Comments Add Comment

मन्त्रीहरुकै अगाडि जल्ने भए गैंडाका खाग र हात्तीका दाह्रा !

८ जेठ, चितवन । मरेका बन्यजन्तुहरुका अवशेष (अखेटोपहार) सोमवार एक विशेष कार्यक्रमका बीच चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा नष्ट गरिने भएको छ । अखेटोपहार नष्ट गर्ने कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने भनिए पनि अन्तिममा स्थगित भएको छ । प्रधानमन्त्री नआउने भएपछि परराष्ट्र मन्त्री र वन तथा भू–संरक्षण मन्त्री कार्यक्रममा सहभागी हुँदैछन् ।

 

कार्यक्रममा विभिन्न मन्त्रालयका मन्त्री, राज्यमन्त्री, सचिव, विभागीय प्रमुखहरु, मध्यवर्तीका प्रतिनिधि, राष्ट्रिय योजना आयोजका सदस्य, दातृ निकायका प्रतिनिधि लगायतको उपस्थितिमा अखेटोपहार नष्ट गर्न लागिएको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।

लामो समयसम्म भण्डारण गर्दा व्यवस्थापन गर्न अप्ठेरो भएको र सुरक्षा चुनौती समेत बढ्दै गएको भन्दै त्यसलाई नष्ट गर्न लागिएको हो । अखेटोपहारहरु जलाएर यसको कुनै पनि महत्व छैन भन्ने सन्देश राष्ट्रिय निकुञ्जले दिन खोजेको प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए ।

चोरी शिकारीलाई निरुत्साहित गर्नका लागि यो कदमले मद्दत मिल्ने विश्वास निकुञ्जको छ ।

झण्डै बीस वर्ष यता संकलन भएको वन्यजन्तुका अखेटोपहार नष्ट गरिएको थिएन । वि.सं. ०५४ सालयता देशभरका राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, जिल्ला वन कार्यालय लगायतमा संकलन भएका अखेटोपहारलाई निकुञ्जको कार्यालय कसरा र सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौलीमा भण्डारण गरिँदै आएको थियो । दुबै ठाउँमा गरेर गैंडाका ३ सय ६९ खाग, पाटे बाघका ६९ वटा छाला, जंगली हात्तीका १ सय ८५ वटा दाह्रा, चितुवाका ४ सय ९३ छाला, कस्तुरी मृगको ३६ थान बिना लगायतका वस्तु संकलन गरिएको छ ।

टिकौलीमा वि.सं. ०५४ सालमा केही अखेटोपहार जलाएर नष्ट गरेको थियो । त्यसपछि जम्मा भएका अंगहरु सुरक्षित भण्डारण गरिएको छ ।

यसअघि वन मन्त्रालयले नष्ट गर्नका लागि प्रक्रियागत रुपमा काम अघि बढाएको थियो । पटक–पटक व्यवस्थापिका संसदको वातावरण संरक्षण समिति लगायतका सरोकारवाला निकायले यसको अनुगमन समेत गरेका थिए ।

नष्ट गर्ने अखेटोपहारको नमूना संकलन गरेर राखिएको छ जसबाट आउँदा वर्षहरुमा अनुसन्धान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

लामो समयदेखि जम्मा भएका दुर्लभ वन्यजन्तु एक सिंगे गैंडाको खाग, पाटे बाघको छाला, जंगली हात्तीका दाह्रालगायतका जीवजन्तुका अंगहरु नष्ट गरिँदैछ । त्यस्तै, तस्करहरुबाट बरामद भएका अंगहरु पनि संकलन हुने गरेका छन् । जनावरहरुको अखेटोपहार व्यवस्थापनका लागि सरकारले कार्यविधि नै बनाएको छ ।

अन्य महत्वपूर्ण वन्यजन्तुको अखेटोपहार पनि भण्डारण गरिएको छ । जसमा विभिन्न जनावरका एक सय ११ थरिका अंग रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment