Comments Add Comment

गरीबी निवारण कोषमा ५ सदस्य मनोनित, रणनीति बनाउन कार्यदल गठन

नेपाल-तिब्बत सीमा क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न चीन सरकारलाई अनुरोध

१६ जेठ, काठमाडौं । गरीबी निवारण कोष सञ्चालक समितिमा सरकारले पाँच सदस्य मनोनित गरेको छ ।मंगलबार बसेको कोषको बैठकले नारायण कोइराला, विजयनारायण श्रेष्ठ, साधना घिमिरे भेटुवाल, महादेव बडु र विश्व शान्ति विष्टलाई सञ्चालक समितिमा मनोनित गरेको हो ।

कोषका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई सहभागी गराई ‘गरीबी निवारण, व्यवसायीक विकास तथा समृद्धि’ विषयमा प्रदेशस्तरीय गोष्ठी सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

आगामी रणनीति तयार गर्न कार्यदल गठन

बैठकले कोषको आगामी रणनीति तयार गर्न एक कार्यदल पनि गठन गरेको छ । प्रधानमन्त्री कार्यालयका सहसचिवको संयोजकत्वमा गठित कार्यदलमा राष्ट्रिय योजना आयोग, स्थानीय विकास मन्त्रालय र अर्थ मन्त्रालयका उपसचिव सदस्य छन् । गरीबी निवारण कोषका प्रतिनिधिलाई कार्यदलको सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।

कार्यदललाई रणनीतिक प्रतिवेदन तयारीका लागि एक महिनाको समय तोकिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

बैठकले नेपालका हिमाली तथा नेपाल-तिब्बत सीमा क्षेत्रका जिल्लाहरुमा गरीबी निवारण कार्यक्रम सञ्चालन गर्न चीन सरकार तथा एसियन पूर्वाधार लगानी बैंकलाई परराष्ट्र मन्त्रालयमार्फत् अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी बैठकले गाउँपालिका र नगरपालिकामा गरीबी निवारण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने, कोषलाई बहुउद्देश्यीय र विविधिकरण गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा प्रधानमन्त्री तथा कोषका अध्यक्ष प्रचण्डले कोषको कामलाई औपचारिक दायराबाट माथि उठाएर प्रभावकारी बनाउन र लक्षित वर्गको जीवनस्तरमा परिवर्तनको अनुभूति हुने गरी कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएका थिए ।

बैठकले नेपाल सरकारले आर्थिक वर्ष ०७४/७५ मा कोषका लागि बिनियोजित एक अरब ६८ करोड ७६ लाख ६५ हजार रुपैयाँ बजेटलाई अनुमोदन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment