध्ये नागार्जुन, दक्षिणकाली र गोकर्णेश्वरमा कांग्रेसले जितेको छ भने टोखा, शंखरापुर र कीर्तिपुर एमालेले जितेको छ ।

भक्तपुरका ४ स्थानीय तहमध्ये मध्यपुर थिमी नगरपालिका, सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिकाको परिणाम आएको छैन । यी तीनवटै नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ । भक्तपुर नगरपालिकामा भने ५२ वटै सीटमा नेमकिपाका उम्मेदवार विजयी भएका छन् ।

ललितपुर जिल्लाको ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाको परिणाम आउन बाँकी छ । महानगरमा कांग्रेसको अग्रता छ भने महालक्ष्मी नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ ।

चितवन जिल्लाबाट भरतपुर महानगरपालिका, रत्न नगर नगरपालिका र कालिका नगरपालिकाको पनि अहिलेसम्म परिणाम आएको छैन । भरतपुर र रत्ननगरमा एमालेले अग्रता लिइरहेको छ भने कालिकामा जेठ दुई गते मात्रै चुनाव भएकाले मतगणनामा ढिलाइ भएको छ ।

सिन्धुपाल्चोकको इन्द्रावतीमा पनि परिणाम आउन बाँकी छ ।  दोलखाको मेलुङ, कालीकोटका नरहरीनाथ र कालिका गाउँपालिकामा चुनाव स्थगित भएको छ ।

विभिन्न कारणले नतिजा आउन बाँकी रहेका स्थानीय तह (दलकाे नामः अग्रता)
१. काठमाडौं महानगरपालिका- एमाले
२. ललितपुर महानगरपालिका- कांग्रेस
३. भरतपुर महानगरपालिका, चितवन- एमाले
४. पोखरा महानगरपालिका,कास्की- एमाले
५. हेटौंडा उपमहानगरपालिका,मकवानपुर – एमाले
६. वीरेन्द्रनगर नगरपालिका, सुर्खेत – कांग्रेस
७. धुलिखेल नगरपालिका, काभ्रे- एमाले
८. नमोबुद्ध नगरपालिका, काभ्रे – एमाले
९. रत्ननगर नगरपालिका, चितवन  – एमाले
१० कालिका नगरपालिका, चितवन- एमाले
११ तार्केश्वर नगरपालिका, कठमाडौं- एमाले
१२. बूढानीलकण्ठ नगरपालिका, काठमाडौं- एमाले
१३. चन्द्रागिरी नगरपालिका, काठमाडौं- कांग्रेस
१४. कागेश्वरी-मनहरा नगरपालिका, काठमाडौं-कांग्रस
१५.इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक- कांग्रेस
१६. मेलुङ गाउँपालिका, दोलखा- स्थगित
१७. खैरहनी नगरपालिका,चितवन-एमाले
१८. महालक्ष्मी नगरपालिका, ललितपुर
१९.चाँगुनारायण नगरपालिका, भक्तपुर-एमाले
२०. मध्यपुर थिमी नगरपालिका, भक्तपुर-एमाले
२१. सूर्यविनायक नगरपालिका-एमाले
२२. बेलकोटगढी गाउँपालिका नुवाकोट-एमाले
२३. सोरू गाउँपालिका, मुगु
२४.खार्पुनाथ गाउँपालिका,हुम्ला
२५. नरहरीनाथ गाउँपालिका, कालीकोट- स्थगित
२६. कालिका गाउँपाकिला कालीकोट- स्थगित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment