Comments Add Comment

रुपन्देहीमा चुनावी चहलपहल बढ्यो, कांग्रेस र माओवादी उम्मेदवारको अझै टुङ्गो लागेन

७ जेठ, भैरहवा । दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि रुपन्देही जिल्लामा चुनावी चहल पहल बढेको छ । दुई चरणमा निर्वाचन हुने भएपछि रुपन्देहीमा चुनावी गतिविधि केही सेलाएको थियो ।

पहिलो चरणको निर्वाचनको मतगणना जारी रहेको छ भने यता दोस्रो चरणको निर्वाचनका लागि राजनीतिक दलहरु तयारीमा जुटेका छन् ।

केही दलहरुले आफ्नो उम्मेदवार टुङ्गो नलगाए पनि चुनावी प्रचार-प्रसार भने तीव्र पारेका छन् । दलहरुले सम्पर्क कार्यालयहरु स्थापना गरी जिल्लाका विभिन्न क्षेत्रमा वडा भेला, घरदैलो अभियान चलाएका छन् ।

भैरहवामा (सिद्धार्थनगर नगरपालिका) मुख्य ३ दल मध्ये नेकपा एमालले मेयर, उपमेयर, वडाअध्यक्ष लगायत पदमा आफ्नो उम्मेदवार टुङ्गो लगाए पनि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले अझै पनि उम्मेदवार टुङ्गो लगाउन सकेको छैनन् । राप्रपाले पनि भैरहवाको मेयर पदमा सागरप्रताप राणाको नाम टुुङ्गो लगाएको छ ।

एमालेले भैरहवाको मेयर पदमामा हरी अधिकारीलाई चुनावी मैदान उतारेको भएको छ ।

त्यस्तै कांग्रेसबाट भैरहवामा मेयर पदका लागि दीपक क्षेत्री न्यौपाने, सुरेन्द्रजंग थापा, ओमकुमार श्रेष्ठ, महेन्द्र कुमार श्रेष्ठ, मातृका यादव, गोपालमानराज भण्डारीको नाम नगरबाट क्षेत्रमा सिफारिस भएको छ ।

यस्तै माओवादी केन्द्रबाट मेयर पदका लागि फैज अहमद खान, कमला थापा, मनिष कुमार जोशीको नाम नगर कमिटीबाट क्षेत्रमा सिफारिस भएको छ ।

कांग्रेस र माओवादी केन्द्रका मेयर पदका आकांक्षीहरुको नाममा क्षेत्रमा सिफारिस भएको करिब एक महिना पुग्नलाग्दा समेत अझै पनि मेयर पदको टुङ्गो लाग्न सकेको छैन ।

तर कांग्रेसका क्षेत्र नम्बर २ का क्षेत्रीय सभापित मातृका यादवले एक/दुई दिनभित्रमा जिल्लाको सम्पूर्ण नगरपालिका, गाउँपालिका र वडाअध्यक्ष पदको टुङ्गो लाग्ने बताएका छन् ।

यता माओवादी केन्द्रका सिद्धार्थनगर नगरकमिटीका उपाध्यक्ष उमेश खनालले पनि एक हप्ताभित्र मेयर लगायत सम्पूर्ण पदको उम्मेदवारको टुङ्गो लाग्ने बताए ।

कुल ४ लाख ५८ हजार ६ सय ६ मतदाता संख्या रहेको रुपन्देही जिल्लामा ३१ राजनीतिक दलहरु दर्ता रहेको निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ । सिद्धार्थनगर नगरपालिकामा ३३ हजार ६ सय १५ मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment