Comments Add Comment

एमालेको मधेस रणनीतिः जित्ने व्यक्तिलाई पार्टीमा भित्र्याउँदै टिकट दिँदै

मधेसमै पहिलो पार्टी बन्ने एमाले नेताको दाबी

८ जेठ, काठमाडौं । मधेस आन्दोलनको उद्गम थलो सिराहाको लाहानमा केही समयअघि एक कार्यक्रमबीच लाहानका पूर्वमेयर मुन्नी साह आफ्ना सहयोगीहरु सहित एमालेमा प्रवेश गरे । स्थानीय चुनावको पूर्वसन्ध्यामा उनको एमाले प्रवेशलाई सिराहामा अर्थपूर्ण रुपमा हेरिएको छ ।

मुन्नी साह ती प्रभावशाली नेता हुन्, जो ०७० सालको संविधानसभा चुनावमा सिराहा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता पद्मनारायण चौधरीसँग करीब एक हजार मतको अन्तरमा पराजित भएर निकटतम प्रतिद्वन्द्वी बनेका थिए । मुन्नी साहको एमाले प्रवेशसँगै उनलाई लाहानको भावी मेयरको उम्मेदवार बनाउने चर्चा चलिसकेको छ ।

यसैबीच आइतवार सिराहामै पूर्वसांसद पारोदेवी यादव र उनका छोरा माओवादी केन्द्रका नेता डा.नवीन यादवसहितको समूह पनि एमाले प्रवेश गरेको छ । फोरम लोकतान्त्रिकबाट माओवादीमा पुगेका यादव चुनावको मुखमा एमालेमा प्रवेश गरेका हुन् ।

एमालेका पूर्वसांसद हेमनारायण यादवका हत्यारालाई कारवाही गराउन पार्टीले पहल नगरेको भन्दै पारोदेवी र नविन एमाले छाडेर फोरमतिर लागेका थिए । तर, उनीहरु आइतवार सिराहा जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा एमाले प्रवेश गरे ।

नवप्रवेशीलाई एमाले पोलिटब्यूरो सदस्य रामप्रीत पासवान, प्रचण्डसँग चुनाव हारेका नेता लीलानाथ श्रेष्ठ र जिल्ला अध्यक्ष प्रमोद यादवसहितले पार्टीमा स्वागत गरे । चुनावका बेला सिराहामा माओवादी र मधेसी मोर्चा आवद्ध दलबाट एमाले प्रवेश गर्ने क्रम बढेको जिल्ला अध्यक्ष यादवले बताए ।

कांग्रेसबाट दोस्रो चरणको चुनावका लागि टिकटको सिफारिसमा नपर्ने व्यक्तिहरु पनि एमालेतिर प्रवेश गर्न थालेका छन् । मधेस विरोधी भनेर मधेसमा ठूला कार्यक्रम समेत गर्न नसकेको एमालेमा मधेसी नेताहरुको प्रवेशको स्वार्थ चुनावसँग गाँसिएको प्रष्टै बुझिन्छ ।

एमाले कोर मधेसमा रक्षात्मक अवस्थामा रहेका बेला अन्य पार्टी र समाजका प्रतिष्ठित तथा प्रभावशाली व्यक्तिहरुलाई ल्याएर उम्मेदवार बनाउने तयारी समेत एमालेले गरेको स्रोतले जनाएको छ ।

दुई नम्बर प्रदेश कमिटीका एक प्रभावशाली मधेसी नेताले अनलाइनखबरसँग भने- ‘जसले चुनाव जित्न सक्छ, उसैलाई टिकट दिने हो, यो पटक कतिपय ठाउँमा पार्टीका नेता कार्यकर्ता नलडी मधेस आन्दोलनमै लागेकाहरुलाई पार्टीमा ल्याएर चुनाव लडाउने तयारी छ ।’

एमालेको २ नम्बर प्रदेश कमिटीको अगुवा कार्यकर्ता भेलामा माओवादी केन्द्रका पूर्वसांसद फरमूद नदाफको एमाले प्रवेश र सप्तरीका तत्कालीन सदभावना र हाल राजपाका क्षेत्रीय अध्यक्ष राजेन्द्र चौधरीको एमाले प्रवेशलाई समेत एमालेको मधेसमा चुनावी रणनीतिको रुपमा हेरिएको छ ।

मधेसमा अहिले पार्टी प्रवेश र टिकट सिफारिसको प्रक्रिया चलिरहेको र त्यो उत्साहजनक रहेको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । उनले अब टिकट सिफारिसपछि पार्टीको मुख्य नेतृत्व पनि तराई मधेसमै केन्दि्रत हुने जानकारी दिए ।

स्रोतका अनुसार एमालेले २ नम्बर प्रदेशमा बरिष्ठ नेता माधवकुमार नेपाल, ईश्वर पोखरेल लगायतका नेतालाई खटाउनेछ । नेपाल र पोखरेलको राजनीतिक कर्मभूमि मधेस नै भएको र मैथिली एवं भोजपुरी भाषामा पनि दख्खल भएकाले ती नेता मधेसमा खटिने एमालेले जनाएको छ ।

एमालेले मेची-महाकाली अभियान चलाउने क्रममा सप्तरीमा गोलीकाण्ड भएपछि २ नम्बर प्रदेशको अभियान नै स्थगित गर्नुपरेको थियो । अहिले पार्टीले आन्तरिक रुपमा तयारी गरिरहेको र २ नम्बर प्रदेशमै पहिलो पार्टी बन्ने आँकलन गरिएको केन्द्रीय सदस्य रघुवीर महासेठले दाबी गरे ।

एमालेले मधेसमा एक्लै चुनाव लड्नुपर्ने आँकलन गरिरहेको छ । किनकि मधेसी मोर्चा आवद्ध दलहरुले एमालेलाई प्रमुख शत्रु मानेका छन् भने सत्तापक्षका कांग्रेस-माओवादीले पनि मधेस विरोधी एमाले भन्दै मधेसको मत आफूतिर तान्न खोजिरहेका छन् । यस्तो स्थितिमा एमाले मधेसभित्रै प्रभावशाली उम्मेदवार खडा गरेर ‘सरप्राइज अट्याक’ गर्ने रणनीतिमा छ ।

एमालेका एक प्रभावशाली मधेसी नेताले भने- ‘अहिले हामीलाई जे जे भने पनि मधेसको चुनाव जात, व्यक्ति र पैसाले जितहार गराउँछ, हामी चुनाव जित्ने उम्मेदवार उठाउँछौं र सप्तरी बाहेक अरु जिल्लामा पहिलो र दोस्रो स्थानभन्दा तल झर्दैनौ । सप्तरीमै पनि २ वटा स्थानीय तह जित्छौं ।’

तराई मधेसमा एमालेको चुनाव जित्ने अर्को आधार भनेको महेन्द्र राजमार्ग क्षेत्रको पहाडे बाहुल्यता हो । राजमार्ग क्षेत्रका अधिकांश नगर तथा गाउँपालिकामा आफ्नो पकड रहेको दावी एमाले नेताहरुको छ । हुलाकी राजमार्ग दक्षिणमा कांग्रेस, मोर्चा र माओवादीबीच हुने प्रतिस्पर्धाबाट फाइदा उठाउँदै एमालेले जित्ने अपेक्षा गरेको छ ।

एमालेले मधेसमा आफूलाई मधेस बिरोधी भनेर अरु दलले प्रहार गरिरहेका बेला केपी ओली नेतृत्वको सरकारले मधेसको पूर्वाधार विकास र सामाजिक उत्थानका लागि छुट्याएको बजेटको फेहरिस्त लिएर मधेसी बस्तीमा जाने रणनीति बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment