Comments Add Comment

भरतपुर महानगरको मेयर चुन्दै वडा नं. २०

१४, जेठ, चितवन । भरतपुर महानगरपालिकाको वडा नः २१ को गणना जारी छ । यो वडासहित ९७३० मत गन्न बाँकी छ । तर, अझै पनि भरतपुर महानगरको मेयर को बन्ला भनेर अनुमान लगाउन मुस्किल बनेको छ । बाँकी रहेका ३ वटा वडा मुलत कांग्रेसले वडाध्यक्ष जित्ने वडाहरु हुन् । तर, वडा नः १९ आफूले जित्ने एमालेको दाबी छ ।

कांग्रेसले माओवादी उम्मेदवार रेणु दाहाललाई दिएको मत र देवीले पाएको मत, जुन ढ्वाङमा गइसकेको छ, यसको अन्तरबाटै जिते निक्यौल हुने देखिएका कारण भावी मेयरबारे अनुमान लगाउन कठिन छ । अहिलेसम्म एमालेका उम्मेदवार देवी ज्ञवालीको ११४५ मतको अग्रता छ । कांग्रेस माओवादी गठवन्धनलाई शुरुवाट नै पछि पारेका देवी ज्ञवाली पनि एमालेको मतको जगमा कांग्रेसबाट आउने मतको भरमा छन् ।

आइतबार बिहानै मतगणना स्थलबाहिर देखिएका एमाले उम्मेदवार ज्ञवालीले निर्वाचन आफुले जित्ने दाबी गरे । उनले मोटामोटी बाँकी ३ वटा वडामा ३ सयका दरले रेणुको भन्दा कम आएपनि पनि २४५ मतले निर्वाचन जित्ने आँकडा अनलाइनखबरलाई सुनाए ।

वडा नः २१ मा अहिले ३५६८ मत मध्ये पहिलो ६ सय मत गणना गरिसक्दा देवी ज्ञवाली ३३ मतले पछि परेका छन् । योसहित देवी ज्ञवाली ११२१ मतले अझै अघि देखिन्छन् ।

वडा नः १९ मा २५० मतसम्म कम  आउने अनुमान एमालेको छ । तर, स्वंय मेयरका उम्मेदवार ज्ञवाली भने सो संख्याको मत कम नहुने र वडाध्यक्षले समेत चुनाव जित्ने दावी गर्दछन् । वडा नः १९ मा २८६० मत खसेको छ । एमालेले ४ सय मतले निर्वाचन जित्ने बताएको छ ।

माओवादी भने पर्ख हेरको अवस्थामा छ । मतगणना जारी रहेको वडा नः २१ बाट एमालेले भन्दा ३ सयभन्दा बढि मत नल्याए कांग्रेस माओवादी गठवन्धन पराजयको डिलमा पुग्ने छ ।

कांग्रेसले वडा नः २१ बाट एमालेले भन्दा ४ सय भन्दा बढि मत  रेणुलार्इ आउने हिसाव माओवादीलाई सुनाएको छ । तर, वडा नः १९ बाट पनि कांग्रेसको मत एमालेलाई जाने अवस्था देखिएको हुँदा माओवादी उम्मेदवार रेणु दाहाल विश्वस्त बन्न सक्ने अवस्था छैन ।

यता एमालेले भने वडा नः २० प्रवेश गर्दा ६ सयदेखि ७ सय मतको अग्रता लिन नसकिए निर्वाचन परीणाम जे पनि हुन सक्ने अनुमान गरेको छ । वडा नः २० बाट तुलनात्मक रुपमा एमालेलाई बढी फरक पार्न छ । यो वडा माओवादीबाट उपमेयरमा उठेका सुरेन्द्र गुरूङको पनि वडा छ । तर, माओवादीको प्रभाव त्यति ठूलो भने छैन । अब गणना हुन बाँकी वडाहरुमा माओवादीका प्रभाव छैनन् । वडा नः २० मा ३३०२ मत खसेको छ ।

कसरी बढयो त प्रतिस्पर्धा ?

माओवादीले कांग्रेसको प्रभाव क्षेत्र मानिएका वडाहरुबाट अपेक्षाकृत मत नपाउँदा र क्रस हुँदा सोचेजस्तो मत ल्याउन सकेको छैन । त्यसकारण उनीहरुलाई मतको अंकगणितले तनाव सिर्जना गराएको छ ।

यस्तै खालको दुःख एमालेको पनि छ । प्यानल नै पार्टीले जितेको वडाबाट मेयरमा भने मत तिर्नुपर्ने अवस्थाले एमालेलाई तनाव गराएको छ । जस्तो कि वडा नः २२ र २३ बाट एमालेले प्यानलसहित वडाध्यक्ष जितेको छ तर, मेयरमा भने देवी ज्ञवालीले रेणुको भन्दा १५३ मत कम पाए । वडा नः २३ ले प्यानल नै जितेपनि मेयरलाई जम्मा ८७ मात्रै मत कम भएको छ । जवकी वडा नः २८ मा एमालेले चुनाव हार्दा पनि ४ सयभन्दा बढि मत मेयरलाई प्राप्त भएको छ ।

यसैगरी माओवादी कांग्रेसको पनि दुःख वडा नः १५, १७, १८ ले बढाएको छ । तीन वटै वडामा गरी मेयरमा ५ सयभन्दा बढिको मतान्तर हुने भनिएपनि एमालेको अग्रताबाट ३ सयभन्दा कम मत काटिएको छ । वडा नः १७ मा २३७ र वडा नः १८ मा २८५ मत मात्र रेणु अघि रहिन् ।

एमालेले आफ्ना बलिया भनेका वडाबाट मेयरमा कम मत पाउनु र कांग्रेस–माओवादीले एमालेलेले भन्दा धेरै मत ल्याउँछु भनेका वडाबाट सोचेजस्तो मत नआएका कारण प्रतिस्पर्धा चुलिएको छ । कांग्रेस र माओवादीको राम्रो मत भएको ठाँउमा एमालेले वडाध्यक्ष जितेपनि मेयरमा पछि पर्नु पर्ने अवस्था देखिएको छ । जहाँ एमाले र कांग्रेसको मात्रै प्रतिस्पर्धा बढि छ, त्यहाँ एमालेलाई फाइदा भएको देखिन्छ । माओवादी र एमाले बीच प्रतिस्पर्धा भएको वडामा एमालेलाई मतमा घाटा लागेको देखिन्छ ।

जेठ १५ गते पहिलो मेयर

देशका ३ वटै महानगरपालिकाको मत परीणाम आइसक्दा पनि भरतपुर महानगरको मत परीणाम आउन अझै एकदिन कुर्नपर्ने भएको छ । आइतबार दिउँसो २ बजेसम्म वडा नः २१ को गणना सकिने छ भने वडा नः १९ को मध्यरात सकिने र भोलि सोमबार बिहान ११ बजेसम्म वडा नः २० को मतगणना सकिने देखिएको छ ।

जेठ १ गतेबाट शुरुभएको गणना १५ औं दिनमा मात्रै सकिने छ । निकै नै पट्यार लाग्दो र अत्यास लाग्दो अवस्थामा यहाँ देखिन्छ । कर्मचारी, दलिय प्रतिनिधीहरु थाकेर हैरान भएका देखिन्छ । प्रतिस्पर्धा तीव्र भएका कारण सानासाना बिषयले पनि बेलाबेला मतगणना स्थगित हुँदा समय खाइरहेको छ । यहाँ २ पटकसम्म मतगणना स्थगित भयो ।

अब भने त्यो अवस्था नआउनेमा निर्वाचन अधिकृतको कार्यालयको विश्वास छ । यसो भएमा गणतन्त्र दिवसका दिन जेठ १५ गतेको बिहान भरतपुर महानगरले पहिलो मेयर पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment