Comments Add Comment

भैरहवामा माओवादीको चुनावी एजेण्डा: आकाशे सडक निर्माणदेखि एक घर एक रोजगारसम्म

१७ जेठ, भैरहवा । दोस्रो चरणमा हुने स्थानीय तहको चुनावको लागि माओवादी केन्द्रले भैरहवामा चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ ।

माओवादीले ५६ बुँदे चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।

माओवादीले भैरहवामा नगरको विकास निर्माण, एक घर एक रोजगारदेखि ५० हजार रुपैयाँको ऋण माफ गर्नेसम्मको प्रतिवद्धता गरेको छ ।

प्रतिबद्धता पत्रको बुदाँ नम्बर २९ मा चुस्त दुरुस्त र वैज्ञानिक कर प्रणाली लागु गरिने र नगर भित्रका किसान तथा निम्नवर्गका जनताको चैत्र मसान्तसम्मको सहकारी संस्था र सरकारी बैंकका पचास हजारसम्मको ऋण माफ गर्ने उल्लेख गरेको छ ।

यस्तै दीर्घकालिन रुपमा बेलहियादेखि पडसरीसम्म र बसन्तपुरदेखि एयरपोर्ट क्षेत्रसम्म आकाशे सडक निर्माण गर्ने लक्ष्य लिने, एक घर एक रोजगार वा एक घर एक व्यवसायलाई प्रर्बधन गर्ने, राजतन्त्र कालिन व्यवस्थाका सबै खाले अवशेषहरुलाई दुरुत्साहित गर्ने प्रतिवद्धता माअोवादीको छ ।

सिद्धार्थनगर नगरपालिकालाई उपमहानगरपालिका बनाउन आवश्यक पहल गर्ने, नगर भित्र नगर बस संचालनसहित एक रिङ्ग रोडको निर्माण गर्ने, पुरातात्विक, धार्मिक, सांस्कृतिक एवम ऐतिहासिक स्थलहरुको संरक्षण र विकास गर्ने, नगरको प्रति व्यक्ति आय (जिडिपी) लाई अगामी ५ वर्षमा दोब्बर बनाईने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

यस्तै माओवादी केन्द्रले जातीय तथा साम्प्रदायिक सदभाव कायम गर्ने कार्यक्रम सञ्चालन गर्ने, नगर भित्र कम्तीमा पनि एक प्राविधिक विद्यालयको स्थापना गर्ने, नगरलाई खुला दिशामुक्त क्षेत्र घोषणा सहित प्रत्येक वडामा एक/एक सार्वजनिक शौचालय, वाइफार्इ फ्री-जोन, फ्री-स्मोकिङ्ग जोनसहितको पार्कस्थलको निर्माण गर्ने, भैरहवा मण्डप र फुटबल मैदानको निर्माण गर्ने प्रतिवद्धता गरेको छ ।

कृषि योग्य जमिनको खण्डीकरणलाई नियमन गरी कृषि उत्पादनमा आत्मनिर्भर तथा व्यवस्थित नगर निर्माण गर्न आवश्यक नीति कार्यक्रम सञ्चालन गर्ने, उज्यालो भैरहवा शहर अभियानको सुरुवात गर्ने, विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनको लागि आवश्यक पहल गर्ने प्रतिवद्धता माअोवादीले गरेको छ ।

दोस्रो चरणमा हुने स्थानीय तहको चुनावका लागि नेकपा माओवादी केन्द्रले भैरहवाको मेयरका लागि फैज अहमद खानलाई उम्मेदवार बनाउने तयारी गरेको छ । तर, उनलाई उम्मेदवार घोषणा भने गरिसकेको छ्रैन ।

अन्य कुनै राजनीतिक दलहरुसंग तालमेल गर्न सक्ने सम्भावना भएकोले माओवादीले उम्मेदवार घोषणा नगरेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment