Comments Add Comment

निर्वाचन अधिकृतको अनुभवः मतदाता शिक्षा दुई अर्बको मेथी !

मतदाता शिक्षामा दलका कार्यकर्ता, मसीले पार्‍यो अर्को समस्या

१० जेठ, काठमाडौं । पहिलो चरणमा सम्पन्न स्थानीय चुनावले निर्वाचन आयोगको व्यवस्थापनमाथि केही गम्भीर प्रश्न उठाएको छ । मुख्य प्रश्न चाँहि मतदाता शिक्षा किन यति कमजोर भयो र बदर मतको संख्या बढ्यो भन्ने छ ।

यस विषयमा पहिलो चरणको चुनावमा खटिएका एक निर्वाचन अधिकृतसँग जिज्ञासा राख्दा उनले यसपटक भोगेका केही समस्याहरु औंल्याए । उनले आफु निजामति कर्मचारी भएकाले नाम उल्लेख गर्न नपाइने शर्त राखे । उनले निर्वाचन आयोगका केही कमजोरीहरु यसरी औंल्याएः

मतदाता शिक्षा मेथी पड्काएजस्तै

मतदाता शिक्षामा गम्भीर समस्या देखिए । निर्वाचन आयोगले २ अर्ब रुपैयाँ बराबरको मतदाता शिक्षाको बजेटमा मेथी पड्काएजस्तै भयो । त्यति ठूलो रकम मेथीमै उड्यो । बदर मतको संख्याले यसलाई पुष्टि गरेको छ ।

निर्वाचन शिक्षामा आयोगले २ अर्ब भन्दा बढी खर्च गरेको छ । तर स्थानीय तहमा हेर्दा मतदाताहरुमा मतदाता शिक्षा निकै कमजोर देखिएको छ ।

निर्वाचन आयोगले परिचालन गरेका अधिकांश मतदाता शिक्षा स्वयम सेवकहरु राजनीतिक दलमा प्रतिवद्ध कार्यकर्ता थिए । उनीहरुले मतदातालाई शिक्षा दिने भन्दा पनि यहाँनेर भोट हाल्नुस्, तपाईको भोट बदर हुँदैन भनेर आफुनिकट दलको चुनाव चिन्हमा भोट हाल्न सिकाए ।

मतदाता स्वयमसेवकले दुई पार्टीवीच कसरी क्रस भोटिङ गर्न सकिन्छ भनेर सिकाएनन् । एउटै मतदाताले कसरी विभिन्न दलबाट राम्रा उम्मेदवारलाई भोट दिन सक्छन् भनेर मतदाता शिक्षामा सिकाइएन । अर्को चाँही निर्वाचन अनुगमनसमितिले अनुगमन प्रभावकारी गर्न सकेन ।

मतपत्र र मसीले ल्याएको कठिनाइ

यस पटक मतपत्र र स्वस्तिक छापको मसी एउटै हुँदा पनि मतगणनामा अप्ठेरो भयो । यसपटक मतपत्र नीलो रंगको थियो भने स्वस्तिक छापको मसी उस्तै कलरको देखिन्थ्यो । एउटै रंगका मतपत्र र मसी हुँदा कुनै निर्वाचन चिन्हभित्र हालेको मत देखिएन । यसरी मतसंकेत छुट्याउन अप्ठेरो हुँदा धेरै विवाद आयो र मतगणनामा ढिलाइ यो ।

निर्वाचन तालिमको अभाव

निर्वाचन अधिकृतहरुले भोगेको अर्को मुख्य समस्या भनेको मुख्य निर्वाचन अधिकृतले मतदान अधिकृतहरुलाई राम्रोसँग तालिम दिएनन् । यस पटक आयोग मतदाता शिक्षामात्रै कमजोर भएन, निर्वाचन अधिकृत र मतदान अधिकृतलाई दिने तालिम समेत निकै कमजोर थियो ।

मतगणना र मतदान अधिकृतमा शिक्षकहरु थिए, उनीहरुमा अनुभव नहुनु स्वाभाविक हो । तर, आयोगले उनीहरुलाई तालिम दिएर दक्ष बनाएर पठाउन सक्थ्यो, त्यस्तो गरेन । तालिमको अभावमा मतगणनादेखि निर्वाचन व्यवस्थापनमा समस्या आइलाग्यो ।

कमजोर जिल्ला निर्वाचन कार्यालय

यो चुनावको व्यवस्थापन पक्षलाई हेर्दा जिल्ला निर्वाचन कार्यालयहरु निकै कमजोर रहेको पुष्टि भयो । आयोगले कार्यालय स्थापना भएको यतिका वर्ष भयो भन्दै अनुभवका कुरा गथ्र्यो । तर, व्यवहारिक रुपमा ती कार्यालयको काममा धेरै केटाकेटीपन देखियो । यसले जिल्ला निर्वाचन कार्यालय कति कमजोर छ भन्ने देखाएको छ ।

निर्वाचनमा यस्तो समस्या आउन सक्छ, यसपछि यस्तो गर्नुहोस् भनेर पूर्वतयारी गरिएन । मत गणनासम्वन्धी त कुनै तालिम नै दिइएन । हामी आफैँले कानुन पढेर जे जान्यौं, त्यही गर्‍यौं। यसो गर्दा मतगणनामा केही ढिलाइ भएकै हो ।

चुनाव सकेपछि मतदान अधिकृतहरुले मुचुल्का व्यवस्थापन समेत राम्रो गर्न सकेनन् । चुनाव सकियो, सबैको एउटै मुचुल्का बनाएर बाकस उठाएर ल्याइयो । विभिन्न सम्भावित समस्याहरु फरक–फरक मुजुल्का बनाउनुपर्नेमा त्यसो गरेनन् । त्यसले पनि निर्वाचन सम्पन्न भएपछिको काममा असजिलो बनायो ।

दोस्रो चरणको निर्वाचनमा ध्यान दिनुपर्ने कुराहरु

मत संकेत गर्ने स्वस्तिक छापको मसीका बारेमा पुनर्विचार गर्न जरुरी देखिएको छ । मतदाता शिक्षामा अर्बौं रुपैयाँ खर्च मात्रै गर्ने तर, प्रभावकारिता नखोज्ने कार्य नगर्न आयोगलाई सुझाव छ । दलका कार्यकर्ता पार्टीको भोट माग्न हिँडेको जस्तो गरी निर्वाचन शिक्षा कार्यक्रम नचलाइयोस् ।

मतदाता शिक्षामा क्रस भोटिङको तरिका सिकाउनु पर्नेमा देखिन्छ । साथै निर्वाचन अधिकृत र मतदान अधिकृतलाई दिने विभिन्न शीर्षकको तालिम प्रभावकारी पार्न जरुरी देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment